चेपाङ गाउँमा अनिकाल : घरमा अन्न छैन जंगलमा कन्दमुल

अन‌ि यो पनि

धादिङ, २० जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ ।

जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको अधिक बसोवास रहेको छ । चेपाङ बसोवास रहेको जिल्लाको जोगीमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसलाई समेटेर वेनिघाट रोराङ गाउँपालिका बनाइएको छ । रोराङ शव्दको अर्थ चेपाङ भाषामा फुलबारी भन्ने हुन्छ ।

स्याउलाले छाएको घोचेबार भएको नाम मात्रको घरमा बस्दै आएका चेपाङहरुको घरमा चैत लागेदेखि कहिलेकाँही मात्रै घरमा खानेकुरा पाक्छ, धेरै छाक कन्दमूलको भर पर्नुपर्दछ । धादिङको महाभारत क्षेत्रमा पर्ने सबै चेपाङ बस्तीमा अनिकाल सुरु भएको छ । आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्र्नुपर्ने वाध्यता रहेको नेपाल चेपाङ संघ धादिङ अध्यक्ष भीमबहादुर चेपाङ बताउँछन । अध्यक्षका अनुसार ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान र सिस्नोका साथै गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुनालगायत कन्दमुलको भरमा चेपाङहरुले सास अड्याइरहेका छन् ।

‘चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।’ नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष चेपाङले भन्छन, ‘मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल हरेक बर्ष चेपाङ गाउँमा भोकमरी नै हुन्छ’ ।

कूलमान चेपाङ बेनीघाट रोराङ गाँउपालिका वडा नं.८ का निर्वाचित वडा सदस्य हुन । ६ जनाको परिवार भएका कुलमानको घरमा हिजोआज खाने कुराको अभाव छ । अघिल्लो बर्षमा पनि समस्या नभएको होइन ,यो बर्ष निषेधाज्ञा भएपछि झन समस्या थपिएको उनी बताउँछन् । ज्यालामजदुरी गरेर खानलाई बजार झर्न पाइएको छैन । हिडडुल गर्न नपाएपछि काम गर्न पनि पाइदैन । कमाई गर्ने आधार नभएपछि साहुसंग उधारो माग्न पनि अप्ठेरो भएको उनले वताए ।
कुलमानको गाउँमा कसै कसैको घरमा त सिस्नुमा मिसाउने पिठो पनि छैन । मेरो वडाको सवै चेपाङ परिवारहरुमा खानेचीजको अभाव सुरु भएको छ । यतिवेला चेपाङवस्तीमा खानेकुराको अभाव बढ्दै गएको छ । सिंगो गाउँमै अनिकाल लागेको छ । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उनले भने, ‘कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पनि राम्रोसँग पाइँदैन परिवारलाई के खुवाउने भन्ने चिन्ता गाउँलेहरुमा छ ।

महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिसहरु खाने कुराको खोजी गर्न जंगल जान थालेका छन् बेनीघाट रोराङ गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष विरबहादुर श्रेष्ठले बताए । घरमा खानेकुराको अभाव भएपछि चेपाङबस्तीमा घरपिच्छे मानिसहरु विरामी भएका छन् । पोषणयुक्त खाना त परै जावोस दुई छाक पेटभरी खान नपाउनेको संख्या आफ्नो वडामा तीन सय ५० चेपाङ परिवार रहेको वडाअध्यक्ष श्रेष्ठले वताए । अधिकांश चेपाङ परिवारलाई चैतदेखि साउनसम्म हरेक बर्ष अनिकालको समस्या हुन्छ ।

जिल्लाको यारवाङ, भारिङटार, जिरवाङ, केततुङ,दुङवाङ, जिरवाङ, धाङमाङ, साचाक, मिजार गाँउ र ब्रुसबाङ लगायतका चेपाङ बस्तीमा खानेकुराको अनिकाल फैलिएको चेपाङ संघका जिल्ला अध्यक्ष भिमबहादुरले वताए ।
चेपाङहरु पाँच जना देखि १४ जनासम्मको परिवार रहेको छ । गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको वन्दावन्दीले रासायनिक मल अभाव हुदाँ यहाँका चेपाङहरुले बारीको मकैमा मल हाल्न पाएनन् । मल नहालेका कारण मकै उव्जाउ पनि कम भयो ।

नेपाल चेपाङ संघ केन्द्रिय अध्यक्ष बेनिघाट रोराङ गाउँपालिकाकै वासिन्दा हुन । उनका अनुसार जिरवाङ, यारवाङ, भारिङटार र केततुङ गाँउका चेपाङहरु हरेक बर्ष बैशाख अन्तिम सातादेखि नै जंगली कन्दमुलको भरमा छाक छार्न बाध्य छन् । वर्षौ देखि चेपाङहरु भोक र रोगसंग मात्र लडिरहनु परेको छ । चेपाङले सम्वृद्धिका लागि लड्ने कहिले हो थाहा पाउन नसकेको र ३७ वर्षसम्म प्रजा विकास कार्यक्रम चल्यो तर ९९ प्रतिशत चेपाङहरुको अवस्था उस्तै रहेको अध्यक्ष चेपाङले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया