वंश [लघु कथा]

अन‌ि यो पनि

–राजन खनाल

अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ पढिसकेपछि त्यस उपन्यासकी मुख्य पात्र ‘तारा’ (बाल विधुवा, जो अहिले देवघाट वृद्धाश्रममा आश्रय लिइरहेकी छिन्) लाई भेट्ने साह्रै रहर पलाएर आयो मेरो मनमा, अनि लागेँ देवघाटतिर ।
देवघाटमा मेरो गन्तव्यभन्दा लगभग ४००/५०० मि. अगाडि नै केही वृद्धवृद्धाहरु पीपलबिनाको चौतारीमा गफ्फिइरहेका थिए । अनि म पनि ‘आगो ताप्नु मुढाको, कुरो सुन्नु बूढाको’ भनेझैँ त्यही चौतारीमा गएर टुसुक्क आफूलाई विराजमान गराएँ ।
केही क्षणको बसाइँमै मैले ती वृद्धवृद्धाहरु को हुन्, कहाँबाट, किन, के–कति कारणले वृद्धाश्रम आइपुगे ? जस्ता कुराहरुको आन्द्राभुँडी केलाउन भ्याइसकेको थिएँ । तर ‘कौन पुछेगा खेसरी के दाल !’ म बबुरोको त नाम पनि सोधेनन् उनीहरुले । सायद, आआफ्नै गफमा चुर्लुम्म थिए उनीहरु ।
यसरी गफिँदै जाने क्रममा एक वृद्ध भन्दै थिए– ‘त्यो पोहोर साल मुग्लान गएर आउने हर्केको जहानले त फेरि पनि छोरी नै पो पाइछे त, थाहा पायौ तिमीहरुले ?’ बाफ रे, तगडा रैछन् तनहुेँ बूढा, एकै सासमा निप्टाइदिए सबै कुरा– म मनमनै गमिरहेँ ।
‘ए ! फेरि पनि छोरी नै पो पाइछे ? बिचरा ! बिर्खमान नातिको मुख नहेरी त मर्दिनँ भन्थे । यो जुनीमा नातिको मुख हेर्न पाउलान् जस्तो छैन’– मकवानपुरतिरबाट लगभग ८÷९ महिना पहिला वृद्धाश्रम आएका बूढाले दुःखेसो पोख्दै भने ।
सबै बूढाहरु यही विषयमा खासखास खुसखुस गर्दै, बिर्खमान र उनको छोरा (हर्के)प्रति सहानुभूति दर्शाउँदै थिए । म पनि उनीहरुको कुरालाई सुनेझैँ गरिरहेँ । यीमध्ये पण्डित श्रीराम खनाल बाजेको भने केही फरक मत पाएँ । उनी भन्दै थिए– ‘त्यस्तो नभन बाबै ! आजकल त छोरा भा’नि, छोरी भा’नि एकै हुन् । अल्लि गतिला भा’का छोराछोरी विदेशतिर हान्निहाल्छन् । अल्लि कमजोरजस्ताचाहिँ बाआमालाई पीर बनाएर बस्छन् । के गर्नु ? बाआमालाई चाहिँ सँगै भ’काको नि पीर ! टाढा भ’काको नि पीर !’
आन्द्रै मुखबाट निस्केला जस्तो गरी खोकिसकेपछि गोख्ते काजीले पण्डित खनालका कुरालाई बीचमै काट्दै भने– ‘त्यसो भनेर काँ हुन्छ ? जुन जमाना आए नि बुहारी भिœयाउने छोराले नै हो । आखिर छोरीले भिœयाउने होइन क्या र ! छोराको मोरा नि बुहारी पाएपछि त्यसैत्यसै बाउँठिदा र’चन् ।’ उनी भन्दै गए– ‘बरू छोराका बजियाले भन्दा त छोरीले नै धेरै माया गर्दा र’चन् । कम्तीमा खाइस् नखाइस्, के छ ? कसो छ ? भनेर त सोध्छन् ।’
उनी रन्थनिँदै एक हातले आँखाको परेला पुछ्दै मेरो सानो काम प¥यो भनी त्यहाँबाट हिँडे । सायद, त्यो उनको भोगाइ थियो या के, त्यतिबेला मैले ठ्याक्कै निक्र्यौल पाउन सकिनँ ।
बाँकी वृद्धवृद्धामध्ये कसैलाई पण्डित खनाल बाजेका कुरा चित्त बुझे भने कसैलाई गोख्ते काजीका ।
कोहीचाहिँ ‘जे जस्तै भए नि छोरा भन्या छोरा नै हो । मरेपछि पिण्डदान अनि वंश धान्नकै लागि भए नि छोराचाहिँ चाहिन्छ चाहिन्छ’ भन्दै गर्दा अचानक त्यति नै बेला नारायणबाजे पनि टुप्लुक्क त्यहीँ आइपुगे । अनि, आफ्नो खल्तीको मोबाइल देखाउँदै भने– ‘मेरो छोरो थ्यो र त यी मैले यो खुर्पेटो बोक्न पा’छु । यसैमा बेलाबेलामा नाति केटाको बोली नबुझे नि सुन्न पा’छु । उनीहरु आफ्नो दुनियाँमा रमाइरहेका छन् भन्ने थाहा पा’छु । अरु जेजस्तै भा’नि उनीहरु खुसी भा’त भैगो नि ! हाम्रो खुसी भन्या नै त्यै त हो ।’ उनी मुस्कुराउन त मुस्कुराए, तर सबैको अगाडि आँसु लुकाउन भने सकेनन् ।
खै, नारायणबाजेले पण्डित खनाल, गोख्ते काजी या अरु कोही कसको समर्थन गरे ! बुझ्नै सकिनँ मैले पनि ।
यतिकैमा एक जना अधबैँसे महिला देखा परिन् र भनिन्– ‘ल अब खाना खाने बेला भयो । सबैजना खाना खान हिँड्नुस् ।’
पीपलबिनाको एक्लो बरको चौतारीलाई एक्लो पार्दै सबैजना वृद्धाश्रमको भान्साकोठातिर लागे भने मचाहिँ आफ्नो गन्तव्यतिर ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया