मृत्युको महामारीमा उभिएको जीवन

अन‌ि यो पनि

एक समय वैशाली भन्ने ठाउँमा अकाल परेको थियो र महामारी फैलिएको थियो । मानिसहरू कुकुरको मृत्यु मरिरहेका थिए । मृत्युको ताण्डव नृत्य भइरहेको थियो । मृत्युको यस्तो विकराल रूप त मानिसहरुले न कहिले देखेका थिए न सुनेका थिए । सब उपाय गरिसकिएको थियो तर सबै उपायले हार खाइसकेको थियो । तब कुनै मार्ग नदेखेर लिच्छवी राजा राजगृह गएर भगवान् (बुद्ध) लाई वैशाली लिएर आए ।

भगवान्को उपस्थितिमा मृत्युको नाङ्गोे नाच बिस्तारै–बिस्तारै शान्त भएको थियो– मृत्युमाथि त अमृतकै विजय हुन सक्दछ । तब जल नि वर्षेको थियो, सुकेको वृक्ष पुनः हरियो भएको थियो; वर्षौंदेखि नलागेको फूल फेरि लागेको थियो, फेरि फल लाग्न सुरु भएको थियो । मानिसहरू अति प्रसन्न थिए । र, भगवान्ले वैशालीबाट बिदा लिँदा मानिसहरूले महोत्सव मनाएका थिए, उनीहरूको हृदय आभार र अनुग्रहले गद्गद थियो । तब कुनै भिक्षुले भगवान्सँग सोधेको थियो– यो चमत्कार कसरी भयो ? भगवान्ले भनेका थिए– भिक्षुहरू, कुरो आजको हैन । बीउ त अत्यन्त पुरानो हो, वृक्ष अवश्य आज भएको हो । म पूर्वकालमा शंख नामको ब्राह्मण भएर प्रत्येक बुद्ध पुरुषको चैत्यहरूको पूजा गर्दथँे । र, यो जे भएको छ त्यही पूजाको फलले भएको हो । जे ती दिन गरिए त्यो त अल्प थियो, अत्यल्प थियो, तर त्यसको यस्तो महान् फल भएको छ । बीउ त सानै हुन्छन् तर त्यसबाट जन्मेको वृक्ष आकास छुन समर्थ हुन्छ । थोरै त्यागले पनि, अल्पमात्र त्यागले पनि महासुख ल्याउँछ । थोरै पूजा पनि, थोरै ध्यान पनि जीवनमा क्रान्ति बन्दछ । र, जीवनको सबै चमत्कार ध्यानकै चमत्कार हो ।

पहिला त यो सानो कथालाई ठीकसँग बुझौँ । किनकि कथामा नै सूत्रहरूको प्राण लुकेको छ ।

गुरजिएफ निरन्तर आफ्ना शिष्यहरूलाई भन्ने गर्दथ्यो, जुन व्यक्तिले ध्यान गरेन ऊ कुकुरको मृत्यु मर्दछ । कसैले उसलाई सोध्यो, कुकुरको मृत्युको अर्थ के हो ? तब गुरजिएफले भन्यो, कुकुरको मृत्युको अर्थ यो हुन्छ कि व्यर्थ जियो र व्यर्थ म¥यो । गाली खायो, ठाउँ–ठाउँबाट लखेटियो, जहाँ गयो त्यहीँ लखेटियो, बाटोमा फालिएको जुठोले जिन्दगी गुजार्यो, फोहोरमै बस्यो, सुत्यो, र यसरी नै आयो र व्यर्थ गयो, न जिन्दगीमा केही पायो, न मृत्युमा केही दर्शन भयो– कुकुरको मृत्यु !

तर, हामीलाई लाग्दछ कहिलेकाहीँ कोही कुकुरको मृत्यु मर्छ । कुरा उल्टो छ, कहिलेकाहीँ कोही मर्दछ जसको कुकुरको मृत्यु हुँदैन । हजारमा एकाध मर्दछन् जसको मृत्युलाई तिमी कुकुरको मृत्यु हैन भन्नेछौ । जसले जियो, जसले जान्यो, जसले जागेर अनुभव ग¥यो, जसले जीवनलाई चिन्यो, जसले जीवनको किरण समात्यो र जीवनको स्रोततिर आँखा उठायो, जो ध्यानस्थ भयो, ऊ नै कुकुरको मृत्यु मर्दैन ।

महामारी फैलिन लाग्यो, मान्छेहरू मर्न लागे भने हामी बडो छटपटाउँछौँ । एउटा कुरामा हामी कहिले ध्यान नै दिँदैनौँ कि सबैलाई मर्नु छ । महामारी फैलियोस् या नफैलियोस् । यो जगत्मा सय प्रतिशत नै मान्छे मर्दछन् । ख्याल गरेका छौ ? यस्तो छैन कि उनान्सय प्रतिशत मान्छे मर्दछन् कि अन्ठान्नब्बे प्रतिशत मान्छे मर्दछन्, कि अमेरिकामा कम मर्दछन् र भारतमा ज्यादा मर्दछन् । यहाँ सय प्रतिशत मान्छे मर्दछन् । जति बच्चाहरू जन्मन्छन् यहाँ त्यति नै मान्छे मर्दछन् । महामारी त फैलिएको नै छ । महामारीको अर्थ अर्को के हुन्छ र ? जहाँ कसैको पनि बच्ने कुनै उपाय छैन । जहाँ कुनै औषधि काम आउँदैन । साधारण बिमारी हामी त्यसलाई भन्दछौँ जहाँ औषधि काम आउँदछ, त्यसलाई भनिन्छ बिमारी, रोग । महामारी भनिन्छ जहाँ कुनै औषधि काम आउँदैन । जहाँ हाम्रो सबै उपाय टुट्दछ र अन्ततः मृत्युले जित्दछ । महामारी त फैलिएको नै छ, सदाबाट फैलिएको छ । यो पृथ्वीमा हामी मसानघाटमा नै उभिएको छौँ । यहाँ मर्नुको अतिरिक्त अरू केही हुनेवाला छैन । ढिलो–चाँडो घटना घट्नेछ । मात्र समयको केही अन्तर हुनेछ ।

वैशालीका मानिसहरूले यो कहिले देखेका थिएनन् कि सबै मानिसहरू मर्दछन्, सबैले मर्नु पर्दछ । यदि यो देख्दथे त हामीलाई जीवनको सूत्र दिनुहोस्, कुनै सोपान दिनुहोस् कि हामी पनि जान्न सकौँ अमृत के हो ? भनेर पहिले नै भगवान्लाई बोलाउँथे । तर गएनन्, किनकि महामारी फैलिएको थिएन ।

मान्छेले केही यस्तो व्यवस्था गरेको छ जसले मृत्यु देखिँदैन । जुन सर्वाधिक महŒवपूर्ण हो त्यो देखिँदैन । र जे व्यर्थका कुराहरू हुन्, खुब देखिन्छन् । तिमी एउटा कार किन्दा जति सोच्दछौ, जति रात सुत्दैनौ, जति केट्लग हेर्दछौ; तिमी एउटा घर किन्दा जति खोजबिन गर्दछौ; तिमी एउटा सिनेमाघरमा जाँदा जति विचार गर्दछौ, पत्रिकामा हेर्छौ कहाँ जाने कुन फिलिम हेर्ने, तिमी जीवनको सम्बन्धमा यति पनि सोच्दैनौ ! तिमी यति देख्दैनौ कि यो जीवन हातबाट चिप्लँदैछ र मृत्यु प्रतिदिन नजिक आइरहेछ । मृत्यु ढोकामै उभिएको छ, कतिखेर लिएर जान्छ भन्न सकिन्न । हामीले मृत्युलाई यसरी झुट्ठाएका छौँ कि जसको हिसाब छैन ।

मेरो एउटा किताब छ– अनटिल यु डाय, जबसम्म तिमी मर्दैनौ । इंग्ल्यान्डमा एक प्रकाशक त्यसलाई छाप्न चाहन्छ– हल्टन प्रेस । उनीहरूको पत्र मलाई प्राप्त हुँदा म चकित भएँ । उनीहरूले लेखेका छन्, किताब अद्भुत छ, हामी यसलाई छाप्न चाहन्छौँ इंग्ल्यान्डमा, तर नाम हामी यो राख्न सक्दैनौँ । अनटिल यु डाय, यो शीर्षक हेरेरै मान्छे यसलाई किन्दैनन् । मानिसहरू मृत्युबाट यति डराउँछन् । यस्तो किताब को किन्दछ जसको माथि लेखिएको छ– अनटिल यु डाय । उनीहरूले लेखे, नाम हामी यो राख्न सक्दैनौँ, नाम बदल्नु पर्दछ ।

सूचक छ यो कुरा, हामी मृत्युको कुरा नै कहाँ गर्दछौँ ? कोही मर्दछ तब हामी भन्दछौँ, देहावसान भयो । लुकाउछौँ । कोही मर्दछ त हामी भन्दछौँ, स्वर्गवासी हुनु भो । चाहे नर्क नै किन नगएका हुन् । सयमा उनान्सय त नर्क नै जाँदा हुन्, जीवन जस्तो देखिन्छ त्यसमा सायद नै कोही कहिले स्वर्गवासी होला । तर यहाँ जो मरोस्, जहाँ मरोस्– दिल्लीमै मरे पनि स्वर्गवासी ! बस मर्नासाथ स्वर्गवासी भए । परमात्माको प्यारो भए । प्रभुले लानु भो ! मृत्यु शब्दलाई सीधा उपयोग गर्न पनि हामी डराउँछौँ । किन ?

मृत्यु शब्दले छटपटी हुन्छ, मृत्यु शब्दमा आफ्नो मृत्युको खबर पाइन्छ, धुन पाइन्छ । मृत्यु शब्द हामीलाई याद गराउँछ कि मलाइ पनि मर्नु पर्दछ । देहवसानमा यस्तो धुन भेटिन्न । स्वर्गीयमा यस्तो भाव जन्मँदैन । ठीकै छ कुनै दिन हामी पनि स्वर्गीय हुनेछौँ, केही छैन, स्वर्ग पाइनेछ । मृत्यु (शब्द)ले कुरा स्पष्ट भन्दछ, स्वर्गीयमा कुरो लुकाएर भनिएको छ । विषलाई मिठासमा लुकाइएको छ, माथिबाट सक्खरको पत्र लगाइएको छ ।

चिहानघाट देख्दछौँ, सारा दुनियाँमा, जुनसुकै जातिको होस्, धर्मको होस्, जुनसुकै देशको होस्, गाउँभन्दा पर बनाउँदछन् । र, मृत्यु उभिएको छ जिन्दगीको बीचमा ।

ठीक जहाँ तिम्रो बजार छ, एमजी रोड़मा, त्यहाँ हुनुपर्छ चिहानघाट । ठीक बीच बजारमा । ताकि जतिपटक तिमी बजार जाऊ– तरकारी किन, कि कपडा किन, कि सिनेमाघर जाऊ– हरेक पटक तिमीलाई मृत्युको साक्षात्कार होस्, हरेक पटक तिमी देख कुनै चिता जलिरहेको । हरेक पटक तिमी देख फेरि अर्को लास आयो । बीच बजारमा हुनु पर्दछ मसानघाट, किनकि मृत्यु बीच बजारमै उभिएको छ । त्यसलाई हामी बाहिर हटाएर राख्दछौँ– गाउँभन्दा टाढा, जहाँ हामीलाई जानु पर्दैन । या कहिलेकाहीँ कसैसँग मलामी जानु पर्दा अत्यन्त बेमनले जान्छौँ र छिट्टै त्यहाँबाट भाग्दछौँ । जानुचाहिँ त्यही पर्नेछ जहाँबाट तिमी भागी–भागी आउँछौ । जसरी तिमी अरूलाई पु¥याएर आउँछौ, ठीक त्यसरी नै अरूले तिमीलाई पु¥याएर आउनेछन् ।

तिमीले कहिले सोचेका छौ ? जीवनको कुनै उपचार छ ! टिबीको उपचार छ, क्यान्सरको उपचार हुनेछ, तर जीवनको कुनै उपचार छ ! र जीवन सबैलाई मार्दछ । जीवन महामारी हो ।

तर वैशालीका मान्छेहरूले बुझेका थिएनन्, जसरी तिमीले बुझेका छैनौँ, जसरी कसैले बुझेका छैनन्, हामी महामारीकै बीचमा जन्मन्छौ । किनकि हामी दुई मरणधर्मा व्यक्तिहरूको संयोगले जन्मन्छौँ । हामी मृत्युको बीचमै जन्मन्छौँ, हामी मृत्युको नृत्यको छायामा नै जन्मन्छौँ । हामी मृत्युकै छायामा नै हुर्किन्छौँ र ठूलो हुन्छौँ । र, एक दिन हामी मृत्युकै दुनियाँमा फर्केर जान्छौँ– माटो–माटोमा खस्दछ । हामी महामारीमा नै बाँचिरहेका छौँ । जसलाई यो देखिन्छ उसको जीवनमा क्रान्तिको सूत्रपात हुन्छ ।

(एस धम्मो सन्नतनो, भाग १०, प्रवचन ९२)

प्रतिकृया

मुख्य समाचार

प्रजातन्त्रका सेनानीको नाममा सभाहलको घोषणा

भरतपुर । नेपाली कांग्रेस चितवनले प्रजातन्त्रका सेनानी एवम् नेपाली कांग्रेस चितवनका सल्लाहकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया