लकडाउनका बेला बन डुल्दा [कोरोना डायरी–१४]

अन‌ि यो पनि

–रमेशकुमार पौडेल

लकडाउन भएपछि सारा मानवीय गतिविधि ठप्पजस्तै भए । कलकारखाना बन्द भए । गाडी चलेनन् । मान्छे घरभित्रै थुनिए । यसको प्रभाव प्रकृतिमा प¥यो । मानव त्रस्त र प्रकृति मस्त देखिन थाल्यो । अरुको आवाजभन्दा चराको चिरबिर चर्को हुन थाल्यो । अकास खुला भयो । सधैँ तुवाँलो लाग्ने दिल्लीको आकास नीलो देखियो भन्दै अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाए । हाम्रै नेपालमा तराईका फाँटबाट हिमाल देखिएका तस्बिरहरु मिडिया र सामाजिक सञ्जालहरुमा भेटिन थाले । चितवनका हामीलाई यो बेला निकुञ्ज घुम्न पाए त्यहाँका वन्यजन्तुको लहर देख्न पो पाइन्थ्यो कि भन्ने लाग्यो । चितवन निकुञ्जमा चैत्र १० बाटै पर्यटकीय गतिविधि ठप्प थियो । जिप र मान्छेको चहलपहल नभएका बेला जनावरहरुको ओहोरदोहोर हेर्न जान पाए हुन्थ्यो भन्ने लाग्यो ।

चितवन निकुञ्जमा त्यो बेला नारायण रुपाखेती प्रमुख संरक्षण अधिकृत थिए । तर, उनीसँग कुनै पनि खालको सम्पर्क संवाद भएको थिएन । एकपटक जानकारी लिन फोन गरेको यति च्याँट्टिएर कुरा गरे कि छक्कै परियो ! पत्रकार महासंघका तत्कालीन चितवन शाखाका सभापति राधेश्याम खतिवडालाई लौ न यो बेला निकुञ्ज घुम्ने मेसो मिलाउन वार्डेनसँग कुरा गर्नुस् भनियो । खतिवडाले हुन्छ हुन्छ त भने तर उता कुरा गरेजस्तो लागेन । कुरा गरे पनि खै वार्डेनको स्वभाव त्यस्तो थियो, केही भयो कि ? पानी परेर हरियाली बढे निकुञ्जभित्र जनावरहरु देख्न गाह्रो हुन्छ । त्यसैले चैत्रभित्रै जाँदा उत्तम हुन्थ्यो । तर, वैशाख सकिने बेला हुन थाल्यो, निकुञ्ज जाने मेसो जुरेन । केही पत्रकार साथीहरु गएर फोटो हाल्न पनि थाले । तर, अध्यक्षले केही नभनी कसरी जानु ?

बाघमारा वनमा पोखिएको त्यो वात्सल्य

जीतु तमाङ युवा संरक्षणकर्मी हुन् । उनी बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पनि हुन् । सौराहाआडको यो वन साह्रै सानो छ । तर रुखबिरूवा, चौरका साथै यहाँ जीवजनावरहरु भरमार छन् । सौराहा आउने पर्यटकहरु हात्ती सफारी गर्न यहीँ पुग्छन् । लकडाउनपछि सफारी र सबै खाले घुमघाम बन्द भयो । निकुञ्जभित्र जाने छाँट नदेखेपछि ईश्वर जोशी दाइले बाघमारातिर पो जाने कि भन्नुभयो । जीतु तमाङले ‘ल ल आइहाल्नू’ भने । मुग्लिन पुगेर फर्केको भोलिपल्ट ७७ सालको वैशाख २४ गते दिउँसोतिर बाघमाराको बाटो लागियो । ‘बोटिङ पनि गर्नुपर्छ है’, जीतु तामाङले यस्तो प्रस्ताव ल्याए । बूढीराप्तीमा बोटिङ (डुङ्गा चढेर) गर्दै खोरसोरनजिक आइयो । बूढीराप्तीको किनारमा प्रशस्तै घडियाल देखिन्थे । त्यसैले, बोटिङ गर्न रहर बढेको थियो । तर, पानी परेर हल्का बाढी आएको थियो । खोलाको तह बढेको थियो । घडियाल गोही देखिएनन् ।

डुङ्गाबाट उत्रेर जंगल छिर्नासाथ अहो अहो, चित्तलका बथान देखियो । चरेर अघाएपछि रुखको शीतलमा बसेका थिए । साना बच्चा बुर्लुक्क गर्दथे । माउ बेलाबेलामा कान हल्लाउँदै उग्राउँदै बसेका थिए । त्यति धेरै चित्तल एकै ठाउँ यसअघि देखिएको थिएन । हामी आएको थाहा भएपछि चनाखो भए । बसेकाहरु उठ्न थाले । एउटा उठेपछि अर्को अर्को गर्दै भएभरका सबै उठे । माउ उठेपछि बच्चा दूध खान पुग्थे । सम्भावित खतराको आँकलन गरेर होला कल्चौडोमा बच्चाको थुतुनो पुग्दा माउले खुट्टा उचालेर बच्चो भगाउँथे । खतरा रहेनछ भन्ने निक्र्यौल भएर हो कि चित्तल धेरै पर भागेनन् । बच्चाले दूध खान पाए ।

बथान हेर्दै हामी बाघमारा वनको लगभग बीचमा भएको टावरतिर लाग्यौँ । टावर भएको ठाउँमा दुई–चार बिघाबराबरको ठूलो चौर छ ।
पानी परेका कारणले दूबो मज्जाले पलाएको थियो । चौरले दूबोको च्यादर ओढेझैँ लाग्दथ्यो । बीचमा भएको सिमलको बडेमानको रुख पनि हरियो भएर उभिएको थियो । हरियाली नै हरियाली छाएको थियो । चौरको दाहिने कुनामा त बडेमानको गैँडा पो रहेछ । गैँडा एक्लै थिएन । बच्चा पनि साथमा थियो । बच्चा हुर्केको थियो । बच्चा साथमा भएको गैँडा खतरनाक हुन्छ । त्यसैले, हामी छिटोछिटो टावरतर्फ लाग्यौँ । टावरको आडमा चित्तलको अर्को बथान पनि थियो । त्यहाँ पनि भाले, पोथी र बच्चाहरु प्रशस्तै थिए । तर, बच्चावाला गैँडाको डरले चित्तलको त्यो बथानको फोटो खिच्न लागिएन । टावरमा आएपछि फेरि उता उत्तरतिरको दाहिने कुनामा अर्को गैँडा देखियो । त्योसँग पनि हुर्केको बच्चा थियो । गैँडा बिस्तारै बिस्तारै अगाडि बढेर देब्रेतिर जंगलमा बिलायो । बच्चा भएको गैँडाले खतरा अनुभव गरेपछि एक ठाउँमा बस्दैन । बच्चा जोगाउन जंगल छिर्छ । बच्चा भएका दुवै गैँडा केहीबेरपछि हाम्रा आँखाबाट ओझेल परे ।

हामी अब जंगलबाट बाहिर निस्कने भयौँ । बाटो लाग्दै गर्दा चित्तलका बथानमा भाले र पोथीको रोमान्स चल्दै थियो । माउको पछिपछि लागेर बच्चाले दूध चुस्दै थिए । बच्चा मग्न भएर दूध चुस्दा माउको नजर हामीतिर हुन्थ्यो । गैँडाका माउ बच्चा र चित्तलका माउ बच्चाको वात्सल्य भरपूर थियो त्यो जंगलमा । लकडाउन नभएका भए यो बेला यिनीहरु यसरी कहाँ रमाउन पाउनु ! हात्तीका लस्करहरु पर्यटक बोकेर जंगल छिर्दथे । यताको हल्ला उताको हल्ला । यता र उता दौडँदादौडँदै दिन बित्थ्यो । रातमा मात्रै उनीहरुको संसार बिथोल्न मान्छे आउँदैन थियो । लकडाउनले उनीहरुलाई दिनमा नै रमाउन सक्ने वातावरण बनाइदिएको रहेछ ।

बाघमाराबाट निस्केपछि बद्रहनी गाउँ गइयो । गाउँआडको एउटा पुरानो सिमलको रुखमा हुचिलले बच्चा जन्माएको रहेछ । सिमलको रुख निकै पुरानो थियो । बीचबाट भाँच्चिएको । भाँच्चिएर सुकेको, कुहिँदै गएको । भाँच्चिएको ठाउँमा बनेको कोप्चेरोमा हुचिलले गुँड बनाएर बच्चा हुर्काउँदै रहेछ । हुचिल भनेको लाटोकोसेरोको एउटा प्रजाति हो । यो सामान्य लाटोकोसेरोभन्दा ठूलो हुन्छ । यो दुर्लभ हुँदै गएको छ । त्यस्तो दुर्लभ चराले कुनै काम नआउने जस्तो देखिएको भाँच्चिएर मक्किएको सिमलको रुखमा संसार बसाएको थियो । बच्चा हुर्किसकेको थियो । बेलाबेलामा कोप्चेरोबाट बाहिर निस्केर नियाल्थ्यो । आमा आहाराको खोजीमा थियो होला ।

अनि घुमियो निकुञ्ज

लकडाउन लागेको केही दिनपछि नै निकुञ्ज जाऊँजाऊँ भनेको तर मेसो मिलेन । जेठ १० गतेका दिन भने जाने भन्ने खबर आयो । तर, जाने मेसो मिलाउनू न भनेको तत्कालीन अध्यक्षले हैन अर्कैले फोन गरे । म मोटरसाइकलमा कसरा लागेँ । त्यहाँ ईश्वर दाइ, राजु चौधरी, कोमलचन्द्र भगत, सुवास पण्डित र बद्री अर्याल पहिल्यै पुगेका रहेछन् । तत्कालीन वार्डेन रुपाखेती रहेनछन् । सहायक संरक्षण अधिकृत ऋषि रानाभाट र लोकेन्द्र अधिकारी हामीसँग जाने भए । सुरूमा तमोर ताल गइयो । त्यत्रो तालमा एउटा चरोबाहेक केही देखिएन । त्यसपछि पश्चिम लागियो । भिम्लेफाँटमा चित्तलका बथान देखिए । त्यत्तिको बथान त बाघमारामा नै थिए । हामी पश्चिम देवी तालसम्म पुग्यौँ । तर, जनावरहरु खासै देखिएनन् । गर्मी अत्यधिक बढेको थियो । घाँस हर्लक्क भएको थियो । देवी तालबाट फर्कंदा भिम्लेफाँटमा एउटा गैँडा भने देखियो । कोरोनाको चर्को महामारी थियो । अल्लि असुरक्षित यात्रा गरियो कि भन्ने लाग्यो । त्यसदिन चीनमा भने कोरोनाका कुनै सङ्क्रमित भेटिएनन् रे ।

भिम्लेफाँटसम्म पछि पनि गइयो । त्यो बेला भने तत्कालीन प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती पनि साथै थिए । यो साउन एक गतेको कुरा हो । ईश्वर दाइ र म गएका थियौँ । भिम्ले पोस्टसम्म जाने कुरा थियो । तर, बीचमा खोला निकै बढेका कारण गाडी अगाडि जान सकेन । त्यसपछि फर्कियौँ । सुखिभार पोस्टमा आएर चिसो पानी र पाकेका मीठा आँप खायौँ । त्यहीँको बोटमा लटरम्म फलेका थिए आँप । कति स्वादिला, कति गुलियो ती आँप ! रुपाखेती सरसँग मीठो घुमघाम भयो । तर, दुईपटकको घुमघाममा पनि निकुञ्जभित्र जनावरहरुको त्यो विधि चहलपहल देखिएन । हामीले रुपाखेती सरलाई भेटेर आएको दुई दिनपछि नै निकुञ्जले कुसुमखोलाका सुकुमबासीका घर छाप्रामा आगो लगायो भन्ने सनसनी खबर आयो ।

खबर सुन्नेबित्तिकै मैले प्रमुख संरक्षण अधिकृत रुपाखेतीलाई फोन लगाएँ । योपटक निकै सहज तरिकाले फोनमा कुराकानी सुरू भयो । उनले कुसुमखोलामा आगो लगाउने घटना हुँदै नभएको बताए । छाप्राहरु बनेको हुँदा चेतावनीस्वरुप केही छाप्रा हात्तीले यस्सो धकेलेको होसम्म भने । पछि कुसुमखोला गइयो । आगो लगाएर नष्ट भएका छाप्राहरु आँखाले देखेर आइयो । केही दिनपछि ती आगो लागेको ठाउँ मान्छे बस्ने घर नभएर गोठ र मचान भएको बताइयो । यो कुरा पनि निकुञ्ज प्रशासनले नभएर तत्कालीन वनमन्त्रीले पो बोले । रुपाखेतीको चितवन निकुञ्जबाट सरूवा नै भयो । उनलाई मैले सुरूमै सोधेको हो तर उनले त्यहाँ आगो नलागेको बताए । पछि बल्ल मन्त्रीले आगो लागेको कुरा गरे । खै के–के भयो, उनी सरूवा भए ।

एक जोडी सुत्केरी गैँडा

बाघमारा बनमा अरु बेला पनि गइयो । असार २४ गते दुईपटक गइयो । बिहान गइयो, अनि साँझपख पनि । चित्तलका बथानहरु ह्वात्तै बढेका छन् भन्ने खबर सुनेर हामी त्यता लागेका थियौँ । बिहान खासै देखिएन । अब साँझपख देखिन्छन् भनेपछि गयौँ । साँझपख भने धेरै नै देखिए । चित्तलको बथानमा जरायो पनि थियो । जरायो चित्तलभन्दा ठूलो र रुपरंग नै फरक भएको मृग प्रजाति हो । योभन्दा पहिले गत वर्षको जेठ २९ मा निकुञ्जकै पूर्वी क्षेत्र पनि गइयो । बस्ती सारेको पदमपुर फाँट पुगेर त्यहाँ राखिएका अर्ना हेरियो । अर्ना चितवनमा पाइँदैन । कोशी टप्पुबाट ल्याएर पदमपुरमा राखिएको हो अर्नाहरु । विद्युतीय झट्का दिने तारबार गरेर त्यसभित्र अर्ना राखिएको छ । ठूलो फाँटलाई तारबार गरिएको छ । तारबार नछिरी अर्ना देखिएन । बारभित्र छिरेर धेरै पर गएपछि दक्षिणी कुनामा अर्नाका सबै झुन्ड बसेका रहेछन् । हामी निकै पर भए पनि उनीहरुले चाल पाएछन् र एकपछि अर्को गर्दै लहरै अर्ना उठेर हामीतिर हेर्न थाले । उनीहरु आलिङ्गन गर्न थाले । कोही चर्न थाले, केही हामीतिर आउन थाले । बिस्तारै सबै हामीतिर अगाडि बढेपछि त्यहाँबाट हिँड्यौँ ।

बाघमारा वनमा फेरि पसियो गत वर्षको साउन २१ मा । वनमा दुईवटा गैँडाले एकैपटक बच्चा जन्माएछन् । ती बच्चा डुलाउँदै गरेको गैँडाको फोटो खिच्न भनेर त्यसदिन म, ईश्वर दाइ र राजेश घिमिरे बाघमारा गयौँ । वनको अफिसबाट यस्सो भित्र लागेपछि टावर नपुग्दै बाटैबाट देखियो चित्तल र जरायोको झुन्ड अनि त्यसैमा मिसिएर चर्दै गरेको सुत्केरी गैँडा । सुरूमा एउटामात्रै गैँडा देखिएको थियो । हामीले फोटो खिच्दै गर्दा दाहिनेतर्फबाट अर्को गैँडा पनि सानो बच्चा लिएर त्यही बथानतिरै आयो । यी गैँडा र चित्तल तथा जरायो हाम्रो कुनै वास्ता नगरी मस्त चरिरहे । दुईवटै गैँडाका माउ बच्चा क्यामेराको एउटै फ्रेममा अटाए । भरपूर फोटो खिचेर हामी बाटो लाग्यौँ । जनावरहरु निरन्तर चरिरहे, चरिरहे । कोरोनाले संसारका मानव त्रस्त भएका बेला जंगलभित्रका जनावरहरु भने मस्त देखिए ।

[email protected]

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...