निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशा अन्त्य हुने : प्रधानमन्त्री

अन‌ि यो पनि

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको बताए ।

गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६ (३) बमोजिम संसदमा ठूलो दलका हैसिसयतले ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए। सो सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकामा पुनः विश्वासको मत पाउने भरपर्दो आधार नदेखेर आफूले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।

‘मलाई एमाले र जसपाले संस्थागत समर्थन गरेका थिए तर त्यसबीचमा उत्पन्न घटनाक्रम बहुदलीय प्रणाली र संसदीय व्यवस्थाको धज्जी उडाउने खालका भए । महामारी रोकथाम गर्नुपर्ने तथा नयाँ नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने समयमा सरकार बन्न नसक्ने स्थिति भयो ।’’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने,‘यस्तै विकृत अभ्यासका कारण विगतमा पनि सरकार र विकास निर्माणका काम प्रभावित भएका थिए । बहुदलीय शासन प्रणालीप्रति जनतामा वितृष्ण पैदा गर्ने यो कार्य लोकतान्त्रिक गणतन्त्रप्रतिको उग्र दक्षिणपन्थी र उग्र वामपन्थीको हमलाको निरन्तरता हो । यस्ता प्रवृत्ति दोहोरिनु दुःखद् छ । दलहरु बहुदलीय प्रणालीका आधारस्तम्भ बहुदल हुन् । यस प्रणालीमा निर्दलीय चरित्र देखिनु सामान्य विषय होइन ।’’

प्रधानमन्त्री ओलीले सत्ताप्राप्ति साधनमात्र भएको र लोकतन्त्रलाई जनताको जीवनमा अनुवाद गर्नु नै साध्य भएको बताए । उनले विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक प्रणाली खतरामा पर्ला कि भनेर ताजा जनादेशमा जानु र जनादेशप्राप्त पार्टीले सरकार चलाउनु नै उत्तम लोकतान्त्रिक विकल्प भएको बताए ।

यसै वर्षमा हुने प्रतिनिधिसभा र स्थानीय तहको पनि निर्वाचनपछि हाल जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुने विश्वास पनि उनले व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताका आफूले अन्तिमसम्म प्रयास गरेको तर स्वार्थकेन्द्रित गठनबन्धन गरेर महाधिवेशनबाट निर्वाचित अध्यालाई हटाउने खेल भएको स्मरण गराउँदै उनले नेकपा विभाजन नभएको भए यतिबेला नेकपामा महाधिवेशन भइसक्ने पनि बताए ।

आफूले सरकार सञ्चालन गरेयता आर्थिक समृद्धि र राष्ट्रियताका सन्दर्भमा प्रगति भएको, संविधान कार्यान्वयनमा गएको, पृथकतावादी र हिंसाको बाटोमा हिँडेकाहरु शान्तिपूर्ण राजनीतिमा आएका घटनाहरु यस कालखण्डको महत्वपूर्ण उपलब्धि भएको जनाए ।
विकास र पूर्वाधारका क्षेत्रमा भएका प्रगति र हुँदै गरेका कामबारे प्रकाश पार्दै उनले समृद्धिसहितको न्याय र सामाजिक न्यायसहितको समृद्धिको नीतिका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने जानकारी दिए ।

कोभिड–१९ नियन्त्रणका लागि राज्यका सबै पक्ष परिचालित भएको र स्वास्थ्य सामग्रीका लागि सहयोग गरेकामा छिमेकी मुलुक र अन्य मित्रराष्ट्र तथा विदेशमा रहेका नेपाली श्रमिकलाई उनले धन्यवाद दिए । उनले सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने उद्घोष गर्दै महामारी नरोकिए आवश्यकतानुसार संकटकाल लगाउने तथा निजी अस्पतालमा पनि निःशुल्क उपचारको प्रबन्ध गरिने बताए।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया