हामी सजग हुन सकेनौँ

अन‌ि यो पनि

पृष्ठभूमि

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणका कारण २०७६ चैत्र ११ देखि करिब चार महिनाको लामो अवधि बन्दाबन्दी, निषेधाज्ञा, कफ्र्यु आदि नाममा कानुनको प्रयोग भई कुनै न कुनैरुपमा मानवीय आवागमनलाई रोक्ने काम भएको हाम्रोसामु छर्लङ्ग छ । सङ्क्रमणको सम्भावना यथावत् नै रहे पनि बिस्तारै तङ्ग्रिँदै, बामे सर्दै दैनिकीहरु अगाडि बढाइयो र बिग्रेको आर्थिक अवस्थालाई पुनः यथाशक्य सुुधार गरी बाँच्ने अभिलाषासहित यात्रा तय गरेको अवस्थामा पुनः अर्को भेरियन्टको सङ्क्रमणको चपेटामा प¥यौँ । बेलायतमा देखिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण छिमेकी भारतमा दिन दुई गुणा रात चौगुणाका दरमा फैलिई केही समयअघिसम्म दैनिक चार लाखभन्दा बढीको सङ्क्रमणका साथ तीव्र गतिमा अगाडि बढेको हामीले पायौँ । त्यसको असर नेपालमा पनि देखिई सङ्क्रमणको दरमा बढोत्तरी भैरह्यो । दैनिक करिब आठ हजारभन्दा धेरै सङ्क्रमित देखिनुका साथै सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या पनि २०० नाघेकोले कतिबेला के हुने हो भन्ने त्रास उत्पन्न भैरह्यो ।

भोलि के हुने हो भन्ने चिन्ता सबैलाई भए पनि भोलिको सम्भावित दुर्घटनालाई टार्न मैले के गर्नुपर्ने भन्ने कुरामा हामी धेरै सचेत हुन सकेका भने छैनौँ । भनिन्छ नि ‘निदाएकालाई ब्युँझाउन पो सकिन्छ, निदाएको अभिनय गर्नेलाई कहाँ ब्युँझाउन सकिन्छ र ?’ यस्तै भएको छ अहिले । हामी सबैलाई कोरोना सङ्क्रमणबाट हुन सक्ने क्षतिको बारेमा जानकारी छ, सङ्क्रमणको समयमा हुन सक्ने शारीरिक र मानसिक कठिनाइका बारेमा पनि जानकारी छ, हाम्रो देशको स्वास्थ्य प्रणालीको अवस्था र कोरोनाविरूद्धको तयारीबारे पनि जानकारी छ, अनि राज्यले लगाउन सक्ने कानुनी बन्देज र सोबाट हामीलाई पर्ने प्रभावका वारेमा पनि जानकारी छ । सबै कुराको जानकारी हुँदा पनि हामीमा सजगता, संयमताको पालनाचाहिँ भएको छैन, जुन अत्यन्त दुःखद छ ।

नेपाल सरकारका आदेश

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसवर्षका लागि गत वैशाख ६ गते राजपत्रमा सूचना प्रकाशित गरी उपत्यकाका तीन जिल्ला र भरतपुरसहितका अरु धेरै सहरमा शैक्षिक संस्था तथा शैक्षिक क्रियाकलाप हुने स्थानहरुमा भौतिकरुपमा उपस्थित नहुने, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशाला बन्द गर्ने, मठ, मन्दिर, मस्दिज, गुम्बा, चर्च आदिमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने, सपिङ मल तथा डिपार्टमेन्टल स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी जम्मा नहुने र २ मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइज गर्ने, मेलामहोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी आदि परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरुमा २५ जनाभन्दा बढीको उपस्थिति नहुने गरी प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृतिको व्यवस्था, सभा–सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण आदि यथासम्भव भर्चुअल र भौतिकरुपमा गर्नैपर्ने भएमा २५ जनाभन्दा बढीको सहभागिता नहुने व्यवस्था, सार्वजनिक सवारीले सिट क्षमता, मास्क अनिवार्य, स्यानिटाइजरको प्रयोग र बीचमा यात्रु नथप्ने व्यवस्था, आन्तरिक उडानका समेत यथोचित व्यवस्था, कार्यालय, पसलजस्ता सार्वजनिक स्थलहरुमा मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग, मास्क नलगाउनेलाई प्रवेश निषेध, होटल सञ्चालनको समय निर्धारण र सुरक्षा व्यवस्थाका अन्य नियमहरु लगायत विभिन्न प्रकारका व्यवस्थापन गरेको थियो । सरकारबाट जारी यी व्यवस्थाहरुको पालना र कार्यान्वयन पक्षमा देखिएको उदासीनताका कारण कोरोना सङ्क्रमण आशातीतरुपमा घट्न सकेन र झनै बढेर डरलाग्दो हुँदै गयो ।

यसपछि वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन प्रत्येक जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्दै पहाडी र हिमाली जिल्लामा २०० तथा काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितको संख्या पुगेमा जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी पन्ध्र दिनका लागि निषेधाज्ञाको आदेश जारी गर्न सक्ने निर्णय गरेकोले जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि अर्को निषेधाज्ञा जारी ग¥यो । यसै समयमा राज्यले थप आदेशहरु जारी गर्दै सीमा नाकामा कडाइ र विदेशी नागरिकको आवागमन बन्द, हवाई उडान बन्द ग¥यो । कुनै पनि नागरिक स्वास्थ्य सुविधावाट वञ्चित हुन नपरोस्, महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील भई सोको व्यवस्थापनमा लागिरहेको र नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको भन्दै प्रधानमन्त्रीले त्यसपछि देशका नाममा सम्बोधनसमेत गरेका थिए ।

निषेधाज्ञाको अवधिमा अत्यावश्क कामबाहेक कोही पनि घरबाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्ने, सबै प्रकारका सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा हल, पार्टी प्यालेस हेल्थ क्लब, दोहोरी रेस्टुरेन्ट, फन पार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसल आदि सञ्चालन नगर्ने, विद्यालय/क्याम्पसमा भौतिक उपस्थितिमा हुने पठनपाठन तथा परीक्षा सञ्चालन नगर्ने, विवाह÷व्रतबन्धमा १५ जना, मृत्यु संस्कार आदिमा सहभागी हुने सवारीका लागि स्वीकृति आवश्यक पर्ने, सवारीसाधन तथा मठमन्दिरसमेत सञ्चालन गर्न नपाइने भन्ने आदेश जारी हुनुका साथै सवारी पाससमेत वितरण नहुने, सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा बन्द भए पनि सर्वसाधारणको सुविधाका लागि जनस्वास्थ्यसँग सम्बन्धित सेवा चौबिसै घन्टा खुला हुने गरी तरकारी, फलफूल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामग्रीसम्बन्धी पसल व्यवसायहरु बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था ग¥यो ।

वर्तमान परिदृश्य

भारतमा देखिएको कोभिड–१९ को दोस्रो लहरको प्रभाव नेपालमा नभित्रियोस्, प्रवेश गरे पनि असर कम होस्, समुदायस्तरमा सङ्क्रमण नफैलियोस्, शङ्का लागेका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको सहज र सुलभ परीक्षण गर्न पाइयोस्, आइसोलेसनको उचित प्रबन्ध होस्, पर्याप्त मात्रामा अस्पतालको व्यवस्था होस् र अस्पतालमा उचित व्यवस्थापन पनि होस्, अस्पताल पुगेपछि सामान्य सुविधा पनि नपाएर मर्न नपरोस्, खोप आयात प्रक्रिया छोटो मार्गबाट छिटो होस्, सबैले खोप लगाउन पाइयोस् भन्ने सबैको सदिच्छाका बाबजुद पनि सङ्क्रमणलाई रोक्न र थेग्न सकिएन । यसमा सरकारका के कमजोरी भए, हाम्रा के कमजोरी भए भनेर समयले मूल्याङ्कन गर्ला तर दुःखको कुरा, घरघरमा सङ्क्रमण पुगेको छ अहिले ।

यसै सन्दर्भमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १७ गते सर्वसाधारणमा अपिल जारी गर्दै चितवनलगायतका २२ जिल्लालाई अतिप्रभावित जिल्लाहरुको सूचीमा राखी डरलाग्दो गरी सङ्क्रमण फैलिएकोले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने, अस्पतालमा शøया उपलब्ध गराउन नसकिने भइसकेकोले थप संवेदनशील हुन भन्दै अनुरोध गर्न बाध्य भएको पाइयो । एकातिर हामी निषेधाज्ञाको आदेशको अवधिमा छौँ, अर्कोतिर सङ्क्रमणको फैलावटलाई देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्ने स्पष्ट पारिएको पनि छ । यस्तो अवस्थामा पनि हामी संवेदनशील र सचेत भएनौँ भने अब राम राम भन्नुको विकल्प केही होला र ? हामीले अहिले हाम्रा कामहरुमध्ये आवश्यक र अत्यावश्यक कामलाई प्राथमिकीकरण गर्नुपर्छ । अत्यावश्यक काम पूरा गर्नैपर्छ र पूरा गर्ने व्यवस्था राज्यका तर्फबाट हुुनुपर्छ । तर, आवश्यक काम त निषेधाज्ञा समाप्त भएपछि र सङ्क्रमणको गति शान्त भएपछि गरे पनि हुन्छ । कसैले आफ्ना आवश्यक काम पूरा गर्न खोज्दा अन्य कसैका अत्यावश्यक काम पूरा नहुने पनि हुन सक्छ । यस्तो समयमा सबैले संयमित भएर व्यवहार गर्नुपर्छ । धेरै आत्तिएर, मनमा तनाव लिएर, छटपटिएरमात्रै समस्याको समाधान हुँदैन, बरू अर्को शारीरिक÷ मानसिक रोग निम्तिन सक्छ ।

संयमित र धैर्य भएर यो विषम समयलाई सजगताका साथ स्वीकार गरी आफूलाई स्वअनुशासनमा बाँध्न सके सङ्क्रमणको दर आउँदो एक हप्तामा घट्न सक्छ र त्यसपछिका दिनहरु केही खुकुला हुन सक्छन् । यो बेलामा अत्यावश्यक काम नपरी वा विभिन्न बहानामा घरबाहिर निस्कने, घरमा बस्दा दिक्क लाग्यो भनेर बाहिर निस्कने, कुन इलाकामा प्रहरीको उपस्थिति छैन भन्ने पत्ता लगाएर निस्कने, प्रहरीलाई झुक्याउन निषेधित सक्कली तथा यदाकदा नक्कली परिचयपत्र घाँटीमा झुन्ड्याएर घरबाहिर निस्कने, रातभर प्रहरीको आँखा छलेर होटल तथा रेस्टुराँमा बिताउने, जमघट गर्ने, स्वास्थ्य मापदण्डको पालना नै नगर्ने, अत्यावश्क सेवा हो भन्ने पार्न विभिन्न सामग्रीहरु बोकेर हिँड्ने, निषेधाज्ञालाई तोडेर निस्केकोमा आफूलाई अहं ठान्ने, यदाकदा भनसुन गर्ने र हिँड्ने, पैदलयात्रा तय गरेर आवश्यकता पूरा गर्न पनि सवारीको प्रयोग गरी टाढा पुग्ने आदि आदि विकृतिहरु देखिएका छन् ।

चितवन जिल्लामा निषेधाज्ञाको सुरूको चार दिनमा मात्र नेपाल प्रहरीले करिब सात हजार पाँच सय मानिसलाई होल्ड गरी सम्झाइबुझाइ, करिब पाँच हजार सवारीसाधन होल्ड गरेको र जरिवानासमेत गरेको तथ्याङ्क सार्वजनिक गरेबाट पनि हामी निषेधाज्ञाको कानुनी आदेशको पालना र सङ्क्रमणको भयावह अवस्थाप्रति कति सचेत र सजग छौँ भन्ने देखिन्छ । हामी अझै पनि संयमित र सजग नभई निषेधाज्ञा उल्लङ्घन हुँदै र सङ्क्रमणको दर बढ्दै गएमा अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा केही हप्ता पूर्ण बन्दाबन्दी गर्नुपर्ने भनी राखेको भनाइ नेपालका लागि पनि सान्दर्भिक हुन सक्छ । अनि, सबै चीजको आपूर्ति बन्द, कडा बन्दाबन्दी, कफ्र्यु, सेना परिचालन, स्वास्थ्य सङ्कटकाल आदिको सामना गरी भारतमा देखिएको अस्पताल, घाट आदिको कारूणिक परिदृश्य भोग्न धेरै समय नलाग्न सक्छ ।

निष्कर्ष

नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण हाम्रा घरघरमा पुगेको छ, अस्पतालमा बेड खाली छैनन्, अक्सिजनसमेतको अभाव देखिँदैछ, सरकारले जे–जस्ता तयारीका कुरा गरे पनि देशको स्वास्थ्य प्रणालीले हरेस खाइसकेको छ । सरकारले विगतमा पनि सम्भावित क्षतिको मूल्याङ्कन र तयारी गर्न सकेन भने यसपटक पनि पर्याप्त ध्यान दिन सकेको देखिँदैन । आफ्नै सावधानी र सजगताबाहेक कसैको भर पर्ने अवस्था नभएको स्पष्ट देखिँदा पनि हामीमा पर्याप्त सचेतना र सजगता नहुनु र व्यवहारमा लागू नहुनुलाई के भन्ने ? धेरै ठूला–ठूला कुरा हामी धेरैले जानेका छैनौँ, तर कोभिड भन्ने सुनेको करिब डेढ वर्षको अवधिमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने भन्ने कुरा त अब कसैले कसैलाई भन्नुपर्ने छैन । बस्, यत्ति पालना गरौँ र निषेधाज्ञाको समयावधिभर घरमै बसौँ, आफू बाचौँ र अरुलाई पनि बचाऔँ ।

(सेवानिवृत्त प्रहरी र हाल लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक)

[email protected]

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया