कोरोनाको तेस्रो लहरको खतरा

अन‌ि यो पनि

नेपालमा कोरोनाको दोस्रो लहरको प्रभावले निरन्तरता पाइरहेकै छ, यद्यपि सङ्क्रमण दर र मृत्युदरमा भने क्रमशः कमी आइरहेको देखिन्छ । यसको अर्थ यो होइन कि कोरोना महामारी अब पूरै नियन्त्रण उन्मुख छ । महामारीको दोस्रो लहरले नै जनजीवनलाई अस्तव्यस्त बनाइरहेकै अवस्थामा त्यसको तेस्रो लहर पनि आउने वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् । तेस्रो लहर पहिलो र दोस्रोभन्दा निकै घातक हुने र त्यसले पु¥याउने क्षतिको आँकलन गर्न अहिले नसकिने भन्ने सन्दर्भका कारण हाल एकप्रकारले पूरै विश्वलाई नै तरङ्गित बनाइरहेको छ । केही समयअघि भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के. विजय राघवनले कोरोनाको दोस्रो लहर अब उच्च बिन्दुबाट पछि फर्किरहेको भए पनि केही महिनापछाडि त्यसको तेस्रो लहर सुरू हुने भनेर पत्रकार सम्मेलनमा नै उद्घोष गरेका थिए, जुन भनाइलाई अविश्वास गर्न सकिने आधार छैन । किनकि, अहिले युरोपका केही देशहरुमा कोरोनाको तेस्रो लहर आउन थालेको बिबिसीलगायतका सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । यसले विश्वभर नै एक किसिमको चिन्तालाई बढाउन पुगेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहरले ठूलो क्षति पु¥याइसकेको देखिए पनि त्यसलाई लिएर अझै गम्भीरता र संवेदनशीलता देखा पर्न सकेको छैन । न सर्वसाधारणहरुमा डरत्रास छ न सरकारी निकायले लिनुपर्ने जिम्मेवारीमा गरूङ्गोपनको आभाष हुन्छ । हालको दोस्रो लहरको सङक्रमण केही हदसम्म न्यूनीकरण हुँदै गएको अवस्था भए पनि भोलिका दिनमा आउने भनिएको तेस्रो लहरलाई लिएर देशमा कुनै चिन्ता र चासो व्यक्त हुन नसक्नु विडम्बनापूर्ण लाग्छ । हालको अवस्थामा बिरामीहरुको सङ्ख्या कम हुँदै जाँदा अक्सिजनको उपलब्धता रहेको, बेडहरुको पर्याप्तता देखिएको, आइसियू र भेन्टिलेटरहरुको अभाव हुन छोडेको स्थिति कायम रहे पनि भोलिका दिनमा आइपर्ने खतरालाई लिएर अहिले नै तयारी थालिएन भने पछि पछुताउनुसिवाय अरु केही बाँकी रहँदैन । कोरोनाको तेस्रो लहर पहिलो र दोस्रोभन्दा निकै घातक हुने भनेर सार्वजनिक भैरहेका रिपोर्टहरुलाई कम आँक्नु भूल हुनेछ । स्पेनिस फ्लुमा समेत तेस्रो लहरको प्रकोप असोचनीय देखिएको उदाहरण हाम्रासामु उपलब्ध छन् ।

कोरोना नयाँ–नयाँ प्रजातिका रुपमा फैलिरहेको छ । एकपछि अर्को प्रजाति घातक बनिरहेको अवस्थामा नयाँ प्रजाति देशमा फैलन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । हिजो गरिएको तयारीले भोलिका दिनमा आउने चुनौतीहरुलाई सामना गर्न सक्दैन । सधैँ उही साबुनपानीले हात धुने, दूरी कायम गर्ने र मास्क लगाउने भनेरमात्रै समस्याहरुको समाधान हुन सक्दैन । भोलिका दिनमा सङ्क्रमणले उग्र रुप लिन पुगेको अवस्थामा बिनास्वास्थ्य पूर्वाधार महामारीसँग लडाइँ लड्नु मनोकल्पित कुरा हुन्छ । सावधानी अपनाउनु आफ्नो ठाउँमा सही होला, तर सर्वसाधारणको ज्यान बचाउनु सरकारको अहं र प्रमुख दायित्व हो । हिजोका दिनमा अक्सिजनको अभावमा धेरै नागरिकले ज्यान गुमाएका प्रमाणहरु छन्, भोलिका दिनमा त्यस्तो अवस्था आउन नदिन पनि अहिलेदेखि नै स्वास्थ्य पूर्वाधारहरुको निर्माणमा लाग्नुपर्ने देखिन्छ । सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका उपायहरु प्रभावकारी हुन्छन् त्यसमा शङ्का छैन, त्यसका बाबजुद पनि देशमा स्वास्थ्य पूर्वाधारहरु अत्यन्तै सबल र सक्षम हुनुपर्ने अहिलेको अपरिहार्य आवश्यकता बनिसकेको छ । स्वास्थ्य प्रणालीलाई शक्तिशाली बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने जरूरत छ, ताकि भोलिका दिनमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहरले कमभन्दा कम क्षति पु¥याउन सकोस् ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया