भरतपुर–२६ को शिशै भगडी क्षेत्र उच्च जोखिममा

अन‌ि यो पनि

ज्योतिनगर । भरतपुर–२६, शिशै निवासी ६२ वर्षीय जीवनराम महतो आकाश गड्गडाएर पानी पर्न थालेपछि झस्कने गर्छन् । हरेक वर्ष वर्षाको आगमनसँगै बस्ती नै नारायणीमा बग्ने हो कि भन्ने त्रास सम्झँदै वस्तुभाउ, जहानबच्चा कसरी बचाउने हो भन्ने पीर हुन्छ उनलाई । लगातार केही दिनदेखि परिरहेको पानीले नदी भरिएर किनारा भत्काउन थालेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिनसम्म पनि पानी परिरहन सक्ने देखिएकाले बर्सेनि बर्सादको समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका भरतपुर महानगरपालिका वडा नं–२६ का कोइला, शिशै भगडी क्षेत्रमा नदी कटान र डुबानको उच्च जोखिम रहेको उनले बताए ।

पोहोरको बर्सादको सुरूवातसँगै नारायणी नदीमा आएको बाढीले भत्काएको तटबन्धनका ड्याम अझै नबनाइँदा सधैँ खेल्दै आएको नारायणी नदी नै काल बन्ने हो कि भन्ने त्रास छ उनलाई । पोहोरको बाढी बस्तीमा पसेपछि घरहरुका सामान, लत्ताकपडा तथा अन्य सामग्रीहरु आफन्त तथा स्कुलमा लगेर राखिएको थियो । ‘यहाँका खेतीयोग्य बिघौँबिघा जमिनको रोपो बगाएर खेत नै उजाड बनेर गाँस पनि खोसिएको छ, बस्ती पनि सङ्कटमा छ, अहिले त्रास र दुःखमात्रै बाँकी छ’, उनी भन्छन् ।

आफूले थाहा पाउँदा नदी बस्तीबाट धेरै टाढा रहेको बताउँदै महतोले अकल्पनीयरुपमा नदीले छ–सात सय मिटर जमिन कटान गरेको र करिब आठ–दस बिघा नै क्षति पु¥याउँदै जनताको तटबन्ध कार्यक्रमअन्तर्गत बनाइएको स्पर भत्काएर लगेकोे बताए । तटबन्धको नाममा ठेकेदारले बलियो नदीकिनार फोरेर कमजोर स्पर बनाएको भन्दै उनले जोगी कुटीमा थुनेर नदीको धार मोड्न खोज्दा यहाँ कटान बढेको बताए ।

प्रभावकारी तटबन्ध नगर्ने हो भने उच्च जोखिममा रहेका कोइला, शिशै भगडी, सिस्वार क्षेत्रका सम्पूर्ण बस्ती उठ्ने खतरा रहेको भरतपुर–२६, शिशै निवासी रामप्रसाद महतो बताउँछन् । बर्सेनि बस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको भन्दै उनले पोहोरमात्रै नारायणी नदी बढ्दा भरतपुर–२६ का झन्डै ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको र यसवर्ष पनि यस्तै अवस्था रहेको बताए । वर्षामा घरछेउमा नारायणी बग्ने हुनाले स्थानीय तहले बर्सेनि आउने समस्यालाई मध्यनजर गर्दै बाढी प्रतिरोधात्मक दिगो शक्ति आर्जनलाई आफ्नो कार्यसूचीमा समावेश गरी समयमै ध्यान केन्द्रित गर्नुपर्ने उनको जोड छ ।

नारायणी नदीबाट हुने क्षतिको दीर्घकालीन समस्या समाधानका लागि योजनाका साथ नदी नियन्त्रणका निम्ति अगाडि बढ्न र पटकपटक बाढीको चपेटामा परिरहेको यस विपद्को जोखिमयुक्त क्षेत्रलाई लक्ष्य गरेर विशेष योजना ल्याउन कालाबञ्जर मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भूपालनाथ कँडेलले आग्रह गरेका छन् ।

उनले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिए । उनले नारायणी नदी तटीय क्षेत्र बर्सेनि बाढीको उच्च जोखिममा पर्ने गरेको बताए । ‘यसको दीर्घकालीन समाधानमा ध्यान नदिने हो भने कटानले फेरि जोखिम बढाउने निश्चित नै छ, माघमै तटबन्धको काम सुरू हुनुपर्ने हो, अझै भएको छैन’, उनले भने ।

हरेक सालजसो नारायणी नदीले स्पर (नदी कटान रोक्न बनाएको बाँधको ड्याम) भत्काएर बस्तीमा पस्न थालेपछि सम्भावित दुर्घटनाको पीडाले त्रसित बनेका स्थानीयहरुले नदी जोखिम न्यूनीकरणका दीर्घकालीन रणनीति बनाउनसमेत माग गरेका छन् ।

विसं २०६६ सालमा जनताको तटबन्ध नामक आयोजनामार्फत नारायणी नदीमा तटबन्ध थालिएको हो । पछि सोही आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी व्यवस्थापन आयोजना भएको छ । सो आयोजनाले हरेक वर्ष काम गर्दै आएको भए पनि बजेट अभावका कारण सोचेजस्तो काम हुन सकेको छैन ।

नारायणीमा चितवनतर्फ ३५ किलोमिटर तटबन्ध गर्नुपर्नेछ । तर, अहिलेसम्म नारायणीमा चितवनतर्फ १४ किलोमिटरमात्रै तटबन्ध भएको छ । यद्यपि, यस आयोजनाले जोखिमपूर्ण ठाउँहरुमा तटबन्ध गरिदिँदा चितवन र नवलपरासीका धेरै भूभाग जोगिएका छन् । हालसम्म नदी तटबन्धमा १ अर्ब ७२ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया