यस्तोसम्म हुन्छ प्रशंसाको नशा !

अन‌ि यो पनि

‘हरेक व्यक्ति प्रशंसा मन पराउँछ, मानिसको स्वभावमा प्र्रशंसा पाउने प्यास अत्यन्त प्रबल भएको हुन्छ’— विलियम जेम्स ।
‘आफ्नो स्वाभिमानको झूटो प्रंशसा गर्ने धारणादेखि सावधान रहनुहोस्’– बर्टान्ड रसेल ।
‘कसैका गुणहरुको प्रशंसा गर्नमा आफ्नो समय नष्ट नगर, उसका गुणहरुलाई अपनाउने प्रयत्न गर’— कार्ल माक्र्स ।
‘मूर्खहरुबाट प्रशंसा सुन्नुभन्दा बुद्धिमान्बाट गाली सुन्नु धेरै राम्रो हो’— सजिल ।
‘शत्रुद्वारा गरिएको प्रशंसा सर्वोत्तम कृति हो’— थोमस मुलर ।
‘कोही व्यक्ति प्रशंसाबाट कसरी प्रभावित हुन्छ, त्यस व्यक्तिको चरित्र त्यसैबाट खुल्दछ’— सेनेका ।
‘आफ्नो प्रशंसा सुनेर हामी यति मात्तिन्छौँ कि फेरि हामीमा विवेक र शक्ति लुप्त हुन जान्छ, ठूला–ठूला महात्मा पनि आफ्नो प्रशंसा सुनेर फुल्दछन्’— प्रेमचन्द ।

प्रशंसाका बारेमा विभिन्न प्रसिद्ध विद्वान्हरुले व्यक्त गरेका यी विचार अत्यन्त मननीय छन् । प्रशंसा आफैँमा नराम्रो कुरा होइन, तर यदि यो व्यसनमा बदलियो भने नराम्रो बन्न पुग्दछ । थोमस कार्लाइलले ‘यो संसारमा कुनै मानिसको उचित मूल्यको प्रशंसा गरिनु एउटा ईश्वरीय स्वभाव हो’ भनेर प्रशंसाबारे आफ्नो विचार व्यक्त गरेका छन् । कार्लाइलले भनेझैँ ईश्वरीय स्वभावका रुपमा प्रकट गरिएको प्रशंसाले व्यक्तिभित्रका निराशा, हीनता र अवशादका वृत्तिहरुलाई हटाउने काम गर्दछ । प्रशंसा उत्प्रेरणा र उत्साहको वीज पनि हो । आफ्ना कार्यको प्रशंसा सुनेर स्वयम्भित्रको स्वाभिमान अभिवृद्धि गर्ने कार्यमा पनि हामीले सहयोग प्राप्त गर्न सक्दछौँ । हाम्रा काम, प्रतिभा, योग्यता वा प्रभावबाट प्रभावित भएर कसैले यदि स्वाभाविक रुपमा हाम्रो प्रशंसा गर्दछ भने त्यसलाई अप्राकृतिक र असहज मान्न सकिँदैन, तर अरुका प्रशंसा नै सुन्ने इच्छा र उद्देश्यले प्रेरित भएर मात्र कुनै काम गरिन्छ भने त्यो स्वस्थ र सहज हुन सक्दैन ।

प्रशंसा हाम्रा लागि जति औषधि बन्न सक्छ, त्योभन्दा धेरै रोग बन्ने खतरा हुन्छ । आज हाम्रा लागि प्रशंसा ओखतीभन्दा धेरै बिख बनिरहेको छ, समाधानभन्दा धेरै समस्या बनिरहेको छ । हामी प्रशंसाको लोभमा फँसेर चाहिँदा नचाहिँदा अनेक विकार र विकृतिका सिकार भइरहेका छौँ । प्रशंसा आज व्यवसायजस्तै बनेको छ । कसैबाट आफ्नो स्वार्थ पूरा गर्नुप¥यो भने उसको प्रशंसा गरिदिएपछि पुगिहाल्छ । व्यक्तिमा रहेका अनेक मोह र आसक्तिमध्येको सबैभन्दा बलियो अशक्तिको नाम प्रशंसा हो । प्रशंसाको मोहमा एकाकार मान्छे आफ्नो जीवन गुमेको ख्याल पाउन पनि असमर्थ बन्न पुग्दछ ।

कतै एउट अत्यन्त कुशल मूर्तिकार थियो । ऊ यति राम्रा चित्र र मूर्तिहरु बनाउँथ्यो कि कुनचाहिँ सक्कली हो र कुनचाहिँ नक्कली हो, त्यो कुरा छुट्टयाउनै मुस्किल पर्दथ्यो । मानिसहरुले उसको यो मूर्तिकारिताको बारम्बार प्रशंसा र गुणगान गरे । उसलाई अब यो संसारमा आपूmबाहेक दोस्रो पनि कोही कुशल र दक्ष मूर्तिकार छ भन्ने लाग्न छाड्यो ।

धेरै मूर्तिकला प्रतियोगिताहरुमा उसले सयौँ पुरस्कार, मानसम्मान र उपाधिहरु पनि जितिसकेको थियो । उसले गनेर नसक्ने पुरस्कारहरुका कारण उसको घरका धेरै कोठा भरिएका थिए । यति धेरै पुरस्कारहरुले केवल उसको घरका कोठाहरु मात्र भरिएका थिएनन्, उसको मनका कोठाहरु पनि भरिएका थिए । उसभित्र पर्याप्त अभिमान र आत्मश्लाघाका भाव थिए । अहङ्कार नै अहङ्कारका कारण प्रेम, करूणा, विनम्रता र सरलताजस्ता गुणले उसको हृदय र मन–मस्तिष्कममा खुट्टा राख्ने ठाउँ पाएनन् । उसको घरमा जसरी प्रमाणपत्र, तक्मा, ताम्रपत्र, स्वर्णपत्र, शिल्ड आदि इत्यादि पुरस्कार र उपहारबाहेक अरु कुनै वस्तुका लागि ठाउँ खाली थिएन, उसको मनमा पनि सहज मानवीय मूल्य र मनुष्यताजस्ता गुणका लागि कतै ठाउँ खाली थिएन ।

मानिसहरुले जीवनभर आआफ्नो क्षेत्रमा गरेका कामका लागि बुढेसकालमा समाज र विभिन्न सङ्घसंस्थाले सम्मान गर्ने चलन बढेर गएको छ । समयक्रमसँगै मूर्तिकार पनि वृद्ध हुँदै गयो । हातगोडालगायत शरीरका प्रत्येक अङ्गप्रत्यङ्ग कमजोर र शिथिल हुँदै जान थाले । ऊ जतिजति मृत्युनजिक पुग्दै गयो, उतिउति उसमा जीवनप्रतिको सम्मोहन पनि बढेर जान थाल्यो । जीवनका उत्तरार्धमा पाइने मानसम्मानको ओइरो लागेको देखेर त उसलाई झन् तुरून्त मर्नुपर्दा ती सबै गुमाउनुपर्ने कुराले चिन्तित बनाउन थाल्यो ।

एकाएक ऊ अन्ततः मृत्युनजिक पुग्यो । एकदिन यमदूत उसलाई लिन भनी धर्तीमा झरे । मूर्तिकारले आपूmजस्तै पचासवटा मूर्तिहरु तयार पारेको थियो । यमदूत आपूmलाई यमपुरी लैजान आएको देखेपछि ऊ तिनै मूर्तिहरुका बीचमा गएर लुक्यो । यमदूतले निकै कोसिस गर्दा पनि वास्तविक मूर्तिकार पहिचान गर्न सकेनन् । सबै उस्तै छन्, दुरूस्तै छन् । कसलाई लैजाने ? यमदूतलाई मूर्तिकार चिन्न मुस्किल प¥यो । मूर्तिकारले मृत्युबाट भाग्ने यो तयारी पहिल्यै गरेको थियो, जतिबेला उसलाई मृत्युनजिक पुगेको अनुभूति हुन थालेको थियो ।

‘अरुसँग मृत्युलाई छक्याउने कला छैन त्यसैले मर्छन्, मचाहिँ अरु सबै मरे पनि यिनै मूर्तिहरुका बीचमा गएर लुकेपछि जसरी पनि बाँच्छु, यमदूतले मलाई केही गर्न सक्दैनन्’ भन्ने मूर्तिकारलाई लागेको थियो । यो उसको अभिमानले शिखर छाएको स्थिति थियो । ती पचास मूर्तिहरु धेरै समय लगाएर मृत्युलाई पनि उल्लु बनाउने र आपूm दीर्घजीवी बन्ने रणनीतिअनुसार तयार बनाएको थियो उसले ।

आफ्नो सम्पूर्ण दृष्टिशक्तिको प्रयोग गरी धेरै बेर घोरिएर हेर्दा पनि वास्तविक मूर्तिकारलाई चिन्न र फेला पार्न नसकेपछि यमदूत रित्तो हात यमपुरी फर्किए । यमदूत फर्किएपछि त्यो मूर्तिकार मूर्तिहरुका बीचबाट निस्कियो । फुलेर सेतै भएका जुँगाहरु मुसार्दै र ताउ लाउँदै मूर्तिकारले मनमनै भन्यो– ‘संसारमा आजसम्म कसैले गर्न नसकेको काम मैले गरेँ । जसलाई लिन आएको हो, उसलाई नलिई आजसम्म मृत्यु कहिल्यै खाली हात फर्किएको छैन । सायद, यमदूतको जीवनको नै यो पहिलो घटना हुन सक्छ । यमदूतको मात्र के कुरा, समग्र मनुष्यको जन्म–मरणको इतिहासको पनि यो पहिलो घटना होला, सायद । वाह ! आज मैले यमदूतलाई पनि रित्तो हात फर्काइदिएँ । मेरो आइडियाका अगाडि आज मृत्यु पनि ‘उल्लु’ बनेर फर्किनुप¥यो । अब त म सधैँभरि मानिसका मान, सम्मान, इज्जत र पुरस्कार थाप्दै बाँच्न पाउने भएँ । धन्य छ मलाई !’

यमदूत रित्तो हात एक्लै फर्किएको देखेर यमराजलाई अचम्म लाग्यो । खाली हात फर्कनुको कारण यमराजले सोधेपछि यमदूतले निवेदन गरे– ‘प्रभो, त्यो मूर्तिकार त मापाको रैछ । पचासवटा उस्तै मूर्तिकारहरुका मूर्तिहरु छन् । ऊ कुनचाहिँ हो भनेर छुट्टयाउनै मुस्किल प¥यो । कतिपटक मैले उसको नामै लिएर पुकारेँ तर चूँसम्म गर्दैन । प्रेमले बोलाउँदा पनि बोलेन, तर्साएर बोलाउँदा पनि बोलेन । जति गर्दा पनि नबोलेपछि प्रभो, भन्नुस् म के गरुँ ? म कसलाई लिएर फर्कूं ? म त जिल् परेँ । क्षमा पाऊँ ।’

आफ्ना दूतको निराशापूर्ण विवरण सुनेपछि यमराज पनि घोरिन बाध्य भए । धेरै सोचेपछि उनलाई उपयुक्त उपाय फु¥यो । आफ्ना दूतलाई सम्झाउँदै यमराजले भने– ‘त्यसोभए तिमी फेरि जाऊ र उसको प्रशंसा गर । विभिन्न तरिकाले उसको कलाकारिता र मूर्तिकारिताको प्रशंसा गर । त्यसपछि ऊ मख्ख पर्नेछ र तिम्रा अगाडि देखा पर्नेछ । त्यही समयमा उसलाई च्याप्प समात्नु र कठालोमा समातेर मेरा हजूरमा हाजिर गराउनू ।’

यमराजको उपायसहितको नयाँ निर्देशन लिएर यमदूत दोस्रोपटक तिनै मूर्तिहरुका अगाडि उपस्थित भए । त्यसपछि ती मूर्ति र मूर्तिकारको मुक्तकण्ठले प्रशंसा गर्न थाले । उनको अभिव्यक्ति यस्तो थियो– ‘अहा, कति राम्रा मूर्तिहरु ! यति राम्रा मूर्ति बनाउने मूर्तिकार झन् कति राम्रा होलान् ! उनलाई देख्न पाए मेरो जीवन पनि कति धन्य हुन्थ्यो होला ?!’

दोस्रोपटक आपूmलाई लिन भनेर आएका यमदूतबाट बच्नका लागि त्यो मूर्तिकार आपूmजस्तै मूर्तिहरुका बीचमा गएर लुकिसकेको थियो । यमदूतको प्रशंसा सुनेर टुक्रुक्क बसेको मूर्तिकारले बिस्तारै मृत्युको बारेमा बिर्संदै गयो । उसको प्रशंसाप्रतिको अनुराग बढ्दै गयो । आपूm प्रकट भएर यमदूतको जीवनलाई ‘धन्य’ बनाइदिनुप¥यो भन्ने उसलाई लाग्न थाल्यो ।

यमराजका दूतले ती एकसे एक दिव्यमूर्ति बनाउने मूर्तिकार को होलान् भनेर भनिरहेका बेलामा एक जना पागल डुल्दै त्यहाँ आइपुग्यो । त्यो पागले ती मूर्तिहरु आपूmले बनाएको भनेर यमदूतलाई पूmइँ लगाउन थाल्यो । आपूmले बनाएका सुन्दर मूर्तिहरुलाई आपूmले बनाएको भन्दै गरेको पागललाई देखेर मूर्तिकारलाई निकै रिस उठ्यो । उसलाई लाग्यो– ‘मैले अघि नै गएर यी मूर्तिहरु मेरा हुन् भन्नुपर्ने रहेछ । अब यति राम्रा मूर्ति मैले बनाउने, जसचाहिँ एउटा पागलले पो पाउने भयो त । अब एकपटक मात्र यी मूर्तिहरु बनाउने मान्छे को हो ? भनेर यदि यिनले सोधे भनेदेखि म जानेथिएँ र आफ्नो पौरखको जस लिनेथिएँ ।’

ठीक यही बेला यमदूतले पागलतिर फर्किएर भने–‘यति सुन्दर मूर्ति बनाउने व्यक्ति यी मूर्तिहरुजस्तै सुन्दर हुनुपर्दछ, तिमी पागलजस्तो झुत्रेझाम्रे होइन । यदि यी मूर्ति बनाउने मूर्तिकारलाई देख्न पाए त म उनलाई प्रेमले अँगालो हाल्नेथिएँ ।’

मूर्तिकार त्यसपछि मूर्तिहरुका बीचबाट निस्किएर ती मूर्तिहरु आपूmले बनाएको कुरा यमदूतलाई बतायो । यमदूतले पहिले भनेभैmँ उसको नाममा प्रशंसाका शब्दहरु खर्च गर्दै अँगालो हाल्ने नाममा च्याप्प समातेर यमपुरीतिर लिएर गए । काललाई सधैँ उल्लु बनाउन खोज्ने कलाकार अन्ततः मृत्युका अगाडि आफैँ उल्लु बन्न बाध्य भयो ।

हामी पनि प्रशंसाका कारण उल्लु बनिरहेका हुन्छौँ, तर हामीलाई त्यसको हेक्का हुँदैन । आफ्ना वरपर स्तुति गान गर्ने, कीर्ति गाउने र
प्रशंसाका शब्दहरु खर्च गर्ने हनुमानहरु लिएर बाँच्ने मान्छे अन्ततः त्यही नक्कली प्रशंसाले समाप्त हुन्छ । प्रशंसा हामीभित्र अभिमान बढाउने उत्प्रेरकसिवाय अरु केही होइन । प्रशंसाकै कारणले ठूला–ठूला मानिस पनि अभिमानको अग्निमा जलेर राख बन्दछन् ।

सधैँ अरुको स्तुति, पूजा र प्रशंसा खोज्ने बानी रूग्णताको परिचायक हो । लगनशील भएर आफ्नो काम गरिरहेको मानिसलाई उसको बाटोबाट अलग गरिदिने र उसलाई अभिमान पिलाएर अकर्मण्य बनाउने काम कसैले पनि गर्नुहुँदैन । हामी त्यस्ता मान्छेसँग सधैँ बच्नुपर्छ, जसले जहिले पनि हाम्रो प्रशंसा गर्दछन् । प्रशंसा आफैँमा नराम्रो कुरा होइन यसको स्वाभाविक अवस्थासम्म, तर निरन्तरको प्रशंसाले जहिले पनि अभिमानबाहेक केही बढाउँदैन ।

हामी जब आफ्ना बारेमा अरुले गरेको प्रशंसा सुन्दछौँ, त्यसपछि हामी मख्ख पर्दछौँ । हामी बिस्तारै आपूm निकै ठूलो मान्छे भएको महसुस गर्न थाल्दछौँ । मलाई सबैले राम्रो मानेका छन्, म सबैद्वारा प्रशंसित छु । त्यसैले, मैले जसो गरे पनि हुन्छ भन्ने विचार हामीभित्र हुर्किएर जान्छ । जब यस्तो विचार र त्यसबमोजिमको व्यवहार हामीबाट प्रकट हुन थाल्दछ, त्यसपछि हाम्रो पतनको यात्रा सुरू हुन्छ, किनकि घमण्डी मानिस सबैबाट तिरस्कृत हुन पुग्दछ ।

प्रशंसाले केवल हामीलाई घमण्डी र अभिमानी मात्र बनाउँदैन, यसले हामीभित्र निरङ्कुशताको भाव पनि पैदा गर्दछ । हिटलर आपैmँमा त्यति क्रूर थिएनन्, जति क्रूर उनका आसेपासेको प्रशंसाबाट उनी भएका थिए । हिटलरले जे गरे पनि त्यो ठीक र राम्रो भनिदिने र त्यसको अति प्रशंसा गरिदिने कारणले उनीभित्र अस्वाभाविक कट्टरता एवम् कठोरता बढेर गएको बताइन्छ ।
आलोचना सहन निकै गा¥हो हुन्छ, तर जसले सहन्छ उसको कहिल्यै कुभलो हुँदैन । प्रशंसा र आलोचनामा यही फरक हुन्छ । प्रशंसा सुरूमा मीठो हुन्छ तर परिणाममा घातक, आलोचना सुरूमा नमीठो हुन्छ तर परिणाममा उपलब्धिमूलक । आलोचनाले व्यक्तिलाई कहिल्यै पनि प्रशंसाले जस्तो हिटलर बनाउँदैन, यसले त सुदामा जस्तै सरल बनाइदिन्छ । प्रशंसा एउटा भ्रम मात्र हो । हाम्रा वरपर यदि प्रशंसकहरु छन् भने सावधान बनौँ । उनीहरुलाई गाली नै त नगरौँ, तर आलोचना पनि गर्न अनुरोध गरौँ ।

हामी जति प्रशंसकले घेरिन्छौँ, त्यति असत्य र जालझेलको दुनियाँमा फँस्दै जान्छौँ । प्रशंसाको तिर्खामा बाँच्नेहरुका लागि सत्य पनि तीतो लाग्न थाल्दछ । अवश्यम्भावी र हुनेहुनामीबाट पनि उनीहरु पन्छिन खोज्छन्, जसरी मूर्तिकार मृत्युबाट पनि भाग्ने दुष्प्रयास गरेको थियो । त्यसैले, प्रशंसकदेखि सावधान ! प्रशंसा खोज्ने र प्रशंसा गर्ने दुवै कुराबाट बच्न सक्नुपर्दछ । हामीले अरुबाट भन्दा धेरै स्वयम्बाट प्रशंसा पाएका हुन्छौँ, यदि हाम्रा कामहरु सुन्दर भएका छन् भने ।

आज मान्छे बाहिरी मान्छेको प्रशंसाका बीच पनि आफ्नै अन्तस्करणको घृणा पिएर बाँच्न विवश छ । हामीसँग प्रशंसकहरु धेरै भएर पनि थोरै आत्मसम्मान छ । हामीलाई चाहिने अभिमान होइन, आत्मसम्मान । हामीले गरेका राम्रा कामहरुलाई राम्रा र नराम्रा कामलाई नराम्रा भन्नेहरु नै हाम्रा सच्चा मित्र हुन सक्छन् ।

हामी आलोचना पटक्कै सुन्न चाहँदैनौँ । यसैले पनि मानिसहरु बनावटीरुपमै प्रशंसा गरिदिन्छन् । मान्छेका टिप्पणी र आलोचनाप्रति हामी यति बर्बर छौँ कि यसको कुनै हिसाब छैन । वास्तवमा आलोचनाहरु हामीलाई काँटछाँट गर्ने र मिलाउने हतियार हुन् । सरल जीवनका आकाङ्क्षीहरुले जहिले पनि प्रशंसालाई भन्दा अलोचनालार्ई मह¤व दिनुपर्दछ । हामीकहाँ चाकरी, चाप्लुसी र मुलाहिजाले स्थान पाउनुको कारण पनि हामीभित्रको प्रशंसा मोह हो । हामीले गरेका हरेक राम्रा कामप्रति सबैको सकारात्मक साथ र समर्थन रहने कुरामा कुनै सन्देह छैन । हामीले राम्रो काम गरेका छौँ कि नराम्रो भन्ने कुरा आफ्नै अन्तस्करणलाई सोधे पुग्छ । अन्तस्करणले जे भन्छ त्यही सत्य हो । आज व्यभिचार, मांसाहार, दुव्र्यसन, भ्रष्टाचार, दलाली, ठगी, हिंसा गर्दा धेरै प्रशंसा पाइने अवस्था छ । मानिसहरुले यिनैलाई राम्रा मान्छन् । रक्सी नपिए साथीहरुको समूहमा परिँदैन । पिइदिए तपाईंहामीले साथीहरुको ताली पाउँछौँ । तपाईंहामीसँग यदि विवेक छ भने छुट्टयाउनुपर्छ— हामीले रक्सी खाएको कुराको पक्षमा बज्ने ताली ठीक कि त्यसको विपक्षमा पाइने गाली ठीक ? त्यसैले, सधैँ ताली मात्र ठीक हुँदैन । गाली पनि जीवनको प्रेरक बन्न सक्छ, मनुष्यताको संरक्षक बन्न सक्छ । यसैले, स्वयम् सचेत बनौँ । अनावश्यक प्रशंसाको तिर्खामा नबाँचौँ । अनावश्यक प्रशंसकदेखि सावधान !
(देवघाटधाम, चितवन)

 

 

 

 

 

[email protected]

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...