निषेधाज्ञाको प्रभाव : घट्दै नयाँ सङ्क्रमितको संख्या !

अन‌ि यो पनि

भरतपुर । चितवनमा निषेधाज्ञाको करिब एक महिना बित्दै गर्दा नयाँ सङ्क्रमितको संख्यामा केही कमी आए पनि सन्तोषजनक भने नभएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘निषेधाज्ञा भएपछि पनि सङ्कलित स्वाबमा ६० प्रतिशतसम्म सङ्क्रमण देखिएको थियो,’ कार्यालय प्रमुख दीपकप्रसाद तिवारीले भने, ‘अहिलेको अवस्थालाई हेर्ने हो भने यो क्रम बिस्तारै ओरालो लाग्दै गएको छ । करिब ३० प्रतिशतबाट २० प्रतिशतको हाराहारीमा आउन थालेको देखिन्छ ।’

तर, यो संख्या पनि सन्तोषजनक नभएको उनले बताए । ‘निषेधाज्ञाका कारण घरभित्र रहेका सङ्क्रमित पनि निको भए । र, उसले बाहिरका मानिसलाई सार्न पाएन, त्यसैले कम देखिएको हो,’ उनले भने, ‘यो अनुशासनलाई अझै केही समय लम्ब्याउनुपर्छ ।’

चैत अन्तिमबाट फैलिएको दोस्रो भेरियन्टमा मानिसहरुको चहलपहल बढी भएकोले त्यसयताको सङ्क्रमण दर उच्च भएको उनको भनाइ छ । भोजभतेरका कारण वैशाख १५ गतेसम्म सबैजना जोखिममा गएकोले त्यसयता सङ्क्रमणको दर पनि उच्च भएको उनले बताए । वैशाख महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने चितवनका मात्रै करिब चार हजार मानिसलाई सङ्क्रमण देखिएको थियो ।

जेठ २० गतेपछि पनि तत्काल निषेधाज्ञा खोल्ने हो भने सङ्क्रमणको जोखिम फेरि ह्वात्तै बढ्न सक्ने उनले बताए । ‘जेठ महिनाभरिलाई निषेधाज्ञा जारी गर्ने हो भने मानिसहरुले घरभित्रै बसेर अनुशासनमा बस्थे,’ उनले भने, ‘त्यसपछि असार महिनाभर पनि अनुशासनमा राखिदिने हो भने बल्ल सङ्क्रमणको जोखिम बिस्तारै कम हुने अनुमान गर्न सकिन्छ ।’

बाहिरी जिल्लामा भर पर्ने

चितवनमा कोरोना सङ्क्रमणको जोखिम के हुँदैछ भन्ने विषयमा बाहिरी जिल्लाले निर्धारण गर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन जिल्लामा निषेधाज्ञा गरेर सङ्क्रमणको जोखिमलाई शून्य नै बनाउन सके पनि बाहिरी जिल्लामा संक्रमणको जोखिम बढ्यो भने त्यसको असर चितवन जिल्लालाई पर्ने कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

हालको अवस्थामा चितवनको मात्रै सङ्क्रमित कम भएको महसुस भए पनि बाहिरी जिल्लाका सङ्क्रमित कम नभएसम्म जिल्लालाई सुरक्षित राख्न नसकिने उनको भनाइ छ । जेठ महिना पूरै निषेधाज्ञा जारी गर्ने हो भने असारको मध्यतिरबाट बिस्तारै निषेधाज्ञाको प्रभाव देखिने कार्यालय प्रमुख तिवारीले जानकारी दिए ।

४०० बाट १०० तर्फ ओरालो लाग्दै

निषेधाज्ञा जारी गरेपछिको केही हप्ता सङ्क्रमणको जोखिम उच्च रह्यो । वैशाख २५ गतेको तथ्याङ्क हेर्ने हो भने एकैदिन ३९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । वैशाख ३१ गते पनि ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर, जेठ लागेपछि भने केही कम हुँदै ओरालो झर्ने क्रममा आइपुगेको छ ।

जेठको १३ दिनलाई हेर्ने हो भने, १ गते १६७, २ गते ११६, ३ गते २५४, ४ गते ३४९, ५ गते २३५, ६ गते २४७, ७ गते १६१, ८ गते १४१, ९ गते ५१, १० गते १२९, ११ गते १०६, १२ गते २०६ र १३ गते जम्मा ६५ जना गरी दुई हजार २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । संख्यालाई नै हेर्ने हो भने यो संख्या कम त होइन, तर पछिल्लो केही दिनयता बिस्तारै कम हुँदै गएको छ ।

१३ दिनमा ५५ को मृत्यु

चितवनमा जेठ लागेपछिको १३ दिनमा ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । बिहीबारसम्मको कुल तथ्याङ्क हेर्दा चितवनमा मृत्यु हुनेको संख्या भने ११२ पुगेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा अक्सिजनको अवस्था

चितवनमा चारवटा ठूला अस्पतालसहित केही निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । भरतपुर, क्यान्सर, चितवन मेडिकल कलेज अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भए पनि अन्य अस्पतालले बाहिरबाट ल्याएर उपचार गराउँदै आइरहेको छ ।

कोरोना सङ्क्रमितको संख्या उकालो चढ्दै गर्दा अक्सिजनको खपत बढ्दै गएपछि अभाव भएको थियो । बाहिरी जिल्लाबाट आउने अक्सिजन रोकिएपछि जिल्लाको उत्पादनले मात्रै नधान्दा अभाव भएर चितवन मेडिकल कलेजले जटिल खालका सङ्क्रमितलाई उपचार गर्न नसक्नेसमेत बताएको थियो । तर, अहिले बाहिरी जिल्लाबाट पनि अक्सिजन आइरहेको हुँदा पर्याप्त मात्रामा नभए पनि अभाव भइनसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा हाल दैनिक एक हजार ७०० सिलिन्डर खपत हुने गरेको छ । बीचमा केही दिन दैनिक एक हजार ८०० सम्म खपत हुने गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तर, अहिले सङ्क्रमितको संख्यामा केही कमी आएको हुँदा खपत कम हुँदै गएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।

प्रशासनसँग अहिले पनि २०० सिलिन्डर मौज्दातमा रहेको उनले बताए । जिल्ला प्रशासनसँगको तथ्याङ्कअनुसार चितवन जिल्लामा सञ्चालित अस्पतालको प्लान्टसहित करिब एक हजार ३०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया