थानीचोक–मुनालचोक सडक निर्माण अलपत्र

अन‌ि यो पनि

–किशोर खनाल
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१२, बाइपास सडकसँग जोडिएको थानीचोकदेखि सूर्यचोक हुँदै मुनालचोकसम्मको सडक निर्माण यतिबेला अलपत्र परेको छ । कतै आधा पिचमै निर्माणको काम रोकिएको छ भने कतै पिच नै भएको छैन ।

स्थानीय मीन सुवेदीले सडक निर्माण गुणस्तरसमेत नभएको र आधा पिचमै कालोपत्रे गर्ने काम अलपत्र पारेर छोडिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा सडक निर्माण अलपत्र परेका तस्बिरहरु पोस्ट गर्दै भने, ‘आधा पिच गरेको पनि महिनादिन पुग्न लाग्यो, तर काम कहिले हुने अत्तोपत्तो छैन ।’ उनले सडक निर्माणमा गुणस्तर पनि नभएको दाबी गरे ।

उनले भने, ‘गत वर्षकै आयोजना हो, अहिलेसम्म बनेको छैन । सम्बन्धित निकाय भरतपुर महानगरपालिकामा हामीले गुनासो गरेका छौँ, महानगरका प्राविधिक टोली आएर ठेकेदारलाई सुधार्न निर्देशन दिए, तर पनि काम अगाडि बढ्न सकेको छैन ।’

थानीचोक–सूर्यचोक–मुनालचोक सडक संरक्षण समितिका अध्यक्ष हेमबहादुर न्यौपानेले ठेकेदार पक्षबाट सडक निर्माणमा ढिलाइ भएको बताए । उनले भने, ‘एकतर्फी सडक निर्माण भएको छ, अब दुईतर्फी गर्न हामीले भनिरहेका छौँ, छिटै काम हुन्छ भन्नेमा आशावादी छौँ ।’
उनले गुणस्तर मापन गरेर त्यहीअनुसारको काम गर्न लगाउने बताए । उनले भने, ‘सडक पाँच मिटरको चौडा हुनुपर्छ, ४० एमएमको पिच हुनुपर्छ, त्योअनुसार काम गर्न लगाउँछौँ । छिटै काम गर्नलाई हामीले भनिरहेका छौँ ।’

भरतपुर महानगरपालिकाका अनुसार सडकको बजेट सडक बोर्डबाट परेको हो । करिब ४५ लाखको बजेट सडक निर्माणमा परेको हो । स्थानीय हरिभक्त अधिकारी मापदण्डअनुसार सडक निर्माण नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीले इन्जिनियरहरुलाई ल्याएर देखायौँ, सडक सरसफाइ नगरी नै पिच गरियो । कति चौडा लिनुपर्ने हो, कति मोटाइ हुनुपर्ने हो कुनै मापदण्ड पूरा नगरी आधा पिच गरेर छोडियो, लापर्बाही भयो ।’

गत वर्षकै योजना भए पनि हालसम्म नबनेकोमा उनले गुनासो गरे । उनले भने, ‘यो अधुरो सडक चाँडै बनाउन हामी सबै पक्षसँग माग गरिरहेका छौँ, सडक अलपत्र परेको छ ।’

स्थानीय अर्जुन खनालले सडक निर्माणमा सन्तोषजनक काम नभएको बताए । उनले भने, ‘चित्तबुझ्दो काम भएको छैन, आवश्यकताअनुसार मापदण्ड पु¥याइएको छैन, ठेकेदार पक्षलाई हामीले भनिरहेका छौँ, काम छिटो गर्नलाई सबै पक्षलाई घचघच्याइएको छ, कमजोरीलाई सुधार्न भनेका छौँ ।’

उक्त सडकका निर्माण व्यवसायी डिबी थापा थानीचोकदेखि सूर्यचोक हुँदै मुनालचोकसम्मको सडक निर्माण समयमै पूरा गर्न नसकिएको भन्दै गल्ती स्वीकार गर्छन् । उनी भन्छन्, ‘कोरोनाको कारण देखाउँदै प्लान्टका कामदारहरु भागे, बीचमै सडक अलपत्र प¥यो ।’ उनले कोभिडका कारण सडक निर्माण सर्दै आएको र सडक निर्माण थाल्दा कोरोनाको प्रभाव ज्यादा रहेको बताए ।

निर्माण व्यवसायी थापाले भने, ‘गत वर्षकै योजना भए पनि कोरोना, बर्सादलगायतका कारणले सडक निर्माणको काम सर्दै आयो, पछिल्लो समय निर्माण थाल्दा कोरोना देखाउँदै कामदार नै काम छोडेर भागे, के गर्नु ?’ उनले नियतवश ढिला नगरेको र देशको परिस्थितिले काम ढिला भएको बताए । उनले भने, ‘काम गर्दा कामदारबाट केही गल्ती भएका छन्, ती सबै गल्तीको म जिम्मा लिन्छु र सुधार्छु, अब कामदार फर्किसकेका छन्, एक–दुई दिनमा काम थालेर पूरा गर्छु ।’

उनले काम गर्दा केही गल्ती हुन सक्ने र त्यसलाई सुधारेर अघि बढ्ने बताए । उनले भने, ‘सडकलाई ५ मिटरको चौडा बनाएर ४० एमएमको पिच बनाउन म लाग्नेछु, म पनि त्यहीँको स्थानीय हो । कामदारले केही गल्ती गरे होलान्, सुधारेर केही दिनमै सडक निर्माणको काम थाल्नेछु ।’

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया