श्रमिकहरुको उद्धारका लागि सरकारको ध्यानाकर्षण

अन‌ि यो पनि

काठमाडौँ । ‘मजदुरका लागि मजदुर अभियान’ भन्ने नारा बोकेर विगत केही वर्षदेखि प्रवासी नेपाली श्रमिकहरुको स्वतन्त्ररूपमा प्रतिनिधित्व गर्दै आएको नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका अथवा कोरोना भाइरसको कारण अलपत्र श्रमिकहरुको उद्धार गर्न नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रुत प्रतिकार्य समूह (र्‍यापिड रेस्पोन्स टिम) तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजका प्रवक्ता विजय भूसालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा युएईमा दैनिक एउटा वाइडबडी उडान हुनुपर्ने त्यस्तै मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी उडान गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

नेपाललगायत विभिन्न मुलुकहरूमा कोरोना भाइरस कोभिड-१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरूको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, साउदी अरेबिया, युएई, कतार, बहराइन, ओमनलगायतका देशहरूमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरू र उक्त देशहरूमा कार्यरत रहँदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो आएपछि सरकारको ध्यानाकर्षण गराइएको हो ।

विज्ञप्तिमा युएईको हकमा प्रत्येक दिन एउटा वाइडबडी उडान हुनुपर्ने त्यस्तै मलेसिया र साउदीमा हप्तामा एउटा वाइडबडी र अन्य देशमा पनि आवश्यकताअनुसार उडानको व्यवस्था मिलाएर प्रतीक्षारत श्रमिक र मृतकका शवलाई अविलम्ब नेपाल फर्काउन संयन्त्र र नेपाल सरकारले तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ।

विगतमा झैँ यस वर्ष कुनै पनि देशमा रहेका श्रमिकहरू अलपत्र र भोकभोकै दयनीय अवस्थामा स्वदेश फर्किने दिन गन्दै बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिन अहिले नै नेपाल सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत माग गरिएको छ ।

मजदुर समाजका महासचिव समर्पण भट्टराईको सक्रियतामा संकलन गरिएको पछिल्लो जानकारीअनुसार युएईमा २ वटा शवसहित ४ देखि ५ हजारको सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन पाएका छैनन् । त्यसैगरी मलेसियामा पनि ३० वटाभन्दा बढी शवहरूसहित हजारौँ नेपाली स्वदेश फर्किन पाएका छैनन् भने साउदी अरेबियामा पनि १० वटाभन्दा बढी शवसहित हजारौँको सङ्ख्यामा नेपालीहरू प्रतीक्षारत रहेका छन् ।

त्यस्तै, कतारमा ५, कुवेतमा ३, बहराइनमा १ शवसहित सयौँ नेपाली श्रमिक स्वदेश फर्किने प्रतीक्षामा छन् । ओमनबाट पनि सयौँ नेपाली स्वदेश फर्किन चाहेका छन् । यस विषम परिस्थितिका बारेमा सरकार समयमै गम्भीर भएर कदम नचाले विगतको वर्ष जस्तै हजारौँ नेपाली विदेशमा अलपत्र पर्ने हुँदा सरकारको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष तेजबहादुर कार्कीले बताए ।

प्रतिकृया

मुख्य समाचार

कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया