‘क्यान्सर अस्पताललाई संस्थानमार्फत चलाउने सरकारको योजना नै गलत’

अन‌ि यो पनि

भरतपुर । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पनि सोही संस्थानमार्फत चलाउने वर्तमान काम चलाउ सरकारको योजना नै गलत भएको सरोकारवालाहरुले बताएका छन् ।

अध्यादेशमार्फत जेठ १५ गते जारी गरेको बजेट वक्तव्यमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई उक्त संस्थानमातहत रहने गरी सञ्चालन गर्ने भनेपछि सरोकारवालाहरुले त्यसको विरोध जनाएका हुन् ।

‘भइरहेको सरकारी अस्पताललाई संस्थान बनाएर चलाउनु भनेको मरूभूमिमा घर बनाउनुजस्तै हो,’ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सर्जिकल विभागका विभागीय प्रमुख डा अनिलविक्रम कार्कीले भने, ‘बरू यही अस्पताललाई नै केन्द्र हुने गरी संस्थान बनाउन सकिन्छ ।’ अस्पतालको ऐनमा टेकेर गर्ने कुनै पनि कामको विरोध नहुने उनले बताए । नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा कार्कीले भने, ‘किनकि सरकारी अस्पताललाई प्रतिष्ठान बनाएर चलाउँदा हालसम्म सरकार सफल भएको पनि देखिएको छैन ।’

भरतपुरको क्यान्सर अस्पताललाई संस्थान बनाएर त्यसको मातहतमा चल्ने बनाउना साथ क्यान्सर अस्पतालको स्वायत्तता नै गुम्ने हुँदा यही अस्पतालको ऐनमा टेकेर काम गर्नुपर्ने उनको सुझाव छ । भौतिक पूर्वाधार, भौगोलिक दृष्टि र परिकल्पनालाई हेर्ने हो भने चितवनको क्यान्सर अस्पताल हरेक हिसाबले आफैँमा सक्षम अस्पताल भएको उनको दाबी छ ।

अस्पतालका पूर्वविभागीय प्रमुख डा अञ्जनीकुमार झाले पनि अस्पतालको लागि बनेको ऐनको व्यवस्थाअनुसार अस्पतालको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘ऐनमा भएको व्यवस्थाअनुसार यो अस्पताललाई क्यान्सर इन्स्टिच्युटको रुपमा अगाडि बढाउने काम राम्रो हो । यसलाई राष्ट्रिय संस्थान बनाउनु उचित हुन्छ । तर, यो अस्पतालसँग अन्य दुईवटा अस्पताल दाँजेर संस्थानमार्फत चलाउने काम राम्रो होइन ।’

क्यान्सर रोगको लागि बन्नुपर्ने संरचना र दक्ष जनशक्ति यहीँ भएकोले यसैलाई केन्द्रको रुपमा स्थापित गराउने र अन्य अस्पताललाई यहाँको अस्पताल मातहतमा चलाउने गरी संस्थान बनाउन सकिने उनको भनाइ छ । नयाँ संस्थान बनाउँदा त्यसको लागि चाहिने सबै संरचना निर्माण गर्नुपर्ने हुँदा राज्यको आर्थिक पाटोप्रति पनि सरकार चिन्तित हुनुपर्ने उनले बताए ।

अस्पतालका पूर्वअध्यक्ष डा प्रकाशराज न्यौपानेले पनि अस्पतालको ऐनमा आधारित रहेर गर्नुपर्ने कुनै पनि गतिविधि स्वागतयोग्य रहेको बताए । तर, २०५३ सालमा बनेको अस्पताल सञ्चालनसम्बन्धी ऐनमा नभएको विषयभन्दा बाहिर जानुपर्ने आवश्यकता नरहेको उनले बताए । ‘अस्पताललाई राष्ट्रियस्तरको अध्ययन अनुसन्धान केन्द्र बनाउनुपर्छ भनेर त पटकपटक आवाज उठेकै हो,’ उनले भने, ‘तर, यो अस्पताललाई अनुसन्धान केन्द्र बनाउनको लागि अर्कै संस्था स्थापना गर्नु आवश्यक छैन ।’

यो अस्पताललाई ६/७ वर्षअघि नै अध्ययन तथा अनुसन्धान केन्द्र बनाउनुपर्नेमा ढिला भइसकेको उनले बताए । तर, काठमाडौँमा कार्यालय राखेर चितवनको अस्पताल चलाउने कामप्रति आफू सकारात्मक नरहेको उनको भनाइ छ । ‘हामीले प्रयास गर्दागर्दै पनि कहिले भूकम्प, कहिले नाकाबन्दी जस्ता समस्याले पनि पछाडि पारेको छ,’ उनले भने, ‘तर, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अलग्गै बनाउनु उचित हुँदैन ।’

अस्पतालका पूर्वअध्यक्ष तथा कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठले भने यस विषयमा अध्ययन नभएकोले केही बताउन नसकिने जानकारी दिए । ‘कसैले भनेकै आधारमा, सामाजिक सञ्जालमा देखेकै आधारमा बोल्न मिल्दैन,’ उनले भने, ‘त्यसैले अहिले नै यसबारे मैले प्रतिक्रिया दिन सक्दिनँ ।’ जेठ १५ मा सार्वजनिक भएको बजेट वक्तव्यमा छुट्टै संस्थान स्थापना गरी त्यसको मातहतमा यी अस्पताल सञ्चालन गर्ने भनेपछि नेपाली कांग्रेस चितवनले भने सोही दिनदेखि असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया