सङ्कटमा गणतन्त्र

अन‌ि यो पनि

देशमा विद्यमान अत्यन्तै जटिल परिस्थितिबीच हामी भोलि १४औँ गणतन्त्र दिवस मनाउन गैरहेका छौँ । विसं ०६२÷६३ सालमा भएको दोस्रो जनआन्दोलनलाई देशमा गणतन्त्रको बीउ रोप्नमा कारक मानिएको पाइन्छ । त्यही जनआन्दोलनले दिएको आदेशस्वरुप आजभन्दा १३ वर्षअघि अर्थात् विसं २०६५ साल जेठ १५ गतेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले देशमा गणतन्त्रको घोषणा गरेको थियो । संस्थागतरुपमै देशमा गणतान्त्रिक व्यवस्था लागू भएको पनि अहिले लामो समय बितिसकेको छ । करिब डेढ दशकको यो कालखण्डमा समयले निकै उतारचढावहरु देख्यो । कयौँ सरकारहरु आए र गए, पटकपटक सत्ता विघटन र निर्माणको नाटक चलिरह्यो । तर, सही ढङ्गको गणतान्त्रिक अभ्यास भने कहिल्यै निष्कर्षमा पुग्न नसकेको तीतो यथार्थ अहिले हामीसामु छ ।

देशमा नयाँ संंविधान लागू भएको पनि करिब आधा दर्जन वर्ष भैसकेको छ । सत्ता र कुर्सीको खेलमा संविधानसभाबाट सर्वसम्मतिले अनुमोदन भएको संविधानमाथि पटकपटक खेलबाड गर्ने कुकृत्यहरु यस दौरानमा मञ्चन नभएका होइनन् । अढाई सय वर्ष शासन गरेको राजतन्त्रको पतन भई नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको यति लामो अवधि बितिसक्दा पनि अझै गणतन्त्र देशमा स्थापित हुन नसक्नु निकै विडम्बनापूर्ण लाग्छ । गणतान्त्रिक मूल्यमान्यताहरुमाथि धमिरा लाग्दै गएको स्थितिले वर्तमान अवस्थालाई पुष्टिसमेत गरिरहेको छ । हाल देशमा निरन्तररुपमा गणतन्त्रलाई असफल पार्न बढ्दै गएको चलखेलका माझ यो दिवसको सान्दर्भिकता क्रमशः ओझेलमा पर्दै गएको छ । अहिले आन्तरिकमात्रै नभएर बाह्य शक्तिहरु समेत गणतन्त्रलाई पूरै असफल बनाउन आफ्नो सम्पूर्ण शक्ति खर्चिरहेका छन् । देशमा मुक्तिको शङ्खघोष गर्ने र आमूल परिवर्तनका लागिसमेत मह¤वपूर्ण कारक बनेको जेठ १५ गतेको दिनको मह¤व र पहिचानप्रति भने कतैबाट खासरुपमा सम्मान प्रकट भएको नदेखिनु निकै दुःखलाग्दो पनि छ भन्न करै लाग्छ ।

आमजनताको आकाङ्क्षाविपरीत हुर्किरहेको सत्ताको हानाथाप र देशमा एकपछि अर्कोरुपमा बढ्दै गएको अव्यवस्था नै हालका दिनमा गणतन्त्रको हारको प्रमुख कारण बनिरहेको छ । आआफ्ना दलीय अवतारमा देखिने गरेका दलहरु गणतन्त्रको पक्षमा सशक्त ढङ्गले उभिन नसकेका कारण देशमा राजतन्त्रको हावा फेरि जोडसँग चल्न थालेको देखिन्छ । देशव्यापीरुपमा गणतान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भैरहेको अवस्थामा गणतान्त्रिक पद्धति ठीक ढङ्गले अघि बढ्न नसक्नु अस्वाभाविक पनि छैन । आफूलाई गणतान्त्रिक तथा क्रान्तिकारिताको पक्षधर भन्न रूचाउनेहरुको यस्तै प्रकारको नकारात्मक भूमिका यसरी नै विकसित भैरह्यो भने गणतन्त्र ठीक ढङ्गले कहिल्यै पनि संस्थागत हुन नसक्ने खतरासमेत जीवित रहेको देखिन्छ । जनताले जनताका लागि गर्ने शासन वर्तमान समयको आवश्यकता हो, तर त्यस्तो शासनका लागि लड्नेहरुको सपना भने अझै पनि पूरा हुन सकेको देखिँदैन । गणतन्त्रलाई सम्पूर्ण जनताका लागि बनाउन र विगतदेखि हालसम्म नेताहरुले गरेका गल्ती र कमजोरीहरुलाई सच्याउनका लागि पनि गणतन्त्र स्थापना गरिएको दिनजत्तिको उत्तम दिन अर्को छँदा पनि छैन । सत्तापक्ष वा प्रतिपक्ष सबैले सत्ताको लुडाचुँडीबाट मुक्त रहेर गणतन्त्रको सुरक्षा, विकास र समृद्धिका लागि आफूलाई समर्पित गर्नु अहिले अपरिहार्य भैसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा कोरोना : ५४ जना थपिँदा १६८ जना सङ्क्रमणमुक्त

–तुलमान गुरूङ भरतपुर । चितवनमा बिहीबार एकैदिन १६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्लो २४...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया