धूमपानरहित समाजको परिकल्पना

अन‌ि यो पनि

विश्व धूमपान तथा सुर्तीरहित दिवस हरेक वर्षको मई ३१ तारिखमा मनाउने गरिएको पाइन्छ, नेपालमा पनि हिजो सोमबार उक्त दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सुरू गरिएको यो दिवस मनाउनुको मूल उद्देश्यका रुपमा धूमपानको बढ्दो सेवनबाट भैरहेको क्षतिलाई कसरी न्यूनीकरण गर्ने र सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग र ओसारपसारलाई कसरी नियन्त्रण गर्ने भन्ने छ । पछिल्लो सार्वजनिक तथ्याङ्कलाई आधार मान्ने हो भने विश्वभर लगभग हरेक वर्ष साठी लाखभन्दा बढी मानिसहरु सूर्तीजन्य रोगबाट प्रताडित हुने गरेका छन् । आगामी १० वर्षभित्रमा त्यो सङ्ख्या बढेर असी लाखभन्दा बढी पुग्न सक्ने आँकलनसमेत गरिएको छ । यस अर्थमा हेर्दा पनि आगामी दिनहरु धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने सन्दर्भमा थप चुनौतीपूर्ण बन्न सक्ने अवस्था विद्यमान रहेको देखिन्छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा वार्षिकरुपमा २५ हजारभन्दा बढी मानिसहरुको सुर्तीजन्य पदार्थकै कारण ज्यान गैरहेको छ भने विश्वभर प्रत्येक ८ सेकेन्डमा सुर्ती सेवन गर्ने एक जनाको ज्यान जाने गरेको छ । हाल हरेक १० जना वयस्कमध्ये १ जनाको अकालमा ज्यान गैरहेको अवस्था छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न सक्ने हो भने त्यसबाट ११ प्रतिशतभन्दा बढी मृत्यु घटाउन सकिने तथ्याङ्कले बताउँछ । चुरोट, सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा जगजाहेरै त, तर त्यसप्रति चाहिने संवेदनशीलतामा भने निकै कमी आएको देखिन्छ । चुरोट, सुर्ती सेवन गर्नेहरुको हकमा मात्रै नभएर वरिपरिकालाई समेत त्यसबाट निकै असर पुगिरहने तथ्यलाई लुकाएर लुकाउन सकिँदैन, तर त्यस पक्षप्रति पनि धेरैले ध्यान पु¥याउन नसकेको अवस्थाले स्थितिलाई थप कहालीलाग्दो बनाइरहेको छ । त्यस्तै, देशमा १८ वर्षभन्दा तलका बालबालिकाले सुर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानुन प्रचलनमा छ, तर त्यसप्रतिको उदासीनता भने चर्को छ । अहिले पनि कयौँ बालबालिकाहरु सुर्तीजन्य पदार्थ ओसारपसारमा मात्रै संलग्न छैनन्, अझ कति त त्यसको अम्मलीसमेत बनिरहेको अवस्था छ । कानुन भएर पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु ठूलो चिन्ताको विषय हो ।

धूमपान र सुर्तीजन्य पदार्थकै उपभोगका कारण प्रायजसोलाई मुख तथा फोक्सोको क्यान्सर हुने र त्यसको उपचार जटिल साबितसमेत हुने हुनाले कयौँ महँगो उपचार थेग्न नसकेर बिचल्लीमा परिरहेको देख्न सकिन्छ । पछिल्लो तथ्याङ्कले धूमपानले कलेजोमा पनि निकै असर पु¥याउने देखाएको छ, जुन स्वास्थ्यका लागि स्वयंमा घातक छ । ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ भनेर उत्पादन गरिएका सामग्रीलगायत र प्रचारात्मक माध्यमहरुमा समेत देख्न र पढ्न नपाइने होइन, तर त्यो प्रक्रिया केवल काम चलाउ र औपचारिकतामा मात्रै सीमित भैरहेको छ । जतिसुकै स्वास्थ्यका लागि हानिकारक छ भनेर उद्घोष गरिए पनि त्यस्ता पदार्थहरु खुल्लमखुल्ला बिक्रीवितरणमा आउनुले स्वास्थ्यको जोखिमलाई थप बढाउनेछ । सुर्तीजन्य पदार्थहरुको खुल्लमखुल्ला भैरहेको बिक्रीवितरणप्रति राज्य कठोररुपमा प्रस्तुत हुने हो भने कानुनको कार्यान्वयन पक्षसमेत सबल बन्न सक्नेछ । सरकारलाई केवल राजस्वको चिन्ता छ, त्यसैले आमसर्वसाधारणको स्वास्थ्यप्रति ऊ बेखबरजस्तै छ । जनताको जीउज्यानप्रतिको चिन्ता राज्यको प्रमुख चासो र सरोकारको विषय भएमात्रै अवैधरुपमा फल्दाफुल्दा त्यस्ता सुर्तीजन्य पदार्थहरुको कारोबारहरुमा अङ्कुश लाग्न सक्छ र धूमपानरहित समाजको परिकल्पनाले साकार रुप लिन सक्छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया