जोडी कागको आवाज र त्यसभित्रको रहस्य (कथा)

अन‌ि यो पनि

-ऋषिराम घिमिरे

बिहानीको सुनसान समय ।
घडीले नौ बजेको सङ्केत गरेको थियो ।
‘काहा…! काहा…!! काहा……!!’
बरन्डानजिकै सिमीको बोटमा एक जोडी कागले निरन्तर अनौठो अभिनय गरिरहेका थिए ।
‘के भन्छन् यी…?’– सदाशङ्कर एक्लै बोले ।
उनको मनमा विभिन्न शङ्का र उपशङ्का उम्रियो । मानौैैँ ती जोडी काग नै शुभ र अशुभका दूत थिए । ठूूलो पावरको सिसा लागेको चस्मा उचालेर सदाशङ्करले कागतिर हेरे । मनको सन्तापलाई कागको त्यो बिछट्ट क्रियाकलापले झनै बढाएकोे मात्र थियो ।
सदाशङ्करको मनमा चिसो पस्यो । छोरो हस्पिटलमा भर्ना भएको पनि आज सत्र दिन भइसक्यो । छोरोको स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन भनेर उनकी श्रीमती सरिताले हिजो साँझ फोन गरेकी थिइन् ।
‘छोरोले भनेको मानेन, हाम्रो कुराको सुनुवाइ गर्दै गरेन । बाबुु सुजल, धेरै नपिऊ न भनेर धेरैपटक हात जोडेँ । छोरो खराब सङ्गत र साथीहरुको जालमा प¥यो । पछिल्ला दिनमा त झन् मध्यरात्रिको समयमा खुट्टा बटार्दै आउन लाग्यो । बोल्न हुने के हो र नहुने के हो ? सुरै छाडेर कराउँदै गाउँलेको निद्रा बिगार्न पनि पछि परेन ।’– सदाशङ्कर एकोहोरो भुतभुताउँदै तरकारी केलाउँदै थिए । उनको जीवनमा सुखको उज्यालो कहिल्यै आएन । सङ्घर्ष हो जीवन भन्ने त उनले सात वर्षको उमेरमा नै बुझेका हुन् । उनले सानै उमेरमा मातृवियोग व्यहोर्नु परेको थियो । आमाको मृत्युपछि कमाउन भारत गएका पिताका दुवै गोडा मेसिनको फित्तामा परेर हिँड्नै नहुने भएका थिए ।
त्यसपछि त घर, बहिनी र पिताको सम्पूर्ण हेरचाह सदाशङ्करको काँधमा आइपरेको थियो ।
सदाशङ्करको जीवन कठोर पीडा र यातनाले जेलिएको चलचित्रजस्तै थियो । जस्तोसुकै बाधा खडा भए पनि जीवनलाई व्यहोर्नैपर्र्र्ने रहेछ । उनले सक्दो त व्यहोरे, व्यहोर्न नसकेका सबै अस्तित्वको हातमा सुम्पिए । आफूले थेग्न नसकेको पीडा पक्कै पनि अस्तित्वले बेहोे¥यो होला भन्ने उनको अड्कल थियो ।
आफू बाह्र वर्ष उमेरकै हुँदा बहिनी नौ वर्षकी थिई । बहिनी चञ्चले स्वभावकी थिई । उसका साथीहरु छिमेकीका धनी घरपरिवारका थिए । साथीले लगाएका थरीथरीका लुगाले बहिनी सुजातालाई उदास बनाउला भन्ने लागेर सदाशङ्करले बहिनीलाई पनि त्यस्तै लुगाकपडा किनिदिन ढिलो गर्दैनथे ।
सदाशङ्करको उच्च संवेदनाले यथार्थ जीवनको धरातलमा बलियो गरी आफैैँ उभिन र अरुलाई उभ्याउन साँच्चैमा कति उपयोगी हुन सक्यो भन्ने विषयको लेखाजोखा हुन आवश्यक थियो । उनले आफ्नै निम्ति कति बाँचे भन्दा पनि अरुका निम्ति भने बाँच्न भरपूर सङ्घर्ष गरेका थिए ।
हिजोआज सदाशङ्करका पिताले धेरै चाहिँदो नचाहिँदो बोल्ने गरेका थिए । दिनभरि घरमा भेट गर्ने नाममा आउने गाउँघरका गफाडीहरुले भए÷नभएका कुरा गरेर सदाशङ्करका पिताको मगजै बिगारिदिएका थिए । ‘छोरोले पाल्दैन तिमीलाई, यसरी थुनिएर सधैँ कसरी बस्न सक्छौ ?’– भन्दै पल्लाघरे साहिँला काजीले पितालाई उचाल्दै गरेको त सदाशङ्करले आफ्नै कानले सुनेका थिए । कसैसँग पनि नराम्रो प्रतिक्रिया गरिहाल्ने स्वभाव थिएन । सदाशङ्करको मनले नमाने तापनि उनी चुप लाग्थे । ‘मान्छे किन यतिविघ्न कठोर हृदयका हुन्छन्, अरुको घर सपार्न त परै जाओस्, बिगार्नमै रमाइलो मान्ने मान्छेहरुको कमी छैन ।’– सदाशङ्करले यस्तै के–के सोचेका थिए ।
पूर्वस्मृतिका अनेक घाउ र तिनका डोबहरु आफैैँ उप्किरहेका थिए आज । कयौँपटक उनले दुःखबाट छुट्कारा पाउन घरमा स्वस्ति—शान्ति र पूजा—अर्चना पनि नगरेका होइनन्् । के न के मिल्दैन घरको व्यवस्थापनमा ? सदाशङ्करको भागमा घुमीफिरी दुःख नै आइलाग्दथ्यो ।
काग निरन्तर कराइरहेकै थिए, ती कहिले भैँसीगोठको धुरीमा पुग्थे त कहिले सदाशङ्करको अनुहार हेर्दै केही भन्न आतुर भएझैँ नजिक नजिक आउँथे ।
सदाशङ्करको मनले अनिष्ट सम्भावनाका नमीठा चित्रहरु को¥यो । ज्वारीकोटबाट मोबाइल निकालेर सरितालाई फोन गरे— ‘सरिता कस्तो छ सुजललाई अहिले ?’
उताबाट एकोहोरो सुँक्क—सुँक्कको आवाज मात्रै आइरह्यो । सरिता बोल्नै सकेकी थिइनन् ।
‘भन न सरिता, कस्तो छ सुजललाई अहिले ?’– सदाशङ्करले पीडाको मुस्लो ओकल्दै चर्को बोेले । सरिताले फोन काटिदिइन्, सम्बन्ध टुट्यो ।
काग एकोहोरो सदाशङ्करकै छेउ वरिपरि कराइरहेका थिए । केलाएको तरकारी पकाउने जाँगर लागेन उनलाई ।
‘के—के अशुभ समाचार सुन्नुपर्ने हो !’– सदाशङ्करको मन एकतमासले उथलपुथल भैरह्यो ।
दुवैै गोडा नचले पनि पिता घरका शोभा थिए, दुःखसुखका मल्हम थिए ।
बेलाबखत पिताबाट प्राप्त उपदेश—अर्तीले सदाशङ्करको मन फुरूङ्ग बनाउँथ्यो । उनी अभिभावक थिए, भरोसाका केन्द्र थिए, उनलाई पनि गत साल मात्र दैवले छुटायो ।
भारततिर चौैकीदारी गर्दा रात्रिको कठोर कहर सहन नसक्दा अलिअलि मदिरा पिउने बानीले सदाशङ्करका पिता रक्सीका अम्मली भएका थिए । कुलतको सानो सुरागले पूूरै जीवन डढेलो लाग्छ भनेको सही नै थियो । सदाशङ्करका पिता रक्सी पिउँथे, एकपछि अर्को चुरोट सल्काउँथे र खोकेर रात कटाउँथे । सदाशङ्करले पिताको विरोध गर्न कहिल्यै पनि आँट गरेनन् ।
ओछ्याननजिकै खरानीले भरिएको खकार थुक्ने टपरी थियो । पिताले ख्वाँक्क ख्वाँक्क खकार्दा रगतका ढिक्काहरु आउँथे । पितालाई रक्सी नपिउन र चुरोट छोड्न सदाशङ्करले धेरैपटक बिन्ती गरे, सुनुवाइ भएन । पितामाथि अनेक रोगले डेरा गरेका थिए । उनका पितालाई छातीको ब्रोेङ्काइटिस, दाँत र मुखको क्यान्सर, सुगर र प्रेसरले एकछत्र गालेका थिए । बेलाबखत डाक्टरलाई भेटेर पिताको औषधि उपचार पनि गराएकै थिए सदाशङ्करले ।
मदिरा र चुरोट पिउनैपर्ने पिताको हठी स्वभावले अवस्था दयनीय हुुँदै गयो । क्यान्सरको सङ्क्रमण जिब्रो, स्वासनली र मुखभरि फैलिनाले उनी केही खान नसक्ने गरी थलिएर संसारबाट ओझेल परेका थिए ।
सदाशङ्करको छोरो सुजलले अहिले उनै पिताको जस्तो कष्ट भोग्दै थियो । सुरूका दिनमा रक्सीको गन्ध मन नपराउने सुजलले पछिल्ला दिनमा त्यही रक्सीमा सुगन्धको अनुभूति गर्न लागेको थियो । हजुरबाबाको कोठामा छिर्न ऊ अघोर रौसिन्थ्यो । रक्सीको अप्रत्यक्ष प्रभावले सुजलको मनमाथि कब्जा जमाइसकेको थियो । बेलाबखत हजुरबाबाको आँखा छलेर चुरोटको सर्को लगाएको थियो । उसलाई के थाहा कि प्रत्येकपटकको हजुरबाबासँग हुने उसको दर्शन र भेटले आफ्नो सम्पूर्ण भविष्यलाई थिलोथिलो बनाउने छ भनेर !
मानव मस्तिष्कले प्राप्त गरेका सबै खाले सूचनाहरु स्मृतिको सन्दुकमा सँगाल्छ र संकलित सूचना नै उसभित्र वर्तमान र भविष्य निर्माणमा दिगो ‘कलाकार’ भई कार्य गर्दछ । जन्मजात कसैले पनि राम्रो÷नराम्रो संस्कार लिएर पृथ्वीमा पाइला राखेको हुँदैन ।‘मान्छे’ले जे सिक्छ, यही धरतीबाट सिक्छ र सोही सिकाइ नै उसको संस्कार बन्दछ । संस्कार नै ‘जीवन’ हो ।
‘सदाशङ्कर’ तिनै रक्स्याहा पिताका छोरा थिए । पिताका राम्रा संस्कार मात्रै उनमा हस्तान्तरित भएका थिए । उनलाई यो सौभाग्य थियो कि व्रतबन्धमा गायत्री मन्त्र सुनाउने उनका गुरूले जीवन, संस्कार र सफलतामा गायत्री मन्त्र र वैयक्तिक आचरणले कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषयमा गहिरो प्रभाव वीजारोपण गराएका थिए, सोही प्रभाव र संस्कारले सदाशङ्करलाई निर्देशित गरिरह्यो । कहिल्यै कुनै नराम्रो दुर्दशा व्यहोर्नु परेन उनलाई ।
जोडी कागहरुको स्वरमा कुनै विशेष परिवर्तन आएको थिएन । ती एक तमासले कराइ नै रहेका थिए, ‘काहा….काहा….काहा…!’
एकैछिनपछि मोबाइलको घन्टी बज्यो । सरिताको फोन रहेछ ।
‘सुजलले संसारलाई छोड्यो, हामीबाट सधैँको निम्ति बिदा लियो उसले’– सरिताले रूँदै भनेकी थिइन् ।
सदाशङ्करको नौनीजस्तो कोमल हृदय अकस्मात् पत्थरझैँ कडा चट्टानमा रुपान्तरण भएको थियो । उनका आँखा रसाएनन्, हृदयले रूने इच्छा गरेन र सबै परिस्थितिलाई यथावत् ग्रहण गर्न उनको विवेकले मन्जुरी गरायो ।
जोडी कागहरु शान्त भए, ती दुवैै आहाराको जोहोतिर व्यस्त देखिए । त्रिसठ्ठी वर्षीय सदाशङ्करले पृथ्वी र उसको गहिरो भाषालाई अनुभूत गरे । पृथ्वी माटो मात्र होइन रहेछ, उसको छातीले एकै लयमा सृष्टि, प्रलय, संंंरक्षण र सूचना सम्प्रेषण पनि गर्दोरहेछ ।
सदाशङ्करको मनमा कागप्रति एक किसिमको करूणाभाव प्रकट भयो । संसारका सम्पूर्ण सृष्टि ईश्वरका बहुमूल्य कृति रहेछन् भन्ने लाग्यो । उनले भान्सामा पाकेको भात कागको निम्ति भनेर भैँसीगोठको छानोमाथि राखिदिए । ती जोडी काग, तिनले ल्याएको सूचना र तिनको व्यवहारले सदाशङ्करलाई संसार नै सम्पूर्णरुपेण विद्युतीय सञ्जाल बिछाइएझैँ एकअर्काको संवेदनामा हरदम ईश्वर, सृष्टि र प्रलयसँग जोडिएको छजस्तो लाग्यो ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया