माडीका खेतीयोग्य जमिन खण्डीकरण नगर्न खबरदारी !

अन‌ि यो पनि

माडी । दक्षिण चितवनको माडीमा खेतीयोग्य जमिनको व्यावसायिक कित्ताकाट र खण्डीकरण नगर्न स्थानीयले खबरदारी गरेका छन् । भूमाफियाको सक्रिय समूहहरुले सयौँ बिघा जमिनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएको भन्दै उनीहरुले भूमाफियाको पक्षपोषण हुने गरी काम नगर्न माडी नगरपालिकालाई सचेत तथा खबरदारी गरेका हुन् ।

भूमाफिया समूहले माडीस्थित मालपोत र नापी कार्यालयका प्रमुखहरुको हस्ताक्षरसमेत गराई कित्ताकाट र खण्डीकरण सिफारिसका लागि माडी नगरपालिकामा पेश गरेको कुरा बाहिरिएपछि माडी नगरपालिका एकाएक विवादमा तानिएको हो । स्थानीयहरुले नगरपालिकाका सम्बन्धित कर्मचारीले नगरपालिकाको मौजुदा नीतिविपरीत हुने भनी खण्डीकरणको फाइलमा हस्ताक्षर गर्न असहमति जनाएसँगै सो प्रकरण बाहिरिएको जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटी नगर इन्चार्ज दण्डपाणि पौडेल र नगर अध्यक्ष प्रभुप्रसाद महतोले विज्ञप्ति जारी गरी माडी नगरपालिकाको खेतीयोग्य जमिनलाई खण्डीकरण नगर्ने र नगराउने नीतिविपरीत चालू आर्थिक वर्षको अन्त्यमा त्यसप्रकारकों चलखेल भैरहेको भन्दै नगरपालिकासँगै मालपोत र नापी कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।

जग्गा खण्डीकरण र प्लटिङको कारोबार गरिआएको भूमाफिया समूहले आर्थिक प्रलोभनसहित माडी–३ धोबाहा, रतनी र पौहारीलगायतका दर्जनौँ गाउँमा कानुनविपरीत भूमिको खण्डीकरणमा लागेको भन्दै नेकपा एमाले चितवनका युवानेता रामप्रसाद न्यौपानेले मेयरको भनाइ र गराइमा फरक छुट्टयाउन अनुरोध गरेका छन् ।

कांग्रेसका नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले वक्तव्य जारी गर्दै खेतीयोग्य जमिन खण्डीकरण तथा सार्वजनिक जमिन आफ्नो नजिकका मान्छेलाई लिजमा दिएको विषयमा प्रश्न उठाएका छन् । नेपाली कांग्रेस माडी नगर समितिले नगरपालिकासामु जग्गा खण्डीकरण र आर्थिकलगायतका विषयमा उठेका प्रश्नहरुको उत्तर दिन माग गरेको छ । त्यस्तै, माडीको खेतीयोग्य जमिनको व्यावसायिक कित्ताकाट र खण्डीकरण नगर्न ध्यानाकर्षण गराइएको छ ।

यसबाहेक, वक्तव्यमा नगरपालिकालाई चुनावी नाराको पाराले अगाडि बढेको, वडा कार्यालयसँग समन्वय नगरेको, आफ्नै पाराले उपभोक्ता समिति गठन गरेको, आवश्यकताभन्दा धेरै कर्मचारी नियुक्ति गरी आर्थिक भार बढाएको, छलफल र अनुसन्धान नगरी लहडमै बजेट खर्च गर्ने गरेको, अनावश्यकरुपमा नगर प्रहरी राख्न खोजेको, प्रत्यक्षरुपमा जनता प्रभावित हुने गरी विकास हुन नसकेको तथा शिक्षा ऐन लागू गर्ने कुरामा कांग्रेसको सुझावलाई लत्याइएको आरोप लगाइएको छ ।

माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले कित्ताकाट सिफारिसको फाइल आफू संयोजक रहेको निर्देशक समितिमा निर्णायार्थ हालसम्म नआएको दाबी गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...