‘विपी मेमोरियल क्यान्सर अस्पताललाई कमजोर बनाउने षडयन्त्र’

अन‌ि यो पनि

भरतपुर । सरकारले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विभिन्न बहानामा कमजोर बनाउने षड्यन्त्र गरेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताएका छन्।  ‘विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई विभिन्न बहानामा कमजोर बनाउने सरकारी षड्यन्त्र किमार्थ स्वीकार्य छैन’, उनले भने ।

सरकारले भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई क्यान्सर रोगको अध्ययन अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी सोही संस्थानमातहत सञ्चालन गर्ने बताएपछि चितवनमा नेपाली कांग्रेसले सरकारको उक्त कदमप्रति विरोध जनाएको छ ।

भरतपुरको क्यान्सर अस्पताल आफैँमा ठूलो अस्पताल भएकोले यसलाई प्रतिष्ठान बनाएर सानो बनाउनु राम्रो नहुने उनको सुझाव छ । ‘विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नै एउटा सिङ्गो प्रतिष्ठान बनाउन सकिन्छ, त्यसैले कसैको मातहतमा राख्नु कुनै आवश्यक छैन’, उनले भने, ‘किनकि भोलि यही अस्पताललाई क्यान्सर विश्वविद्यालयको रुपमा समेत स्थापित गराउन सकिन्छ । त्यसैले, अरुको मातहतमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राख्न जरूरी छैन ।’

कांग्रेसका नेता विपी कोइरालाको नामसँग जोडिएकै कारण विरोध गरेको नभई सरकारको गलत योजनाको विरोध गरेको उनले बताए । यहाँको क्यान्सर अस्पतालले आफ्नै नेतृत्वमा अरु अस्पताल चलाउन सक्ने क्षमता भएकोले अन्य अस्पतालसँग जोडेर अर्कै प्रतिष्ठानको मातहतमा रहिरहनु आवश्यक नभएको उनको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने भरतपुरको क्यान्सर अस्पताललाई क्यान्सरका लागि अध्ययन अनुसन्धान केन्द्र बनाउनु नराम्रो नभएको प्रतिक्रिया दिए । ‘यो अस्पताललाई क्यान्सर इन्स्टिच्युट बनाउनुपर्छ भनेर हामीले पनि माग गर्दै आएका हौँ’, उनले भने, ‘यहाँको क्यान्सर अस्पताललाई केन्द्र मानेर बाँकी अस्पताललाई यसको मातहतमा चलाउन सक्ने गरी प्रतिष्ठान बनाउनु नराम्रो हो जस्तो लाग्दैन । तर, सरकारले बजेट भाषणमा समेटेकै आधारमा पक्ष र विपक्ष भनेर बोल्न सकिने अवस्था छैन, किनकि सरकारले गरेको निर्णयलाई हामीले मान्नुपर्ने हुन्छ ।’

डा. गौतमले सरकारले आन्तरिक तयारी के गरेको छ भन्ने विषयमा अहिल्यै जानकारी नभए पनि अस्पताललाई अध्ययन अनुसन्धान केन्द्र बनाउने कुराप्रति सकारात्मक प्रतिक्रिया दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया