शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कछुवा गतिमा, चार वर्षसम्म कागजी काममा मात्रै सीमित

अन‌ि यो पनि

भरतपुर । चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको चार वर्ष तीन महिना पूरा भएको छ । चार वर्षसम्म औद्योगिक क्षेत्रको काम डिपिआरमा मात्र सीमित छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापनका प्रमुख नन्दकिशोर बस्नेतले शक्तिखोर औद्योगिक क्षेत्रको निर्माणको काम कत्ति पनि नभएको भन्ने कुरा स्वीकारेनन् । उनले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।’ उनले कोरोना भाइरसको सङ्क्रमण र वनको नीति–नियमका कारणले ढिला भएको बताए । प्रमुख बस्नेतले चितवन पोष्टसँगको कुराकानीमा भने, ‘काम अगाडि बढ्न नसकेको वनका कारणले हो, पछिल्लो समय कोरोनाको कारणले हो ।’

चार वर्षसम्म कागजी काममा मात्र सीमित हुँदा औद्योगिक क्षेत्र अघि बढ्नेमा शङ्काहरु बढ्न थालेका छन् । चार वर्षभित्रमा औद्योगिक क्षेत्र पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य राखिए पनि हालसम्म कागजमै सीमित हुँदा कालिका नगरपालिकासमेत अन्योलमा परेको छ ।
कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठ ‘गोपी’ले भने, ‘यसपटक शक्तिखोर औद्योगिक क्षेत्रलाई बजेट परेन, फिल्डमा काम भएको देखिएको छैन । यसको प्रक्रिया कहाँसम्म पुगेको छ, मैले पनि बुझ्न बाँकी छ ।’

स्थानीयवासी तथा उद्योगी शक्तिखोर औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्दा निराश बनेका छन् । शक्तिखोर क्षेत्रको १ हजार १ सय ७८ हेक्टर जमिनलाई प्रयोग गरेर औद्योगिक क्षेत्र बनाउने घोषणा सरकारले गरेको थियो । कालिका नगरपालिकाको वडा नं–३, ८, ७ र इच्छाकामनाको वडा नं–७ लाई छोएर औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो ।

कालिका वडा नं–३ का वडाध्यक्ष टीकाराज रिजाल शक्तिखोर औद्योगिक क्षेत्रको कुनै काम नभएको बताउँछन् । उनी भन्छन्, ‘तत्कालीन समयमा हाम्रै नगरमा देशकै ठूलो आयोजना बन्न लाग्यो भनेर धेरै खुसी भएका थियौँ, अहिले निराश भएका छौँ । काम अघि बढेको देखिँदैन ।’ उनका अनुसार कागजमा काम भए÷नभएको थाहा नभएको र फिल्डमा कुनै काम हुन सकेको छैन ।

‘चार वर्षअघि शक्तिखोर औद्योगिक क्षेत्र बन्ने घोषणा हुँदा यो क्षेत्र जस्तो थियो अहिले त्यस्तै छ, गत वर्षहरुमा बजेट परेको सुनिन्थ्यो, अहिले त त्यो पनि छैन’, उनले भने, ‘आफ्नै पालामा बन्छ भन्ने कत्रो आशा थियो, सबै निराशामा बदलियो ।’ औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार १ हजार ७ सय ४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बन्न लागेको हो । यहाँ करिब २ लाख ५० हजारको हाराहारीमा रुखहरु छन् । यी रुखहरु कटानको काम अघि बढ्न सकेको छैन ।

व्यवस्थापनका प्रमुख बस्नेतले भने, ‘नेपालमा कति आयोजनाहरु वनका कारण अगाडि बढ्न सकेका छैनन्, शक्तिखोर औद्योगिक क्षेत्र पनि यसको सिकार भएको हो । पछिल्लो समय कोरोनाले थला पारेको छ । कोरोनाको समस्या समाधान भएपछि यसको शिलान्यास गर्छौं ।’ कोरोनाको सङ्क्रमणका कारण शिलान्यासका कार्यक्रम रोकिएको उनी बताउँछन् ।

बस्नेतले अर्थमन्त्रीको भाषणमा शक्तिखोर औद्योगिक क्षेत्रलाई बजेट परेको नसुनिए पनि रातो किताबमा बजेट रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘शक्तिखोरसहित देशभरका ७ वटा औद्योगिक क्षेत्रलाई ६० करोड बजेट परेको छ ।’

उद्योग संघ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडीका अनुसार शिलान्यास गर्ने तयारी हुँदाहुँदै देशमा भएको राजनीतिक उतारचढावले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोकिएको बताए । उनले भने, ‘कागजको काम त पूरा भएको छ, तर कति रुख कटान गर्ने, कति रोप्ने यसका प्रक्रियाहरु अघि बढेको छैन ।’ उनले पनि कोरोना भाइरसका कारण निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए ।

‘डिभिजन वन कार्यालयको पर्याप्त कमजोरी नहुँदा, वनको प्रक्रिया लामो र झन्झटिलो हुँदा र पछिल्लो समय कोरोनाको प्रभावले यसको काम अघि नबढेको हो । चितवन उद्योग संघ निरन्तर लागिरहेको छ’, संघका पूर्वअध्यक्ष दुवाडीले भने, ‘नियतवश कसैबाट ढिलो भएको देखिँदैन, तर कामले तीव्रता नपाएको सत्य हो ।’ डिपिआर सकिएको पनि दुई वर्ष पूरा भएको उनी बताउँछन् ।

‘उनले रुख कटानको टेन्डरमात्रै लगाएको भए यतिबेला काम भइरहने थियो, त्यो पनि हुन सकेन’, उनले भने, ‘कुनै आयोजना सम्पन्न गर्न ढिलो गर्ने नेपालको राजनीतिक प्रणाली नै छ, यहाँ पनि त्यही देखियो ।’

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया