बागमती प्रदेश सरकारको बजेट अन्तिम चरणमा

अन‌ि यो पनि

–अमृत चिमरिया
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि आकार बढाएर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले सकेसम्म सदनमा अवरोध नभए सदनमा छलफल गरेर बजेट ल्याउने तयारी छ भने सदनमा अवरोध भए अध्यादेशबाटै ल्याउन पनि आवश्यक तयारी गरिसकेको छ ।

तर, प्रदेशसभाका विपक्षी दलहरुको मोर्चाबन्दी र सत्तारुढ एमालेकै सांसद्हरु सरकारस“ग रूष्ट रहेका कारण सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेको भए पनि सदन बिनाअवरोध अगाडि बढिरहेको कारण त्यो कदमबाट भने पछाडि हट्ने देखिएको छ । सरकारको समर्थनमा रहेका नेकपा एमालेका सांसद्हरुले विरोध गरेमा सरकारले अध्यादेशबाट बजेट ल्याउने दाबी गरेका छन् । मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीलाई पनि सांसद्हरुले सोही सुझाव दिएको एमाले सांसद्हरुले बताएका छन् ।

छलफल नै नगरी बजेट तयार

त्यसो त, बागमती प्रदेशसभाले प्रदेशसभामा छलफल नै नगरी बजेट तयारी गरिसकेको छ । प्रदेश सरकारले सदनमा छलफल नै नगरी आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा पु¥याएको बजेट निर्माणमा रहेका एक कर्मचारीले बताए । सामान्यतया निर्वाचन क्षेत्र, सांसद्को सुझाव र विज्ञहरुको रायपश्चात् बजेट निर्माण गरिन्छ । तर, प्रदेश सरकारले पर्याप्त छलफलबिनै बजेटको तयारी अन्तिम चरणमा पु¥याएको हो ।

उनले भने ‘प्रि–बजेट छलफल भएता पनि औपचारिकताका लागि हो, मन्त्रालयको सिलिङ नै रोकिइसकेको छ । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयगतरुपमा बजेटको सिलिङ तोकेर पठाएको थियो । सोहीअनुसार मन्त्रालयबाट प्राप्त योजनाहरु कम्प्युटरमा दर्ता भइसकेको छ, अब थपघट हुँदैन ।’

यता, आर्थिक मामिला मन्त्रालयका अनुसार अनिवार्य दायित्व, बहुवर्षे योजनाका लागि बजेट विनियोजन गरेर बाँकी रहेको योजना कोरोनासँग सम्बन्धित राख्ने गरी मन्त्रालयहरुलाई पत्राचार गरेको र सोहीअनुसार बजेट विनियोजन भएर इन्ट्री प्रणाली लक गरिएता पनि आवश्यकताअनुसार लक अन गर्न सकिने बताइएको छ । प्रदेशसभा सदस्यहरुको दबाबमा बजेट पेश हुनुभन्दा एकदिनअघिसम्म बजेट थपघट हुँदा किताब छाप्ने बेलासम्म पनि फेरबदल हुने गरेकोले यसो गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

बजेटको आकार बढ्दै

प्रदेश सरकारले असार १ गते प्रदेशसभाबाट चालू आवको भन्दा आकार बढाएर बजेट ल्याउने तयारी गरेको हो । कोरोना महामारीबीच चालू आवमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैया“को बजेट प्रदेश सरकारले ल्याएको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीका अनुसार करिब ५५ अर्ब रूपैया“बराबरको हाराहारीमा बजेट ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको छ । प्रदेशका प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक अध्यक्ष श्याम बस्नेतका अनुसार प्रदेशका १३ वटै जिल्लामा कागज उद्योग, कृषि औजार उत्पादन कारखाना, कृषि ऋणलाई थप व्यवस्थित गर्ने, उत्पादनमा आधारित अनुदानलगायत विषय बजेटको प्राथमिकतामा पार्न सुझाव दिइएको छ ।

बागमती प्रदेश सरकारले सदनमा आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि–बजेट प्रस्तुत गरिसकेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेश गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुने प्रदेशसभामा जानकारी गराएका थिए । प्रदेशसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया