निषेधाज्ञाले सिजनमै पाइएन मल र बीउ

अन‌ि यो पनि

शुक्रनगर । बर्खे सिजन सुरू हुँदै गर्दा अहिले किसानलाई चैते धान गोडमेल गर्ने, असारे धानको बीउ राख्ने त कसैलाई बर्खे तरकारी रोप्ने चटारो छ । तर, कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आह्वान गरिएको निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित रहेको बेलामा कृषि क्षेत्र झनै समस्यामा परेको गुनासो पश्चिम चितवनका किसानहरुको छ ।

लकडाउनका कारण भएको बन्दाबन्दीले आफ्नो खेतमा भएको उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै खेतमा लगाएको बेमौसमी तरकारीलाई आवश्यक पर्ने मल र कीटनासक औषधि नहुँदा खेती चौपट भएको विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं–२५, दिव्यनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेश भूषालले बताए ।

उनका अनुसार अब काँक्रा, घिरौँला, भेँडे खुर्सानी, हरियो खुर्सानी, भिन्डी लगाउने बेला हो । समयमा तरकारीको बीउ नपाइने हो भने तरकारीको उत्पादन घट्ने उनी बताउँछन् । एकातिर नयाँ बाली लगाउन नपाइएको र अर्कोतिर भएका तरकारी पनि बजारमा लगेर बेच्न नसकिएको बताउँदै उनले यतिबेला बारीमा तरकारी तयार भए पनि लकडाउनले बजार बन्द भएका कारण तरकारीहरु चाहिएको मात्रामा बिक्री हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

लकडाउनले गर्दा किसानले मल तथा बीउ पाउन सकेका छैनन् । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान नदिएपछि व्यापारीले पनि गाउँगाउँसम्म बीउ पु¥याउन नसकेको भरतपुर महानगर–२४ स्थित केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । बीउ खरिदका लागि व्यापारीकै मात्र भर पर्नु परेकोले किसानहरु ठगिनु परेको उनको गुनासो छ । सरकारी निकायले नै मलजस्तै बीउ पनि सहकारीमार्फत बिक्रीवितरण गर्नुपर्नेमा जोड दिन्छन् उनी ।

लकडाउनले मल, बीउ, औषधिलगायत पाउन समस्या परेको भरतपुर–२६, खत्रौलीका किसान दीपक तिमिल्सिनाले बताए । उनले भने, ‘तरकारी लगाउने सिजन सुरू भइसक्यो, बीउ पाउन भने सहज छैन ।’ तिमिल्सिनाले ११ बिघामा हाइब्रिड जातका काँक्रा, भेँडे खुर्सानी, फर्सी, भिन्डीलगायतका तरकारी लगाएका छन् । ती तरकारी बेच्न किसानले बजार पाउन सकेका छैनन् ।

पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, भीमनगर, ज्योतिनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्यबस्ती, नयाँबस्ती, धु्रव, बयरघारीलगायतका क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रुपमा परिचित छन् । भरतपुर–२५ मा मात्रै २ सय बिघा बढी जमिनमा व्यावसायिक तरकारीखेती हुन्छ ।

गत वर्षको कोरोना महामारीमा ६० प्रतिशत तरकारी बिक्री भएको थिएन । यसपटक भने ८० प्रतिशतभन्दा बढी तरकारी बिक्री भएको भरतपुर–२५, शुक्रनगरका वीरबहादुर विकले बताए । यसपालि निषेधाज्ञा सुरू हुँदै गर्दा खेतमा करेला, काँक्रा लटरम्मै फलेका थिए । राम्रो मूल्यमा बजार जान तयार भएका ती तरकारीको मूल्य अस्वाभाविकरुपमा घट्न पुगेको थियो ।

‘करेलाको मूल्य प्रतिकेजी ५ रूपैयाँ पनि नआउने अवस्था आयो, खर्च पनि नउठ्ने भएपछि टिपेर फाल्यौँ’, भरतपुर–२५, शुक्रनगरमा व्यावसायिक तरकारीखेती गर्दै आएका किसान लेखनाथ भूषालले भने, ‘तर केही दिनमा मूल्यमा सुधार आइहाल्यो, नाफा लिन नसके पनि घाटा हुन पाएन । पोहोरजसरी बिक्री नहुने, कुहिएर जाने अवस्था असाध्यै कम छ ।’ करेला किसानले प्रतिकेजी ७० रूपैयाँसम्म बिक्री गर्ने गरेका थिए । अहिले प्रतिकेजी १५ रूपैयाँमा बिक्री भइरहेको छ ।

भूषाल भन्छन्, ‘यसपालि निषेधाज्ञाको सुरूवातमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन पाएन । विभिन्न ठाउँमा सम्पर्क गरी तरकारी बिक्री ग¥यौँ ।’ शुक्रनगरमा भूषालको नेतृत्वमा युवा आधुनिक सामूहिक खेती नामको संस्था खोलेर करिब एक सय बिघा जमिन तयार पारेर तरकारीअनुसारका १९ वटा छुट्टाछुट्टै ब्लक तयार पारी ती ब्लकमा टमाटर, बोडी, लौका, करेला, काँक्रो, घिरौँला, चिचिन्डा, खुर्सानीलगायतका तरकारी लगाइएका छन् ।

निषेधाज्ञाका कारणले होटलहरु बन्द हुँदा काँक्रो, गाजर, बन्दालगायतका तरकारी बिक्री हुन छाडेको भरतपुर महानगरपालिका–२४, जगतपुरका जनक पुरी बताउँछन् । एकातिर उपभोक्ताहरु तरकारी खान नपाएर चिन्तामा छन् भने अर्कोतिर किसानहरु बेच्न नपाएर छट्पटीमा छन् । भएको तरकारीको भाउ छैन । दलालहरुले सस्तोमा उठाउन खोज्छन्, जसका कारण जग्गाको भाडा, मजदुरको ज्याला, आफ्नो पसिना, मल, बीउ, पानी र बिजुलीको लगानी जोखिममा परेको उनी बताउँछन् ।

‘हामीहरुले त ऋण नै लिएर तरकारी लगाएका छौँ, मूल्य पाइएन । बेच्न पनि सकिएन’, उनी भन्छन्, ‘निषेधाज्ञा अझ लम्बिए तरकारी किसान ठूलो मारमा पर्नेछन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया