धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा थप

अन‌ि यो पनि

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोना भाइरसको सङ्क्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा एक साताका लागि थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै गत वैशाख २१ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ १५ गते रातिदेखि लागू हुने गरी २२ गतेसम्म थप गरेको हो ।

नयाँ भेरियन्टसहितको सङ्क्रमण तीव्ररुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको जनाएको छ । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यसअघि जारी भएजस्तै अत्यावश्यक खाद्य सामग्री खरिद–बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहनेछन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्ट स्टोर्स (खाद्य सामग्रीमात्रै बिक्री गर्न) खुला हुनेछन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल पनि बिहान ६ बजेदेखि ९ बजेसम्ममात्रै खोल्न पाइने निर्णय भएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दाबाहेक कुनै पनि व्यक्ति अनावश्यकरुपमा घरबाहिर निस्कन पाउने छैनन् ।

सार्वजनिक तथा निजी सवारीसाधनलाई पनि जेठ २२ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्र्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधनमात्रै सञ्चालन गर्न पाइने भएको छ ।

विवाह, व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह, व्रतबन्धलगायतका कार्य गर्दा दस जनाभन्दा बढी उपस्थित हुन नपाइने र बढीमा १० जनामात्रै सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी खटाई स्वास्थ्य सुृरक्षा मापदण्ड कायम गर्दै हप्ताको २ दिनमात्रै आलोपालो प्रणाली गरी खोल्न पाइने जनाइएको छ ।

अत्यावश्यक सेवाप्रवाह गर्ने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई परिचयपत्र र कार्यालय पोसाकको आधारमा आवतजावत गर्न दिइने भएको छ ।

निषेधाज्ञाको अवज्ञा गर्ने व्यक्तिलाई एकपटकमा एक लाख र संस्थालाई पाँच लाख रूपैयाँसम्म जरिवाना गर्न सकिने भन्दै स्थानीय प्रशासनले जारी गरेको आदेश कडाइका साथ पालना गर्न निर्देशन जारी गरिएको छ । त्यसैगरी, मास्क नलगाई हिँडडुल गरेमा पटकैपिच्छे एक सय रूपैयाँ, अनावश्यकरुपमा ंिहँडडुल गर्ने सर्वसाधारणलाई पटकैपिच्छे दुई सय रूपैयाँ, आदेशमा तोकिएकाबाहेक अन्य सवारीसाधन चलाएमा दुईपाङ्ग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई पटकैपिच्छे पाँच हजार रूपैया जरिवाना गरिने आदेशमा जनाइएको छ ।

निषेधाज्ञाको बेला जिल्लाभित्र सुर्ती, चुरोट, मदिराजन्य उत्पादनहरु ओसारपसार र बिक्रीवितरण गर्नसमेत रोक लगाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया