महानगरले डोजर लगाएर नदीमा उत्खनन गर्दा पश्चिम चितवनका बस्तीहरु डुबान र कटानको जोखिममा

अन‌ि यो पनि

गुञ्जनगर । भरतपुर महानगरपालिकाले नारायणी नदीमा लगाएको ठेक्कामार्फत डोजर लगाएर नदीमा उत्खनन गर्ने कामले पश्चिम चितवनका बस्तीहरु डुबान र कटानको जोखिममा परेको भन्दै स्थानीय आक्रोशित भएका छन् । भरतपुर महानगरपालिकाले बढी राजस्व असुल्ने नाममा नारायणी नदीको दोहन गरेर जनतालाई डुबानमा पार्न लागेको उनीहरुको आरोप छ ।

भरतपुर–१७ स्थित मझुवा सामुदायिक वन क्षेत्रमा नारायणी नदी उत्खनन गर्दा बस्तीतर्फ भरतपुर–१७ को गोब्रेनी, गाजीपुर बस्तीतर्फ धार परिवर्तन गर्ने गरी उत्खनन गरेको र यसले भरतपुर महानगरपालिकाका वडा नं–१७, १८, २६, २७ र २८ का नारायणी तटीय क्षेत्रमा रहेका बस्तीहरु अन्त्यन्त जोखिममा परेको कालाबञ्जर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भूपालनाथ कँडेलले बताए ।

यसै त, यी क्षेत्रका डुबान र कटानका जोखिम क्षेत्र हुन् । नारायणीको नाद नै नचिनिने गरी गरिएको दोहनले पश्चिम चितवनवासीको चयन खोसिएको र नदीजन्य पदार्थको उत्खननमा देखिएको चरम लापर्बाहीले गम्भीर समस्या उत्पन्न गराउने अवस्था पनि सिर्जना भएको अध्यक्ष कँडेलले बताए ।

भरतपुर महानगरपालिकाले बढी राजस्व असुल्ने नाममा नारायणी नदीको दोहन गरेर जनतालाई डुबानमा पार्न लागेको मदन स्मृति पार्क गाजीपुरका अध्यक्ष गौरस तामाङ बताउँछन् । अघिल्लो वर्षको बाढीले नारायणी नदीको धार बस्तीतर्फ सोझिएको अवस्थामा बस्तीतर्फ नै दोहन गरिदिँदा बस्तीहरु अन्त्यन्त जोखिममा मात्रै नपरेको अझ नारायणी तटीय क्षेत्रमा पर्यटकीय संरचनाहरु पनि जोखिममा रहेको अध्यक्ष तामाङ बताउँछन् । राज्यको प्राकृतिक स्रोतसाधनको उचितरुपले प्रयोग हुनुपर्ने भए पनि जथाभावी उत्खनन हुन थालेपछि स्थानीय आक्रोशित बनेको उनले बताए ।

नारायणी नदीबाट हुने सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको क्षतिको दीर्घकालीन समस्या समाधानका लागि योजनाका साथ स्थानीय निकाय अघि बढ्नुपर्नेमा बढी राजस्व असुल्ने नाममा नारायणी नदीको दोहन गरेर सम्भावित दुर्घटनाको पीडाले त्रसित बनेका स्थानीयहरुलाई थप पीडा दिएको शिशैस्थित कालाबञ्जर थारु होमस्टेका अध्यक्ष रामप्रसाद महतोले बताए । उनले नारायणी नदी तटीय क्षेत्र बर्सेनि बाढीको उच्च जोखिममा पर्ने गरेको बताउँदै नदी जोखिम न्यूनीकरणका दीर्घकालीन रणनीति बनाउनसमेत माग गरेका छन् ।

पृथ्वीतारा र एनके इन्टरनेसनल जेभीले नारायणी नदीस्थित मझुवा सामुदायिक वनसँगै जोडिएको नदीकिनारबाट गिट्टी, बालुवा तथा ढुङ्गा निकासी गर्दै आएको छ । कम्पनीले त्यस क्षेत्रबाट गिट्टी, बालुवा निकासीका लागि ३ करोड रूपैयाँमा टेन्डर हात पारेको हो ।

महानगरका प्रवक्ता अरूण पीडित भण्डारीले आइइई गरेर नै विधिसम्मत ढङ्गले काम गरिरहेको दाबी गरेका छन् । जेठ २५ गतेसम्मको समय ठेकेदारलाई तोकिएकाले काम गर्न भनिएको उनले बताए । ठेकेदारले उत्खनन गर्दा आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा त्यसबारे निर्णय हुने उनको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया