कालिका नगर अस्पतालमा कोरोना सङ्क्रमितको उपचार

अन‌ि यो पनि

रत्ननगर, १६ जेठ । कालिका नगरपालिकामा रहेको कालिका नगर अस्पतालमा कोरोना सङ्क्रमितको उपचार सुरू गरिएको छ ।

वैशाख ३१ गतेबाट अस्पतालमा आइसोलेसन बनाएर सङ्क्रमितको उपचार सुरू गरिएकोमा अहिलेसम्म ७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

सो अस्पतालले एक जनालाई भरतपुर अस्पतालमा थप उपचारका लागि रिफर गरेको छ भने अहिले पनि ४ जना सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

डा. स्वप्निल शर्माको नेतृत्वमा डा. जनक लामिछानेलगायत डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोली सङ्क्रमितको उपचारमा संलग्न रहेको छ । कालिका नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा सङ्क्रमितको निशुल्क उपचार गरिएको मेयर खुमनारायण श्रेष्ठले बताए ।

‘डाक्टरहरुको निगरानीमा हामीले सङ्क्रमितको उपचार गरिरहेका छौँ’, उनले भने, ‘भरतपुरका अस्पतालहरुमा बिरामीको चापलाई हेरेर आफैँले उपचार सुरु गरेका हौँ ।’

कोरोनाको दोस्रो लहर सुरू भएपछि सो नगरपालिकामा सङ्क्रमितको संख्या २०६ पुगेको छ । ११६ जना निको भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । ८५ जना सक्रिय सङ्क्रमितमध्ये चार जना नगर अस्पताल, तीन जना भरतपुरका विभिन्न अस्पताल र ८२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिए ।

सो नगरपालिकाले आइसोलेसन बनाएर सङ्क्रमितको उपचारसँगै कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि अन्य महत्त्वपूर्ण काम गरिरहेको छ । कोरोना सङ्क्रमितलाई घरबाट अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा, होम आइसोलेसनमा रहेका बिरामीलाई दैनिक फोनबाट स्वास्थ्य अवस्था बुझ्ने, प्रत्येक हप्ताको आइतबारदेखि बिहीबारसम्म होम आइसोलेसनमा रहेका बिरामीको निःशुल्क एक्सरे र सोमबार र बिहीबार नगर अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गरिँदै आएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया