स्वास्थ्यकर्मीमाथि कृतघ्न नबनौँ

अन‌ि यो पनि

गत जेठ १३ गते राति नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको घटना सार्वजनिक भयो । जेठ ४ गते अस्पतालमा भर्ना भएका ती सङ्क्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापर्बाहीले मृत्यु भएको भन्दै आफन्तले चिकित्सक र नर्सहरुमाथि आक्रमण गरेका थिए । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात भएपछि तनाव उत्पन्न भयो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसियूकक्षमा तोडफोड गरे । घटनामा चार नर्स र एक चिकित्सक घाइते भए । अस्पतालभित्रै आक्रमण भएपछि स्वास्थ्यकर्मीहरु राति भागेर ज्यान बचाउनुपरेको थियो । यसअघि जेठ ३ गते राति पनि मोरङको बूढगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएको थियो । सो घटनामा चिकित्सक र स्वास्थ्य सहायकसहित तीन जना घाइते भए । यी दुई प्रतिनिधि घटनाले अस्पतालमा स्वास्थ्यकर्मीहरु असुरक्षित रहेको पुष्टि गर्छ ।

अहिले कोभिड–१९ को दोस्रो भेरियन्टको महाव्याधिले आमनेपाली रोग र शोकमा परेका छन् । कोरोना सङ्क्रमण व्यापक बन्दै जाँदा अस्पतालहरुमा शय्या, अक्सिजन र औषधिको अभाव भइरहेका खबर उत्तिकै आइरहेका छन् । पछिल्लो समय कोभिडबाट हुने मृत्युदर पनि वृद्धि भइरहेको छ । अस्पताल तथा स्वास्थ्यचौकीहरुमा आवश्यक जनशक्ति नभएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीले १५÷१६ घन्टासम्म खटिनुपरेको छ । आफ्नो ज्यान हत्केलामा राखेर अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्ममा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि नै गुन्डागर्दी शैलीमा आक्रमण हुनु, अस्पतालमा तोडफोडमा उत्रिनु कृतघ्नताको पराकाष्ठा हो । किनभने, सीमित स्रोत र साधनबाट सञ्चालन भएका अस्पतालमा शय्याको व्यवस्था, अक्सिजन र औषधिको आपूर्ति हुन नसक्नु स्वास्थ्यकर्मीको दोष होइन । यो सरकार र सम्बन्धित स्वास्थ्य मन्त्रालयले प्रबन्ध गर्नुपर्ने विषय हो । उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीले सबै बिरामी बचाउन सक्दैनन् । प्रयास गर्नेमात्र हो । त्यसैले अस्पताल लगिएका सबै बिरामी शत् प्रतिशत नै निको भइहाल्छन् भन्ने ठान्नु मूर्खता हुन जान्छ । सरकारकै अकर्मण्यता र कोरोना महाव्याधिको समयमा गर्नुपर्ने प्रतिकार्यमा ध्यान नदिँदा उपचार अभावमा धेरै बिरामीको ज्यान गएको दृष्टान्त घामझैँ छर्लंङ्ग छ ।

भेरी अस्पताल र विराट शिक्षण अस्पतालमा भएको जस्तै श्रृङ्खला दोहरिँदै जाने हो भने दैनिक १५÷१६ घन्टा उपचारमा खटिने स्वास्थ्यकर्मीले कसरी सेवा दिन सक्लान ? सोचनीय विषय हो यो । अहिले सबै राजनीतिक दल, मानवअधिकारवादी तथा नेपाल चिकित्सक संघले उक्त घटनाको निन्दा गरेका छन् । सरकारले पनि घटनामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएको छ । कोरोनाको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी अग्रपंक्तिमा खटिन्छन् । कोरोनाको सबैभन्दा बढी जोखिममा कोही छन् भने ती चिकित्सक र स्वास्थ्यकर्मी नै हुन् । तर, पछिल्ला यी घटना हेर्दा सङ्क्रमित बिरामीसँगै स्वास्थ्यकर्मीहरु नै बढी जोखिममा छन् । कोरोनाको जोखिमसँगै स्वास्थ्यकर्मीहरु कुटिने त्रासले बिरामीको उपचारमा खटिइरहेका छन् । दोषीलाई कारबाही नगर्दासम्म अपराधीको मनोबल बढ्दै जान्छ । कुनै पनि स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अत्यन्त दुखद विषय हो । घटना हुनासाथ छानबिन गरी दोषीलाई कारबाही गर्ने हो भने यस्ता घटनाको पुनरावृत्ति हुने छैन । अझै महाव्याधिको समयमा त स्वास्थ्यकर्मीहरु प्राणरक्षककै अवतारका रुपमा देखिएका छन् । राज्यले उनीहरुलाई भयरहित वातावरणमा काम गर्ने व्यवस्था गर्नु उत्तिकै आवश्यक देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया