नारायणगढ । नारायणगढ बसपार्क टोल सुधार समितिले आउँदो भदौं २४ मा चौथो राष्ट्रिय लाखेनाच प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँच वर्षअघि लाखेनाच प्रतियोगिता सुरू भएको थियो । लगातार तीन वर्षसम्म प्रतियोगिता आयोजना भएको थियो । तर बीचमा दुई वर्ष रोकिएको थियो ।
‘हामी यो वर्ष फेरि भब्य रुपमा प्रतियोगिता गर्दैछौं’, तयारीका सम्बन्धमा छलफल गर्न शुक्रबार नारायणगढमा आयोजित भेलामा बसपार्क टोल सुधार समितिका अध्यक्ष निरञ्जनलाल श्रेष्ठले भने । नेवार समुदायले निकाल्ने लाखेनाच पछिल्लो समय कम हुँदै गएको छ ।
साँस्कृतिक मह¤वको लाखेनाचको जर्गेनाका लागि राष्ट्रिय प्रतियोगिता सुरू गरेको आयोजक संस्थाका राजेन्द्र पियाले बताए । तेस्रो प्रतियोगितामा विभिन्न जिल्लाका २५ समूह सहभागी थिए । यो पटक भाग लिने समूह बढ्ने पियाले बताए ।
पियाका अनुसार यो पटक पुरस्कारको राशि पनि बढ्ने छ । अघिल्ला प्रतियोगिताहरुमा विजयी हुने समूहले पहिलो पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँ पाउथे । त्यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार रुपैयाँ पाउने गरेकोमा यो पटक रकम पनि बढ्ने पियाले बताए ।
Discussion about this post