आक्रामक भए देवघाट क्षेत्रका बाँदर

अन‌ि यो पनि

चितवन १९ जेठ । देशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने देवघाट क्षेत्रमा बाँदरको त्रास अत्यधिक बढ्दै गएको छ । विशेषगरी, कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले जारी गरेको निषेधाज्ञापछि यहाँका बाँदर बढी नै आक्रामक बनेको स्थानीय बताउँछन्।

धार्मिक क्षेत्र भए पनि तीर्थालु भक्तजनको आवतजावत रोकिएपछि बढी भोकाएका कारण यहाँका बाँदर बढी आक्रामक बनेको स्थानीय सञ्चारकर्मी आशिक रानामगरको बुझाइ छ।

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेल भने बाँदर स्वाभाविकरुपमै आक्रामक जनावर भएको बताउँछन्। ‘मानिसहरुको चहलपहल नभएपछि बढी भोकाएर थप आक्रामक भएको मान्न सकिन्छ’, उनले भने, ‘तर बाँदर आफैँमा आक्रामक जनावर हो।’ मानिसको वरिपरि हुने बाँदरलाई मानिसले नै जिस्काउने कारणले पनि थप आक्रामक बनाएको उनले बताए। अहिले हरेक दिन बाँदरको आक्रमणबाट मानिसहरु घाइते भइरहेको उनको भनाइ छ।

तर, विज्ञहरु भने कुनै पनि जनावर बिनाकारण आक्रामक नहुने बताउँछन्। समय र परिस्थितिअनुसार हरेक जनावरले आफ्नो स्वभाव प्रस्तुत गर्दा त्यसलाई मानिसले आक्रमणको रुपमा बुझ्ने गरेको वन्यजन्तु विज्ञ प्राडा मुकेशकुमार चालिसेले बताए। ‘हामीलाई त्यस्तो लागेको मात्रै हो, कुनै पनि जनावर आक्रामक हुँदैन’, विशेषगरी, बाँदरको क्षेत्रमा काम गरेका प्राडा चालिसेले भने, ‘जनावरलाई मानिसले कस्तो व्यवहार गरेको छ भन्ने कुराले अर्थ राख्छ। र, त्यसैलाई हामी आक्रमण गरेको सम्झिन्छौँ।’ बाँदर आक्रामक हुनुमा दुईवटामात्रै कारण देख्छन् उनी। ‘एउटा प्राकृतिक कारण र अर्को परिस्थिति’, उनी भन्छन् ।

उनका अनुसार चैत–वैशाख महिनामा पानी परेपछि बाँदरको प्रजनन समय सुरू हुन्छ। त्यसबेला भालेभालेमा कसले गर्भाधान गर्ने भन्ने प्रतिस्पर्धा हुँदा र पोथी बाँदरको काखमा सानो बच्चा पनि हुने हुँदा बच्चा जोगाउन आक्रामक हुने गर्छ। दोस्रो कुरा, मानिसको नजिक आएको बाँदरलाई विभिन्न खालका खानेकुरा खुवाएर बाँदरको बानी नै बिगारिदिएका कारण मानिसले हातमा केही सामान लिएर हिँडे पनि खोस्न खोज्ने स्वभाव बढ्दै जाँदा त्यसैलाई आक्रमण सम्झिने गरेको उनले बताए।

‘त्यसैले, मानिसले आफूअनुकूल व्याख्या गर्ने हो। कुनै पनि जनावर आक्रामक हुँदैन’, प्राडा चालिसेले थपे। उनले ३० वर्षअघि चितवनको रामनगरमा बसेर बाँदरकै विषयमा अध्ययन गर्दा त्यतिखेरको बाँदर आक्रामक नभएको अनुभव सुनाए। ‘३० वर्षअघि मैले अध्ययन गर्दा त्यति धेरै आक्रामक थिएनन्, अहिले परिस्थितिले यस्तो बनाएको हो। मानिसले नै बानी बिगारिदिएका हुन्’, उनले भने, ‘मानिस र बाँदर उही वंशबाट आएको हुँदा हामीलाई उस्तै लाग्ने कारणले जिस्काउने र खानेकुरा दिने गर्दा त्यसैको असर हामीलाई नै परेको हो।’

बाँदर मानवबस्तीको वरिपरि बस्न रूचाउने जनावर भए पनि उसलाई आफ्नै सुरमा छाडिदिनुपर्ने उनले बताए। ‘मानिसहरुले विभिन्न प्रकारका खानेकुरा जहाँ पायो त्यहीँ दिने हुँदा त्यसले आफैँलाई असर त पुर्‍याएको छ नै, बाँदरकै स्वास्थ्यमा पनि ठूलो असर पारिरहेको छ’, उनी भन्छन्। जथाभावी खानेकुरा दिँदा समय नपुग्दै गर्भाधान हुने र प्राकृतिकरुपमा हुने जन्मान्तरभन्दा अगाडि नै बच्चा जन्माउने हुँदा संख्यामा समेत वृद्धि भएकोले झन् सम्हाल्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

मानिसले खानेकुरा दिने गर्दा जंगलमा खोजेर खाने बानी नै हराएकोले बाँदर पनि अल्छी हुँदै गएको उनले बताए। अहिलेको अवस्थालाई परिवर्तन गर्नका लागि खानेकुरा खुवाउनेभन्दा पनि बाँदरले मन पराउने रुखबिरूवा रोप्ने र खुवाउनै परे निश्चित क्षेत्र छुट्टयाएर खुवाउने हो भने यहाँका स्थानीयले बाँदरबाट बिस्तारै उन्मुक्ति पाउन सक्ने उनको सुझाव छ। अहिले मान्छेसँग आश्रित भएका कारण नयाँ जन्मिएका बच्चाहरुले खोजेर खानै नजानेको उनको भनाइ छ।

जामुन, कालीकाड, साज, साल, देब्रे लहरा, बाख्रे घाँस, असारे, कालीमुन्टे झार, गन्धे झारलगायतका बोटबिरूवा बाँदरले मन पराउने खानाभित्र पर्छ। सालको काठमा पाइने कीरा पनि बाँदरको आहारा हो। त्यस्ता वनस्पति लगाउने र मानिसले खुवाउन छाड्ने हो भने बाँदरको आनीबानीमा परिवर्तन आउन सक्ने उनले बताए।

प्राडा चालिसेका अनुसार एउटा बाँदरको आयु १५ वर्षसम्म हुन्छ। एउटा पोथी बाँदरले जन्मिएको चार वर्षपछि बच्चा जन्माउन सक्छ। र, हरेक दुई वर्षमा एउटा बच्चा जन्माउँछ। तर, मानिसहरुले देखाएको व्यवहार र खुवाएका खानाका कारण जन्मिएको दुई वर्षमै बच्चा जन्माउने र जन्मान्तर पनि एक वर्षमा सीमित भएकोले बाँदरको संख्या पनि समग्रमा बढेको उनले बताए। देवघाट क्षेत्र विकास समितिले बताएअनुसार चितवन र तनहुँतर्फको देवघाट क्षेत्रमा करिब पाँच हजारको संख्यामा बाँदर छन्।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया