कोरोनाको दोस्रो लहरले रोक्यो परीक्षा, चितवनमा जेठ मसान्तसम्म आन्तरिक मूल्याङ्कनबाट नतिजा

अन‌ि यो पनि

भरतपुर, १५ जेठ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण यसवर्ष चितवनका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा वार्षिक (अन्तिम) परीक्षा नहुने भएको छ ।

चितवनका सातै पालिकाभित्रका विद्यालयहरुले भौतिकरुपमा विद्यार्थी उपस्थित नगराई पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्नेछन् । यसबाहेक विद्यार्थीको अन्य क्रियाकलाप (अनुशासन, खेलकुद, प्रयोगात्मक अभ्यास, हाजिरी)हरुको आधारमा पनि विद्यार्थीको मूल्याङ्कन हुनेछ ।

‘चितवनका सातै पालिकाहरुले विद्यार्थी उपस्थित गराएर वार्षिक परीक्षा गर्दैनन्, उनीहरुले आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीको स्तर मापन गर्छन्’, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले भने, ‘जेठ मसान्तसम्म सबै पालिकाले नतिजा प्रकाशित गर्नेछन् ।’

शिक्षा विकास समन्वय इकाइले केही दिनअघि जिल्लाका स्थानीय पालिकाका शिक्षा अधिकारीहरुसँग भर्चुअल बैठक राखेर जेठ मसान्तसम्म आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको उनले बताए ।

परीक्षाको मुखमा कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढेको थियो । तत्काल विद्यालय बन्द हुँदा पनि भौतिकरुपमा परीक्षा सञ्चालन गर्ने तयारी भए पनि कोरोनाको प्रकोप नघट्दा वार्षिक परीक्षा पनि हुन नसकेको प्रमुख सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘चितवनका सबै विद्यालयहरुले पहिलो र दोस्रो त्रैमासिक लिएका छन्, त्यसैको मुख्य आधारमा वार्षिक परीक्षाको अंक राखेर नतिजा निकाल्ने निर्णय भएको छ ।’ उनका अनुसार सरकारले भनेअनुसार असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरू हुनेछ ।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन शाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार महानगरका सबै विद्यालयहरुले हरेक विद्यार्थीको पहिलो त्रैमासिकबाट २० अंक, दोस्रो त्रैमासिकबाट ६० अंक र अन्य क्रियाकलापमा २० अंक राखेर जेठ मसान्तसम्म नतिजा निकाल्न निर्देशन भएको छ । पौडेलले भने, ‘पहिले लिएको परीक्षाको आधारमा विद्यालयले नै विद्यार्थीको मूल्याङ्कन गर्नेछन् ।’

कक्षा ८ को परीक्षाफल हरेक विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको प्राप्त अंकलाई पालिकामा पठाउँछन् र पालिकाले नै नतिजा प्रकाशित गर्नेछ । कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको परीक्षाफल प्रकाशन विद्यालय आफैँले गर्नेछन् ।

भरतपुर महानगरले कक्षा ८ को प्राप्ताङ्क विवरण जेठ २३ गतेसम्ममा महानगरको शैक्षिक प्रशासन महाशाखामा पठाउन निर्देशन गरेको छ ।

रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्माले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्न रत्ननगरका विद्यालयहरु जुटिरहेको बताए । उनले भने, ‘रत्ननगरका हरेक विद्यालयहरुलाई आन्तरिक मूल्याङ्कनबाट प्राप्ताङ्क राखेर जेठभित्रै नतिजा प्रकाशन गर्न भनेका छौँ, त्यसैमा विद्यालयहरु जुटेका छन् ।’

खैरहनी नगरपालिकाका शिक्षा शाखाका प्रमुख राजु बानियाँले विद्यार्थीलाई प्रत्यक्ष उपस्थित गराई परीक्षा लिने वातावरण नभएका कारण यसअघि लिएका परीक्षा र विद्यार्थीको अन्य क्रियाकलाप हेरेर नतिजा प्रकाशन गर्ने बताए । उनले भने, ‘चाँडो नतिजा प्रकाशन गरियो भने विद्यार्थीको मनोबल उच्च हुन्छ, अर्को शैक्षिक सत्रको तयारीमा जुट्ने मौका पाउँछन् ।’

इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खड्काले पनि आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्न विद्यालयहरुलाई निर्देशन दिएको बताइन् । यसैगरी माडी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाले पनि आन्तरिक मूल्याङ्कनबाटै जेठ मसान्तभित्रै परीक्षाफल प्रकाशन गर्ने जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया