होमनाथ सापकोटा
नवलपरासी । नवलपरासीको अग्यौली–५ अमलटारीका स्थानीयवासीले चरिचरण क्षेत्रलाई जोगाएर सामूहिक रुपमा आयआर्जनको काम गरेका छन् । ६ वर्षअघि गाउँका पशु चौपाया चर्ने खाली चौरलाई संरक्षण गरेर अमलटारीवासीले आयआर्जनको लागि बेसारखेती र माछापालन गरेका छन् ।
पर्यटनलाई संरक्षणसँग जोडेर आयआर्जनको काम गरिरहेका यहाँका अदिवासी थारु, विपन्न मुसहर र बोटे समुदायले समृद्धिका लागि सामूहिक काम गरेका हुन् । माछापालन र महिलाहरुलाई बेसारखेती गर्न तराई भू–परिधि कार्यक्रम (ताल) र अमलटारी मध्यवर्ती उपभोक्ता समितिले आर्थिक सहयोग गरेको छ ।
यहाँ सुरू गरिएको बेसारखेतीले महिला र माछापालनले विपन्न मुसहर र बोटे समुदायको जीवनशैलीमा समेत परिर्वतन आएको अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेम शंकर मर्दनीयाले बताउनुभयो । २०६५ सालबाट गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन संरक्षण गरी अमलटारीका स्थानीयवासी पर्यटनमार्फत आयआर्जनको काम गरिरहेका छन् ।
सामुदायिक वन संरक्षण गर्न सुरू गरेपछि उनीहरुले गाईबस्तु चर्ने चौरलाई पनि संरक्षण गरेर आयआर्जनको काम गरेका हुन् । सामुदायिक वनअन्तर्गतको चौरमा चारवटा माछापोखरी निर्माण गरिएको छ भने त्यसैको नजिकै महिलाहरुले बेसारखेती र खर हुर्काएका छन् । दुईवटा मुसहर र दुईवटा बोटे ताल निर्माण गरिएको छ ।
एक वर्षअघिबाट माछापाल्न सुरू गरेका उनीहरुले आन्दानी लिन थालिसकेका छन् । ‘माछा बेचर भएको आम्दानीले मुसहर र बोटे समुदायको जीवनयापन चलेको छ’, अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मर्दनीयाले भन्नुभयो, ‘अझ बढी आम्दानी गरेर उनीहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ हामी केन्द्रित छौं ।’
माछापालनबाट भएको आम्दानीको अधिकांश हिस्सा मुसहर र बोटेको जीवनस्तर उकास्ने काममा खर्च गर्ने योजना रहेको अध्यक्ष मर्दनीयाले बताउनुभयो । अमलटारीमा मुसहर ५५ र बोटे ६५ घरधुरी रहेका छन् । आर्थिक विपन्नताका कारण उनीहरुले कष्टकर जीवनयापन गर्न बाध्य छन् ।
‘संरक्षणमा सक्रिय भएपछि जीवनयापनमा परिर्वतन आउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष मर्दनीयाले भन्नुभयो, ‘हामीले यहाँका सबैलाई संरक्षणसँग जोडेर आयआर्जनमार्फत आत्मनिर्भर बनाउने छौं ।’ माछा बेचेर आम्दानी हुन थालेपछि मुसहर र बोटे समुदाय नदीमा माछा मार्ने पुख्र्यौली पेसा छाडेर पोखरीमा माछा हुर्काउन व्यस्त हुने गरेका छन् ।
वन क्षेत्रमै सुरू गरेको बेसारखेतीले पनि महिलाहरुलाई जीवनयापनमा सहज भएको छ । गाउँका अधिकांश महिलाहरुलाई समूहमा आवद्ध गराएर बेसारखेती तथा मासिक बचतको काम सुरू गरेका छन् । ‘बेसारखेतीबाट भएको आम्दानी पनि समूहमा राखिन्छ’, नयाँ बिहानी महिला उपभोक्ता समूहकी सचिव ममता मर्दनीयाले भन्नुभयो, ‘मासिक रुपमा गरेको बचतले पनि महिलालाई जीवनयापनमा सघाएको छ ।
समूहमा बचत भएको पैसा महिलाहरुको आयआर्जनमा खर्च गर्दै आएको समूहकी सचिव मर्दनीयाले बताउनुभयो । सामुदायिक वनको एउटा क्षेत्रमा महिलाहरुकै प्रयासमा खर लगाइएको छ । बेसारको अलवा महिलाहरुले खर बेचेरै वार्षिक रु४० हजार आम्दानी गर्ने गरेका छन् ।
तराई भू–परिधि कार्यक्रम (ताल)का सहव्यवस्थापक अब्लुल अन्सारीले अमलटारी संरक्षणको हिसाबले धेरै अगाडि बढिसकेकाले यस क्षेत्रलाई आत्मनिर्भर गाउँको रुपमा विकास गर्ने योजनाबमोजिक काम भइरहेको बताउनुभयो ।
Discussion about this post