कोरोना भाइरसको दोस्रो लहरमा देखिएका फरक लक्षणहरु

अन‌ि यो पनि

–सुदीप घिमिरे

सामान्यतया ज्वरो, रूघा, खोकी, स्वाद र वासना हराउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरु देखिए त्यसलाई कोरोना सङ्क्रमण मानिन्छ । कोरोना महामारीको पहिलो लहरमा यस्ता लक्षणहरु देखिए व्यक्तिहरुले सजिलै कोरोना सङ्क्रमण भयो भनी पहिचान गर्थे । परीक्षणका लागि जाने गर्ने काममा नागरिकमा सचेतना बढेको थियो । दोस्रो लहर आयो । त्यो घातक छ भन्ने सबैलाई थाहा छ । पहिलेको भन्दा दोस्रो लहरमा कस्ता लक्षणहरु देखिएका छन्, उस्तै वा फरक ? पहिचान कसरी गर्ने भन्नेमा अन्योल देखिएको छ । दोस्रो लहरले वृद्धवृद्धामात्रै नभई युवावर्गलाई बढी सङ्क्रमित बनाएको छ ।

सङ्क्रमितहरुसँग गरिएको प्रारम्भिक कुराकानी र राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुसन्धानका तथ्यहरुलाई आधार मान्दा पहिलेको भन्दा यसपटकको महामारीमा भिन्न लक्षणहरु देखिएका छन् । कोरोना परीक्षण गर्नभन्दा पहिले प्रायः व्यक्तिहरुले थकान महसुस गरेका छन् । थकान सामान्यभन्दा फरक छ, जसलाई शव्दमा व्याख्या गर्न कठिन छ । बेलायत र भारतबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले पनि कमजोरी महसुस हुनु सुरूको लक्षण हो भनेका छन् । घाँटी दुखेको महसुस हुनु, घाँटी चिलाउनु, खाना खाने समयमा खानाहरु निल्न कठिन हुनेजस्ता लक्षणहरु धेरैभन्दा धेरै व्यक्तिले अनुभव गरिरहेका छन् । बेलायतमा गरिएको एक अध्ययनले दोस्रो लहरमा ५२ प्रतिशत व्यक्तिहरुले घाँटीमा अप्ठ्यारो भएको महसुस गरेको बताएका छन् ।

यसको मुख्य कारण खाना खाने क्रममा आवश्यक ¥याल नआएका कारण खाना निल्न असजिलो हुनु हो । कोरोनाको सङ्क्रमणले गर्दा चाहिने मात्रामा ¥यालहरु आउन बाधक बनाइदिन्छ । मुख सुख्खा भई खाना निल्नमा कठिनाइ हुन्छ । चपाउन र निल्न कठिन भएपछि शरीरलाई चाहिने शक्ति प्राप्त हुँदैन, शरीर थप कमजोर बन्दै जानेछ । त्यसैगरी, शरीरका विभिन्न भागहरु लगातार दुख्ने, जोर्नीहरु दुख्ने, मांसपेशीहरु दुख्नेजस्ता शारीरिक लक्षणहरु भेटिएका छन् । शरीर दुख्नुको मुख्य कारण शरीरका तन्तुहरुमा भाइरसको आक्रमण हुनु हो । त्यसैगरी, खोकीसँगै व्यक्तिहरुमा ज्वरो, रूघाका लक्षणहरु भेटिएका छन् । सामान्यभन्दा फरक तरिकाले रूघाखोकी लागिरहेको छ भने कोरोनाको सङ्क्रमण हुन सक्छ । केही बालबालिकाहरुमा भने वाकवाकी लाग्ने, बान्ता हुन खोज्नेजस्ता लक्षणहरु भेटिएका छन् । सुख्खा खोकीसँगै केही सङ्क्रमितहरुमा रगतका धब्बाहरु देखिने गरेका छन् । यस्ता लक्षणहरु व्यक्तिपिच्छे फरक–फरक नै देखिएका छन् । किङ्स कलेज बेलायतका प्राध्यापक टिम स्पेक्टरका अनुसार ५ जनामध्ये एक जनामा भने देखिएका यस्ता लक्षणहरुभन्दा नै देखिने गरेको पाइएको छ । तपाईं वा आफन्तलाई यस्ता लक्षणहरु देखिएको अवस्थामा धेरै चिन्तित हुनुपर्छ भन्ने छैन, परीक्षण गर्ने र घरमै सुरक्षित रहनुपर्छ ।

मनोवैज्ञानिक पक्षलाई अध्ययन गर्दा पहिलो लहरमा व्यक्तिहरुमा डर, चिन्ता बढी थियो । अन्योलता थियो । रोगको औषधि थिएन । आफूलाई सुरक्षित रहने उपाय व्यक्तिहरुले सिकेका थिए । वृद्धवृद्धा र शारीरिक समस्या भएका व्यक्तिहरुलाई जोखिमको डर बढी थियो । अहिले वृद्धवृद्धाहरुलाई सङ्क्रमणको जोखिम कायमै छ भने युवाहरुमा सङ्क्रमणले बढी नै प्रभावित बनाएको छ । निधन हुने संख्यामा पनि युवावर्ग नै बढी रहेका छन् । त्यसैले, सङ्क्रमित हुनेहरुमा मनोवैज्ञानिक समस्याहरु बढ्न थालेका छन् । मन चिसो हुने, छटपटी हुने, डर लाग्ने, निद्रामा गडबडी हुनेजस्ता समस्याहरु व्यक्तिमा बढ्न थालेको छ । भारतमा देखिएका तथ्यहरुलाई आधार मान्दा दोस्रो लहरमा बढी आइसियू केयर, अक्सिजन सिलिन्डर र भेन्टिलेटरको जरूरी रहेको जनाइएको छ । भारतको मेडिकल काउन्सिलले हालै गरेको एक अध्ययनका अनुसार अहिले १९ वर्षभन्दा तल, २० देखि २४ वर्षबीचका, ३० वर्षमाथिको उमेर समूहमा रहेका व्यक्तिहरुको सङ्क्रमण दर गत वर्षभन्दा ह्वात्तै बढेको छ । गत वर्ष यो उमेर समूहको सङ्क्रमण दर तुलनात्मकरुपमा धेरै कम थियो । भारतमा सङ्क्रमित व्यक्तिहरुमध्ये ५४ प्रतिशतलाई अक्सिजनको व्यवस्था गर्नु परेको जनाइएको छ । गत वर्ष भारतमा सङ्क्रमितहरुलाई अस्पताल भर्ना गर्नुपर्ने संख्या ४० प्रतिशतमात्रै थियो । दोस्रो लहरमा बढीजसो श्वासप्रश्वासमा समस्या देखिएको छ । त्यसैले गर्दा भारतमा अक्सिजन सिलिन्डरको माग बढेको पाइन्छ । भारत सरकारलाई कोरोनाको व्यवस्थापनमा हम्मेहम्मे भएको छ । भारतसँगै नेपालमा सङ्क्रमणको दर ह्वात्तै बढेको छ । काठमाडौँ एवं तराईका केही जिल्लाहरुमा अस्पतालहरु भरिएका छन् । सङ्क्रमित धेरै युवाहरुलाई समेत अक्सिजनको सहायता चाहिने भएको डाक्टरहरुले बताएका छन् । हालको सङ्क्रमण व्यवस्थापन गर्न सरकारले निम्नलिखित पक्षहरुमा ध्यान दिनुपर्ने देखिन्छ :

१) सङ्क्रमणको दोस्रो लहरको व्यवस्थापन गर्न सरकारले पहिलो प्राथमिकता खोपलाई दिनुपर्छ । बेलायतमा हालै ३ लाख ५० हजार सङ्क्रमित व्यक्तिहरुमा गरिएको एक अध्ययनले ६५ प्रतिशत व्यक्तिलाई कोरोना भाइरसको पहिलो खोपले सङ्क्रमण घटाएको जनाइएको छ । उनीहरुका अनुसार खोप लगाएको २१ दिनमै शरीरले प्रतिरोधात्मक शक्ति बढाएको उल्लेख छ । खोपको दोस्रो डोजले धेरै सङ्क्रमण घटाएको पत्ता लागेको छ । प्रतिरोधात्मक क्षमता कति बढायो र कहिलेसम्म शरीरले कोरोना भाइरससँग जुध्न सक्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ । त्यसैले, सरकारको पहिलो काम हरेक नागरिक र व्यक्तिहरुलाई कोरोनाको खोप दिनु हो ।

२) नेपालको उत्तर सिमाना चीनसँग जोडिएको छ । खुला सिमाना नभएका कारण गत वर्ष चीनले कोरोनाको जति पीडा खेपे पनि त्यसको प्रभाव नेपालमा पर्न दिएन । तर, भारतसँग नेपालको १८ सय किलोमिटरभन्दा बढी सीमाहरु खुला छन् । भारत विश्वकै पहिलो कोरोना सङ्क्रमणको केन्द्रबिन्दु भइरहेको छ । महाराष्ट्र, कर्नाटक, नयाँदिल्लीमा लकडाउन भइरहेको छ । लकडाउनका कारण नेपालीहरु घर फक्र्रने क्रम बढेको छ । सिमाना खुला छ । सजिलै नेपालीहरु सीमा वार र पार गर्न सक्छन् । सबैलाई परीक्षण गर्न सम्भव छैन । भएका परीक्षण केन्द्रहरु प्रभावकारी छैनन् । सीमा बन्द गर्दा भारत सरकार रिसाउला भन्ने डर नेपाली नेताहरुलाई छ । उही सङ्क्रमणको पीडा नेपालमा स¥यो भने राम राम भन्नुबाहेक अरु विकल्प केही हुँदैन । त्यसैले, सरकारले जनताका स्वास्थ्यमा बढी चासो दिने हो भने पहिलो सीमा क्षेत्रहरुमा कडाइ गर्नुपर्छ । राजधानीलगायतका जिल्लाहरुमा कडा गरेर के हुन्छ ? सङ्क्रमणको मुहान खुला छ । चीनको बन्द सीमाबाट नेपाली नेताहरुले पाठ सिक्नु जरूरी छ ।

३) गत वर्षदेखि कोरोनाको अनुभूति सबै नेपालीहरुलाई भइरहेको छ । महामारीपछि कुन क्षेत्रमा कस्ता संरचनाहरु छन्, कुन अस्पतालको कति क्षमता छ । सङ्क्रमणको शङ्का लागेपछि नगरपालिका, गाउँपालिकास्तरमा कसलाई सम्पर्क राख्ने ? कसले कसरी सहयोग गर्छ भन्ने प्रस्ट नीति–नियम बनाइनुपर्छ । गत वर्षको महामारीबाट के–कस्तो क्षति भयो ? के–कस्ता सिकाइहरु भए ? आगामी वर्ष फेरि यस्तै महामारी आएको खण्डमा दीर्घकालीन नीति, कार्यनीति कसरी परिमार्जन गर्न सकिन्छ भनेर सरकारले विश्लेषण गर्नुपर्ने थियो, तर त्यो हुन सकेन । अझै पनि सर्वपक्षीय भेला गरी सरकार, निजी क्षेत्रको योगदानलाई बिसर्न हुँदैन । सरकार एक्लैले सङ्कटको व्यवस्थापन गर्न सक्दैन । त्यसैले, सबै पक्षको धारणा लिएर आपतकालीन योजना बनाई लागू गरिनुपर्छ ।

४) परीक्षण, पहिचान भएका व्यक्तिहरुको एकान्तवासको व्यवस्था, खोप र आपतकालीन उपचारको प्रबन्ध गर्नु सरकारको दायित्व हो । कोरोना सङ्क्रमणको सुरूको चरणमा पनि आफ्नै सरकार टिकाउने, सत्तापक्षकै नेताहरुको विचार र भावनाहरु नमिल्दा सरकार विवादमा फसेको थियो । फेरि कोरोनाको दोसो लहर आएपछि पनि सरकार आफ्नो बचाउ गर्न लागिपरेको छ । प्रदेश सरकारका प्राथमिकताहरु प्नि आफ्नो सत्ता टिकाउनमा केन्द्रित छन् । जनताको स्वास्थ्य प्राथमिकताको विषय बनेको छैन । नयाँ लहरले पेल्न थालेपछि त्यसबाट पार पाउन नेपाली जनताले ठूलै क्षतिको सामना गर्नुपर्छ । नयाँ सङ्क्रमण पुरानोको दाँजोमा कडा भएकाले सरकारले बढी चनाखो हुनुपर्ने बेला आएको छ । रोग लागेपछि उपचार खोज्नुभन्दा रोग नलाग्ने वातावरण निर्माण गर्नु बुद्धिमानी हुनेछ । त्यसैले परीक्षण, टे«सिङका लागि सरकारले समुदायका अन्य स्वयंसेवकहरुलाई परिचालन गर्न सक्छ । स्वास्थ्यकर्मीलाई मात्र जिम्मा दिएको खण्डमा स्वास्थ्यकर्मी नै सङ्क्रमित भएमा उपचारको प्रबन्ध गर्न झनै कठिन हुनेछ ।

५) सङ्क्रमणको दर बढ्दै गएमा सामाजिक, आर्थिक क्रियाकलापहरु बन्द हुनेछन् । त्यसको प्रत्यक्ष मार दैनिक जीवनयापन गरेर आश्रित रहने श्रमिक र उनको परिवारलाई पर्दछ । भारतमा सङ्क्रमण बढ्दा त्यसको प्रभाव नेपालमा पनि पर्दै जानेछ । खाद्यान्न र औषधिमा समस्या पर्नेछ । नेपालमा आपतकालीन अवस्थामा नागरिकको बाँच्ने, खाने र सुरक्षाको अधिकारलाई संरक्षण गर्न सरकार चुकिरहेको छ । त्यसैले, सरकारले नागरिकको हितका लागि औषधिमुलो र खाद्यान्नलाई पहिलो प्राथमिकता बनाउनुपर्छ । धरहरा, पार्टीपौवा फुर्सदमा बनाइने योजना हुन् । असहज अवस्थामा जनताको जीउधन पहिलो प्राथमिकता बन्नुपर्छ । विपत्तिजन्य अवस्थाले नागरिकमा पारेको प्रभावलाई कम गर्न आर्थिक र सामाजिक नीति, कार्यानीतिहरु अगाडि बढाउन जरूरी छ ।

६) नागरिकका गतिविधिहरु रोकिएपछि तनाव, चिन्ता बढ्छ । गत वर्ष लकडाउन सुरू भएको एक महिना नबित्दै आत्महत्या गर्नेको संख्या २० प्रतिशतले बढेको थियो । त्यही क्रमले फेरि निरन्तरता पाउन थालेको छ । त्यसैले हरेक क्वारेन्टिन, एकान्तवास र अस्पतालहरुमा मनोपरामर्शको व्यवस्था गरिनुपर्छ । घरभित्र बस्न नसक्दा व्यक्तिहरुलाई उकुसमुकुस भएको थियो । व्यक्तिहरुमा डर, चिन्ता र अनिश्चितता बढेको थियो । आर्थिक समस्याका कारण घरेलु हिंसा, पारिवारिक सम्बन्धमा कठिनाइ, उदासीनताका समस्याहरु बढेका थिए । फलस्वरुप, व्यक्तिहरुमा निद्राको समस्या, शारीरिक दुर्बलता, बढी नै सतर्क रहने, व्यक्तिगत सुरक्षाको डर, बढी नै चिन्ता, उदासीनताका लक्षणहरु देखिएका थिए ।

७) कोरोना वा अन्य विषयसँग सम्बन्धित सूचनाहरु पाउने नागरिकको अधिकार हो, त्यसैले सूचना प्रकाशन र प्रसारणका लागि सरकारले सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्छ ।

८) निषेधाज्ञाले मात्र कोरोनाको सङ्क्रमण कम हुँदैन । त्यसैले सचेतना, सुरक्षाको उपाय, उपचारको व्यवस्था र खोपलाई मिलाएर लैजानुपर्छ । सरकार, नागरिक समाज, निजी संस्थाहरुको परिचालन जरूरी छ । नागरिकलाई सकारात्मक सन्देश जाने सूचनाहरु सरकार, दलका नेतृत्व वर्गहरुले गरिरहनुपर्छ । यो बेला एकले अर्कोको खुट्टा तान्नेभन्दा सहयोगी भूमिकाका निम्ति लागिपरौँ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया