श्रम सम्मानमा सोचगत कुसंस्कार !

अन‌ि यो पनि

के साँच्चै हाम्रो समाजमा श्रमिकप्रति हेर्ने दृष्टिकोण सकारात्मक छ ! श्रमिक आखिर श्रमिक नै हो चाहे उसले प्रमाणपत्र लिएको होओस् या नहोओस् । विकसित देशमा श्रमिकले पढेर प्रमाणपत्र लिएर नेपालकै जसरी काम गर्दा गर्व हुने रहेछ तर नेपालमा पढ्न नसकेका र नचाहेकाले श्रमिक हुनुपर्दा हीनताबोध हुने रहेछ । कारण– समाजको सोच नै हो ।

आखिर विपत्तिमा, अप्ठ्यारामा सबैभन्दा बढी तिनै श्रमिकलाई पेटको समस्याले पिरलो मच्चाउँछ । कोरोनाको महामारीको दोस्रो लहरका कारण धेरै श्रमिकको अवस्था बिचल्ली हुने देखिन्छ । ठूलो सङ्ख्यामा विदेशमा काम गर्न गएका नेपाली दाजुभाइहरू फर्कने बाध्यता देखिन्छ । त्यहाँको व्यापार र कम्पनी डुब्ने खतराको सिकार बनेर नेपाली श्रमिकले दुःख पाउन सक्ने अर्को सम्भाव्यता रहन्छ । वास्तवमा जे जति सिद्धान्तका कुरा गरे पनि मजदुरलाई हेर्ने दृष्टिकोण सङ्कुचित छ । खलाँसीलाई हेप्ने शैली, होटलमा भाँडा माझिरहेको व्यक्तिलाई हेप्ने अर्थात् दर्जा हेरेर गरिने व्यवहारले संसारमा मान्छेले सदियौँदेखि आजसम्म विभेदलाई शिरोधार्य गरेको छ । जसको काम सबैभन्दा मूल्यवान् र अपरिहार्य छ, उसैलाई उपेक्षा गरिरहेको छ ।

१९ औँ शताब्दीलाई विश्व इतिहासले उद्योग तथा औद्योगीकरण विकास भएको उर्वर समय मानिन्छ । ऐतिहासिक भौतिकवादका आधारबाट हेर्दा श्रमिक भनेको कुनै राजा, महाराजा वा समाजले कहलाइएका व्यक्ति होइन बरु हरेक इतिहासका निर्माता श्रमजीवी जनता हुन् भनी बुझ्न सकिन्छ । हरेक व्यक्ति श्रमिक हुनुपर्छ– व्यवहारमा, यथार्थतामा अनि भावनामा पनि । मजदुर भनिसक्दा हामी झत्ते, झुत्रो, कमजोर, निरीह मान्छेको चित्र कोर्छौँ । बच्चालाई अपमानजन्य शब्दले गाली गर्ने कुलीन संस्कारको भूत भिराउँछौँ । समाज सोचमा गरिब छ तर श्रमिक भावनाका धनी हुन्छन् । श्रमको मूल्य र पसिनाको रहस्य तिनले बोध गर्छन् । फोहोर बटुल्ने, भारी बोक्ने, खेत खन्नेलाई सम्मान गर्न नसक्ने र आपूmलाई सभ्य ठान्ने सोच नै सामन्ती सोच हो ।

एक त आफ्नै मातृभूमिमा श्रमिकको सम्मान छैन अर्कोतिर परदेशमा पसिना बेच्ने श्रमिकको दशा झनै दर्दनाक छ । देशबाहिर र देशभित्र दुवैतिर श्रमिकहरु शोषित छन् । पाटीवाद, गुटबन्दीले अप्ठ्यारो नपारेसम्म देशभित्र त अलिअलि सुनुवाइ होला तर अर्काको देशमा कसले सुन्छ मजदुरको वेदना । नेपालीहरूले बाध्यतामा ओटी समेतमा काम गर्नैप¥यो । बाध्यता हुन्छ । यसर्थ विभिन्न नाममा मजदुर वर्ग माथि हमला भएका इतिहासका आधारमा मजदुर, श्रमिक वा श्रमजीवीहरूको आदर स्वरूप श्रमिक दिवस मनाउन थालिएको पाइन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरिब कविताभरि गरिबीको मूल्यभित्र जीवन देखे । प्रकृतिप्रदत्त भावमा श्रमिकको अस्तित्व लेखे ।

माक्र्सले श्रमिकको शक्तिलाई सम्मान गर्न सिकाए । अल्पसङ्ख्यकले चार घेरामा बाँधेकाहरूको आवाजलाई ओकल्न सिकाए । अब्राहम लिङ्कनले दासत्वको उन्मुलनार्थ विद्रोह गरे । नेल्सन मन्डेलाले काला जातिको श्रमिक मूल्यसँग सहर्ष सम्बन्ध बढाए । आखिर समृद्धि युगको नारा श्रमिकको पसिनाभरि फल्दो रहेछ । नेपालले सम्भाव्यताको चाङलाई पर्गेल्ने भिजन भएका व्यक्तित्वलाई एकजुट गराओस्, श्रमिकको सक्षमतालाई सम्मान गरेर रोजगार देओस् । बौद्धिक भेला तथा अनुसन्धान गराओस् किनकि श्रमिकको परिश्रम देशको लगानी, देशको उत्पादकत्व श्रमिकलाई रोजगार, देशको समृद्धि श्रमिकको व्यक्तित्व विकास सबै आपसका पर्याय हुन् । अब देशले व्यक्तिको व्यक्तित्व र देशको अवस्थामा छलाङ मार्नुपर्छ ।

हिजो जसले जुत्ता सिलाउँथे । त्यो आज प्राविधिक शिक्षा हो । जसले लुगा सिउँथे, त्यो भन्दा ठूलो प्राविधिक ज्ञान के हो ? जसले हिजो घर बनाउँथे, छानो छाउँथे या त भनौँ चित्रा बुन्ने, हलो तास्ने, गुन्द्री–गजरा बुन्ने आखिर कलात्मक पुख्र्यौली श्रममा बाँच्न जान्ने हामीले समयानुसार विकास गर्न नजान्दा हामीले अरूले गरेका आविष्कारमा निर्भर हुनुप¥यो । नत्र त तेर्सो काठको मुढोलाई हलो बनाउनु, हल्लुँड, जोतारा, फाली, करुवा, सोइला, जुवा, अनौ आदिको संयोजना या त भनौँ जोडजाड गर्नु सबैभन्दा ठूलो वैज्ञानिक बुद्धि थियो । आज त्यसलाई हामीले अद्यावधिक गरेको भए वैज्ञानिक आविष्कारमा हाम्रा पुर्खा निकै अघि थिए भन्नुपर्छ । तर, हामीले समयानुरूप नयाँ विकास गरेनौँ ।

ढुङ्गालाई बान्की मिलाएर काटेपछि तयार पारिएको घरको छानो, ती घरका मूल ढोका, झ्यालहरुमा छिनो र बसिलाद्वारा कुँदिएका काठका कला, यत्रा ठूला–ठूला भूकम्पलाई थेग्ने खुबी भएका घरको इन्जिनियरिङ कसैले पढाएर, लाखौँ खर्च गराएर सिकाइएको ज्ञान थिएन । अझ भनौँ गोरखा दरबारले कति भूकम्प खेप्यो होला अनि त्यो कति सय वर्ष पुरानो होला त ! आजका पक्की बिल्डिङको आयु वास्तवमा बढीमा ७० देखि १०० वर्षको भन्ने गरिन्छ । यो मननीय विषय हो । वास्तवमा ४० प्रतिशत युवाशक्ति भएको देशले युवाको श्रम बाहिर बेचिँदा दुःख मान्नुपर्छ । यहाँ त अर्काको शोषण गरेर पेटको जोहो गर्ने रत्तिभर शैली नभएकालाई श्रमको शिक्षाभन्दा बढी सम्मान गर्ने नीतिको खाँचो छ । चाणक्यको भनाइ छ, ‘परिश्रम गरे दरिद्रता नासिन्छ । मानिस अयोग्य हुँदैन ।’

इतिहासलाई नियाल्दा अमेरिकाको सिकागो सहरमा सन् १८८६ मे १ देखि मे ४ सम्म घटेको घटनाका स्मरणीय बन्यो । सन् १८८९ मा पेरिस अन्तर्राष्ट्रिय महासभाको पे्रmन्च क्रान्तिको याद गर्दै बसेको बैठकमा विश्वका लगभग ८० ओटा देशहरुद्वारा श्रमिकहरूको सम्मान गर्ने निर्णय भयो । यसै सन्दर्भहरूका आधारमा सन् १८९० देखि अन्तर्राष्ट्रिय मजदुर दिवसले आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा बोकेर अमेरिकी मजदूरहरूले यो आन्दोलनलाई चर्काएको प्रसङ्ग जोडिन्छ । सिकागो सहरको चउरमा मे ३ का दिन भइरहेको मजदुरहरूको सभामा तत्कालीन प्रहरीको एउटा समूहले हस्तक्षेप गर्दा ६ जना मजदुरहरूको हत्या भएको थियो । यसको विरोधमा ४ मेमा भएको सभामा प्रहरी र मालिकका एक एजेन्टद्वारा हस्तक्षेप गर्दा ४ जना मजदुरहरू मारिएका थिए । सिकागोको हे मार्केट काण्डको घटनालाई सम्झेर मे १ लाई श्रमिकको स्मरणीय दिन मानिन्छ ।

सिकागोमा भएको सर्वसाधारण जनताको हताहत भएपश्चात् यसपूर्व १६ घण्टा काम गर्नुपर्ने जटिल अमानवीय क्रुरताको इतिहास मेटिएको पाइन्छ । तर, विडम्बना भनौँ– आज १२९ वर्षपछि पनि नेपालले हलिया प्रथा, कमैया प्रथाका तुससँग पौँठाजोरी खेल्नुपरेको छ । वि.सं. २००३ फागुन २१ गते विराटनगर जुट मिलबाट मजदुरले आत्मसम्मानको अभिलासा बोकेर दगुरिरहँदा नेपालमा व्यवस्था परिवर्तन भएका छन् ।

किसानले काम अनुसारको दाम पाउँदैन बिचौलियाले सिन्डिकेट जमाउँछन् । केही सोच र शैलीले कछुवा गतिमा बाध्यतासँग बदलिने जमर्को गर्दो छ तर फरक शैलीबाट श्रमको अवमूल्यन पनि भइरहँदो रहेछ । कर्मचारीलाई काम लगाउने तलब नदिने, महिनौ दिनसम्म कुराउने, बेवास्ता गर्ने, फोन नउठाउने समस्याबाट मजदुर, श्रमिकहरू सधैँ जसो पीडित हुन्छन् । निजी संघ संस्थामा गधालाई जसरी पेलिँदा हात्तीको काम गराएर कुखुराको चारो दिइन्छ, सरकारले न्यूनतम् श्रमिक मापदण्ड तोके पनि यथार्थताको छानविन नहुनुले झारो टार्ने शैली बनेको देखिन्छ । आजभन्दा १९ वर्ष अघि बल्ल नेपालबाट कानुनी रूपमा कमैया प्रथा अन्त्य दण्डनीय बन्यो । शारीरिक, बौद्धिक या जुनसुकै खाले श्रमको मूल्य न्यायसम्मत हुनुपर्छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया