जनता (कविता)

अन‌ि यो पनि

–दिपिका अधिकारी

म देशको केवल जनता न हो
कहाँ पाउथेँ र मैले
मेरा आफ्ना हक अनि अधिकार
लोकतन्त्र, गणतन्त्र, जनतन्त्र
र अनेक तन्त्रका
सुविधा र अवसरहरु
तपाईंको र मेरो सम्बन्ध
त्यतिबेला नै टुटिसकेछ क्या हो
जब मैले टन्टलापुर घाममा
चार घन्टा लाइन बसेर
मेरो औँला रङ्गाएर फर्किएँ
त्यो नीलो मसी मेटिए पनि
यो औँला त साक्षी छ नि
घरीघरी तपाईंको याद दिलाइरहन्छ ।

म जनता न हुँ
मेरो छाक काटिएको रकमले
तपाईं आफूमात्र गाडी चढेर हिँड्ने
आलिसान बंगलामा बस्ने
यो कस्तो न्याय हो तपाईंको
खै, कसरी पो निदाउनुहुन्छ कुन्नि
तपाईंले देखाएका सपनाहरु जिउँदै छन्
चिच्याइरहन्छन्, कराइरहन्छन्
म पटक्कै निदाउन सक्दिनँ
बाटो उस्तै छ पानी पर्दा
सात दिन बस चल्दैन
बिचरा एम्बुलेन्स नपाएर मान्छे मर्छन्
गाउँ रित्तो भयो
साना नानीबाबुहरु गाउँमा नपढ्ने रे
त्यतिमात्र कहाँ हो र !
गाग्री च्यापेर पधेँरो जाँदा नि
तपाईंलाई नै सम्झिरहन्छु
हो, पालो त कुर्नैपर्छ
यतिविधि सपना देखाएर
खै, कसरी बिर्सनुभयो
यो औँला साक्षी छ नि
खियाइरहँदा नि सम्झन्छु
बसिरहँदा नि सम्झन्छु
म कस्तो लाजमर्दो जनता
तपाईंलाई भन्दा मलाई पो लाज लाग्ने
तपाईं के बोल्नुहुन्छ
तपाईं के गर्नुहुन्छ
मलाई ऐँठन भइरहेछ
म नेपाली जनता हुँ भन्न पनि ।

ए हजुर !
कोही त यस्तो भैदियोस्
जसले मेरा सपनाहरुको कदर गरोस्
जनतन्त्रैजनतन्त्र होस्
अनि,
मेरा पनि सपना पूरा हुनेछन्
यो जनताको सपना पूरा हुनेछ
मलाई गर्व गर्नुछ
यो मेरो आफ्नो औँला हेरेर
र भन्न मन छ
म यो देशको
एउटा जनता हुँ, जनता !

(समिभञ्ज्याङ, लमजुङ)

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया