चितवनमा कोरोना : अस्पताल भर्ना हुने घट्दै, ३८५ को उपचार

अन‌ि यो पनि

चितवन १६ जेठ । चितवनका अस्पतालमा आइतबार ३८५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। भरतपुर अस्पतालमा ११६ जना, चितवन मेडिकल कलेजमा १०८ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५८ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३८ जना र जिल्लाका अन्य निजी अस्पतालमा ३० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

स्थानीय तहले निर्माण गरेको आइसोलेसन केन्द्रमा पनि संक्रमितको उपचार चलिरहेको छ। यहाँका सातटा स्थानीय तहमध्ये भरतपुरमा आठ जना, माडीमा १० जना, रत्ननगरमा दुईजना, खैरहनीमा सात जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा पाँच जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। आइतबारको तथ्यांकअनुसार राप्ती नगरपालिकाको आइसोलेसन केन्द्रमा भने संक्रमितको संख्या शून्य छ।

अस्पताल भर्ना भएका संक्रमितमध्येमा पनि १६० जनाको अवस्था सामान्य छ। बाँकी २८५ जना अक्सिजनको सहारामा उपचाररत छन्। १८८ जना आइसियूमा, ५२ जना भेन्टिलेटरमा र ४५ जना एचडियूमा रहेर उपचार गराइरहेका छन्। जेठ महिना लागेयता अस्पताल भर्ना हुनेको संख्या बिस्तारै कम हुँदै आएको छ। निषेधाज्ञाका कारण घरभित्रै बसेपछि समुदायमा फैलिन कम भएकोले संक्रमितको संख्या बिस्तारै ओरालो लाग्न थालेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन्।

आठ जनाको ज्यान गयो
गएको २४ घण्टामा चितवनका अस्पतालबाट आठ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमा तीन जना, जिल्लाका दुईवटा मेडिकल कलेजमा दुई/दुई जनाको मृत्यु भएको छ भने एक जनाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

२४ जना डिस्चार्ज
चितवनका अस्पतालबाट आइतबार २४ जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट ६ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट पाँच जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक जना संक्रमणमुक्त भएर घर फर्किएका हुन्। यस्तै भरतपुर महानगरपालिकाको होम आइसोलेसनमा रहेका एक जनालाई पनि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

नेपालका लागि राहत सङ्कलन गर्न बेलायती अभिनेताले थाले मौन अभियान

लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस्...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया