महामारीमा भरतपुर महानगरको ध्यान नदी दोहनमा

अन‌ि यो पनि

–कुलप्रसाद काफ्ले

भरतपुर । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको भनेर आलोचना खेप्दै आएको भरतपुर महानगरपालिकाले नदी दोहनमा ध्यान केन्द्रित गरेको छ । स्थानीयको अनुमतिबिना नदी दोहन नरोकिएपछि बुधबार नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका १५ वटा टिप्परमाथि स्थानीयले तोडफोड गरेका छन् ।

दुई महिनामा तीन करोड ३४ लाख रूपैयाँ राजस्व उठाउने दाउमा महानगरले भरतपुर–१६, ज्ञानेश्वरअन्तर्गत पर्ने नारायणी नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न भीष्म एन्ड ब्रदर्श कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो । जसमध्ये एक करोड ६९ लाख महानगरले लिइसकेको छ । दोस्रो र तेस्रो किस्ता उठाउन बाँकी छ ।

कोरोना महामारीमा समेत दैनिक ४/५ सयको भीड लाग्ने गरी नदीको दोहन गरिएकोले महानगरको विरोध गरिएको स्थानीय अर्जुन गुरूङले बताए । ‘पटकपटक नदी उत्खनन् गरेर बेच्ने तर स्थानीय विकास निर्माणमा भने महानगरले चासो नदिएकाले तोडफोडको अवस्था सिर्जना भएको हो’, उनले भने ।

नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका २३ टिप्परमध्ये १५ वटाको अगाडिको सिसामा तोडफोड भएको हो । नदीजन्य पदार्थको दोहन बन्द गर्न र स्थानीय विकास निर्माणमा लाग्न महानगरलाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तोडफोडमा उत्रिन परेको उनको भनाइ छ ।

त्यस ठाउँमा नदी उत्खनन नगर्न स्थानीयहरुले बारम्बार आग्रह गर्दै आएका थिए । कन्स्ट्रक्सनले जेठ मसान्तसम्म ४० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने जिम्मा पाएको हो । वैशाख १ गतेदेखि नदी उत्खननको काम सुरू भएको हो । दैनिक डेढ सय बढी घनमिटर नदीजन्य पदार्थ उत्खनन हुँदै आएको थियो ।

तोडफोडमा संलग्न भएको आरोपमा वडा प्रहरी कार्यालय नारायणगढले बुधबार दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको हो । पक्राउ पर्नेहरुमा स्थानीय विनोद गुरूङ र शशि कुँवर रहेका छन् ।

पक्राउ परेकाविरूद्ध मुद्दा दर्ता गरेर कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘उनीहरुको सहमति के भयो भनेर हामीलाई जानकारी भएन’, उनले भने, ‘निषेधाज्ञाको समय छ, सार्वजनिक स्थानमा टिप्परमाथि तोडफोड भएछ । एम्बुलेन्सहरुलाई पनि अवरोध गरेपछि पक्राउ गरिएको हो ।’

तोडफोड भएका टिप्परहरु मर्मत गरिदिने सहमति भएर घटनालाई सामान्य बनाउनतर्फ लाग्दा स्थानीय दुई जनालाई पक्राउ गरिएको भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले बताए । सहमति भइसकेपछि पनि प्रहरीले जबर्जस्ती टिप्पर चालकलाई उजुरी हाल्न दबाब दिएको उनले आरोप लगाए ।

‘चारवटा टिप्पर चालकलाई प्रहरीले तारन्तार फोन गरेर उजुरी हाल्न दबाब दिएको भन्ने सुनेको छु । प्रहरीले के गर्न खोजेको हो, अब के हुन्छ थाहा छैन’, उनले भने ।

नदी उत्खननमा स्थानीयको अवरोध रहेको भनेर महानगरलाई सुरूमै जानकारी गराउँदा पनि व्यवस्थापनको काम नहुँदा तोडफोडको घटना सिर्जना भएको नदी उत्खननको जिम्मा पाएको भीष्म एन्ड ब्रदर्श कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक भीष्म खनालले बताए । ‘गर्न सक्दैनौ भनेर हामीले पत्र नै दिएका थियौँ । पहिला पनि विवाद भएको ठाउँ रहेछ’, उनले भने ।

तोडफोडबाट भएको क्षतिपूर्ति पाउने सहमति भएपछि पनि दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए । ‘टिप्परहरु हामीले नै भाडामा लिएर चलाएको हो । सहमति भइसकेपछि हामीले पक्राउ गर्न भनेर केही उजुरी गरेका छैनौँ’, उनले भने, ‘हामीलाई बिहीबार जिल्लामा पनि बोलाउनुभएको थियो । हाम्रो सहमति भइसक्यो, उहाँलाई छाडिदिनु भनेर आएका हौँ ।’

पक्राउ परेका व्यक्तिले तोडफोड नगरेकाले उनीहरुलाई छाड्न भनिएको तर प्रहरीले व्यक्तिगत रिसइबी देखाएको उनको भनाइ छ । तोडफोडको घटना भइसकेपछि पनि महानगरले सहज वातावरण बनाउन कुनै तदारूकता नदेखाएको उनको गुनासो छ । ‘सहज बनाउने कुरा छैन । बाँकी किस्ता माग्नुभएको छ’, उनले भने, ‘काम नै गर्न नपाएपछि कसरी किस्ता बुझाउने ?’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...