माडीको अयोध्यापुरीमा बन्दैछ ‘दशरथ दरबार’

अन‌ि यो पनि

माडी । माडी नगरपालिका वडा नं–९ स्थित कृष्णनगर पार्कमा रामधाम निर्माण भइरहँदा नजिकै रहेको माडी–८, दक्षिण अयोध्यापुरीमा स्थानीयवासीहरु ‘दशरथ दरबार’ बनाउन लागेका छन् ।

सोही रामधाम बनाउन दोस्रो वैकल्पिक स्थानका रुपमा चर्चित दक्षिण अयोध्यापुरीवासीहरुले रामधामको निर्माणस्थलको टुङ्गो लागेकाले छुट्टै ‘दशरथ दरबार’को नयाँ प्रस्ताव अगाडि बढाएका हुन् । यसका लागि माडी–८, दक्षिण अयोध्यापुरीस्थित पुरातात्विक महत्त्वका इँटाहरु भेटिएको स्थानमा घेराबार गरी मन्दिर (दरबार) बनाई राजा दशरथ, रानी कौशल्या र रामको मूर्ति स्थापना गर्ने माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले बताए ।

प्रस्तावित दरबारमा राख्नका लागि स्थानीयवासीहरुको सहयोग र सक्रियतामा राजा दशरथ, रानी कौशल्या र रामको मूर्तिको निर्माण भने पूरा भइसकेको उनले जानकारी दिए । माडीकै स्थानीय मूर्तिकार पार्वती विश्वकर्मा र मूर्तिकार सूर्य मध्यरातले दशरथ, कौशल्या र रामको मूर्ति निर्माण गरेका हुन् । तयारी अवस्थामा रहेका मूर्तिहरु केही हप्ताभित्र प्रतिस्थापन गर्ने योजना रहेको वडाध्यक्ष अधिकारीले जनाए ।

माडी नगरपालिकाको २२ भदौ ०७७ मा बसेको बैठकले वडा नम्बर ९ स्थित रिउ खोला र घाँघर खोलाको दोभान (कृष्ण नगरपार्क)मा एकसय बिघामा फैलिएको जमिन अयोध्याधामका लागि प्रस्ताव गरेको थियो । त्यस क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले यो जमिन अनुपयुक्त देखिएमा वैकल्पिकरूपमा माडी– ८ स्थित दक्षिण अयोध्यापुरी क्षेत्रको करिब ५० बिघा जमिनसमेत नगरपालिकाले प्रस्ताव गरेको थियो ।

गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया सुुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिनाअगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो । माडी–९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिहरु प्रतिस्थापन भइसकेको छ ।

निकुञ्जको काखमा रहेको माडी नदी कटान तथा जंगली जनावरको आक्रमणको चपेटामा पर्दै आएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिपछि माडीवासीले धार्मिक क्षेत्र विकास हुने अपेक्षा गरेका छन् । माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारी धार्मिक पर्यटन विकास गर्ने अवसर आएको बताउँछन् ।

‘यहाँ अयोध्या क्षेत्रका केही संरचना भेटिन्छन्, अझै खोजबिन हुनुपर्छ’,उनले भने, ‘पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने अवसर आएको छ ।’ उनको वडामा वैकुण्ठधाम, सीताराम गुफालगायत धार्मिक क्षेत्र छन् । दक्षिण अयोध्यापुरीमा प्राचीन भग्नावेश इँटाको थुप्रो पनि भेटिएको छ ।

रामायण र स्कन्द पुराणमा उल्लेख पाँच पाण्डव ग्राम, वाल्मीकि आश्रम, त्यतिबेला दशरथ राजा सिकार खेल्न जाँदा श्रवणकुमारले घैंटाबाट पानी उगाएको र वाण हानेको वैकुण्ठे ताल, रामसीता गुफा, ठोरीको सीता गुफा यी सबै तथ्यले पनि निकट भविष्यमा माडीले विश्वकै ध्यान केन्द्रित गर्ने धार्मिक तथा पर्यटकीय स्थलका रुपमा अयोध्यालाई विकास गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष अधिकारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया