‘सन्देह’लाई निकास नदिँदा तँ ‘बुद्धु’ भइस् (निबन्ध)

अन‌ि यो पनि

–रविकिरण निर्जीव

तन्द्रामा भएको बेला भूपि शेरचन अघिल्तिर ठिङ्ग उभिएर भने– ‘तँ बुद्धु होस् ।’ ‘बुद्ध’ भनिदिएको भए निकै खुसी हुनेथिएँ, तापनि ‘बुद्धु’ भने पनि बेखुस भइनँ ।
मेरो देश विविध कला, कौशल, संस्कृति रीति, थिति आदिको भण्डार भए पनि तिनलाई जतन गर्न सकेको छैन । ती भाँचिएका, कुच्चिएका, दोब्रिएका, फुटेका, लेउ–खिया लागेका बा चोरिएका छन् ।
उहिले उहिले दरबारमा घरबार हुनेहरु र तिनका छिमेकी महलहरुमा सयल गर्नेहरुका साथ लागेर हाम्रा मूर्ति र प्रतिमाहरु युरोप, अमेरिका कहाँ पुगेनन् ? ती विदेशी म्युजियमहरुमा पुगेर थुनिए, तर तिनका ‘सप्लायरहरु’ कहिल्यै नेपाली झ्यालखानामा थुनिएनन् ।
स्वदेशका गोडामा बाँध्न नसुहाउने विदेशी प्रकृतिहरु हेर्नुभन्दा पनि त्यहाँका कृतिहरु कस्ता होलान् ? म्युजियमका कलाकृतिहरु कसरी बसेका होलान् ! भनेर हेर्नैमात्र मन उत्सुक भएन, आफ्ना कृतिहरुका भ्रमणका कोलमहरुमा विदेशका नामहरु लेखाउन यति उत्सुक थियो यो मन ! फलस्वरुप, पाइलाहरु कङ्गारूको राष्ट्रिय निकुञ्जमा पनि पुगे, अस्ट्रेलिया, अब्राहम लिङ्कनको गृहनगरमा पनि पुगे, अमेरिका । सुदन गोन्जाउ आयो र आफ्ना आमा र बाउहरुलाई श्रवणकुमारले झैँ बोइङको ‘भार’मा राखेर अधिको निन्दाको पछिको सपनाको संसारमा ओराल्यो । निन्दा : अमेरिकी सम्राज्यवाद ! सपना : समृद्ध रामराज्य !
न्यूयोर्क, वासिङ्टनडिसी, म्यारिल्यान्ड, टेक्सास, क्यालिफोर्निया ! आफ्नो घर आएका पाहुना ठूलाबा, ठूलीआमा र दाजुलाई भतिज सुरेशले डल्लास सहरस्थित भव्य म्युजियम अवलोकन गराएर अतिथि सत्कारलाई पूर्णता दियो । तेह्र मार्च दुई हजार उन्नाइसको दिन दिउँसो पाटनको लक्ष्मीनारायण मन्दिरदेखि यहाँ आइपुगेको वासुदेव कमलाजा मूर्तिमा मेरा आँखा परे, त्यसको चित्रलाई मोबाइलमा कैद गरेर केटाहरुलाई भनेँ– ‘हेर त, नेपाली कला यहाँ !’ केटाहरुका चर्मचक्षु त्यसमा दृष्टिपात भए, तर मनचक्षु अन्यत्रै घुमे ।
मूर्तिनजिकै अङ्ग्रेजी भाषामा धेरै कुरा लेखिएको मध्ये यो कुरा पनि अङ्कित थियो– ‘१०–११औँ शताब्दी, स्टेल लक्ष्मीनारायण । मूर्ति एक जना विदेशीको गिफ्ट थियो भनिए पनि यो अन्तरआत्माले त्यसमा रत्तिभर विश्वास गरेन र त्यसले पटकपटक बोलिरह्यो– ‘अवैध धन्दा ! चोरी, तस्करी !’ सन्देह झन्झन् दृढ हुँदै गयो र भन्दै गयो– नेपाल फर्किएपछि सन्देहलाई निकास दिएर पर्दा खोल !
हृदयले ‘मूर्तिको पर्दा खोल्ने’ प्रकाश तिमिल्सिनालाई धन्यवाद दियो र थप्यो– ‘नेपाललाई यो मूर्ति फिर्ता भएको विवरण देऊ ।’
मनले सन्देहको पर्दा खोल्न हातलाई धेरै घचघच्यायो, तर त्यो कुम्भकर्ण सुतिरह्यो । पुनः पुनः झक्झक्यायो तर त्यो सुताहा पल्टिरह्यो । अठहत्तर एक तीनको कान्तिपुर दैनिकको ‘३७ वर्षपछि चोरिएको मूर्ति डल्लासबाट नेपाल फिर्ता’ समाचार र मूर्तिको चित्र मेरो दृश्यपटलमा परेपछि सन्देहमा जागृति आयो, चेत आयो, पश्चात्ताप आयो र मात्र कलममा जागरण आयो, बिउँझियो । पछाडि बुद्धि !
‘स्रष्टाहरुका कलममा जागृति नआएसम्म जनताका चेतनाहरु सुतिरहन्छन्’ यो कसको हो कुन्नि झुलुक्क उद्गार स्मृतिमा आयो ।
विदेशी म्युजियममा स्वदेशको प्राचीन कलाकृति उपहार होइन, अवैध बाटो हिँडेर आएको हो भन्ने तेरो सन्देह उठ्नेबित्तिकै त्यसलाई नेपाल आएपछि खोल्ने अठोट किन सुतिरहयो ? यही हो आफ्नो संस्कृतिको मोह ? यही हो राष्ट्रिय चेत ? यही हो धर्म ? बेलैमा सन्देहको पर्दा खोलिदिएको भए कति चर्चामा चढ्ने थिइस् ! कति हाइ, हेलो ! पाउने थिइस ! तँलाई अरुले उठाइदिनु पर्ने ? के भिन्नता रह्यो र तँ अनि त्यो मूर्तिको अवैध कारोबारी बीचमा हँ ?
मन यतिखेर पश्चात्तापमा पग्लिएर द्वन्द्वको भुमरीमा घुमेको छ, आफैँलाई सन्देश पठाइरहेको छ– सोचेको कुरा लेख्ने गर । संस्कृतिलाई आँखाले होइन कि मनैले माया गर्ने गर ! जोखिम लिएर पनि स्वदेश त्यसको संस्कृति र गरिमाबारे निर्धक्क बोल्ने र लेख्ने गर । पहिले बुद्धू भएर मात्र पछि बुद्ध हुने गरेका हामी कहिले विशुद्ध देशभक्त हुने होला ?

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया