भरतपुर महानगरले नदी दोहन गरेको भन्दै १५ वटा टिप्परमा तोडफोड

अन‌ि यो पनि

चितवन १२ जेठ । भरतपुर महानगरपालिकाले राजस्व उठाउने नाममा नारायणी नदीको दोहन गरेको भन्दै भरतपुर–१६ का स्थानीयले नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका १५ वटा टिप्परमाथि तोडफोड गरेका छन्। भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर अन्तगर्त पर्ने नारायणी नदीमा वैशाख १ गतेदेखि नै नदी उत्खनन् सुरु भएको थियो। स्थानीयले टिप्परका सीसामा ढुंगा प्रहार गर्नुका साथै टायर बालेर महानगरको विरोध गरेका हुन्।

राजस्व उठाउन नदीको जथाभावी दोहन गर्ने तर विकास निर्माणमा चासो नदिएको स्थानीयको गुनासो छ। कोरोना महामारीमा समेत दैनिक ४/५ सयको भीड लाग्ने गरी नदीको दोहन गरेकोले महानगरको विरोध गरिएको स्थानीय अर्जुन गुरुङले बताए। ‘पटक–पटक नदी उत्खनन् गरेर बेच्ने तर स्थानीय विकास निर्माणमा भने महानगरले चासो नदिएकाले आजको अवस्था सिर्जना भएको हो’, उनले भने।

नदीजन्य पदार्थको दोहन बन्द गर्न र स्थानीय विकास निर्माणमा लाग्न महानगरलाई आग्रह गर्दा पनि सुनुवाई नभएपछि तोडफोडमा उत्रिन बाध्य भएको उनको भनाइ छ। ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले पनि नदी दोहन रोक्न स्थानीयले पटक–पटक आग्रह गर्दा पनि नरोकिएकाले स्थानीयले आक्रोश पोखेको बताए। ‘वनले रोक्ने प्रयास गर्दागर्दै पनि उत्खनन् रोकिएन। नदीको दोहन र टिप्परको आतंक सहन नसकेपछि स्थानीय विरोधमा उत्रिएका हुन्’, उनले भने।

यस ठाउँमा स्थानीयले सुरुदेखि नै अवरोध गरेको कुरा महानगरलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको नदीजन्य पदार्थ ओसार्दै आएको भीष्म एन्ड ब्रदर्श कन्सट्रक्सनका सह–प्रबन्धक विकल क्षेत्रीले बताए। ‘काम गर्न सक्दैनौँ भनेर हामीले पटक–पटक महानगरमा निवेदन दियौँ तर सुनुवाई भएन’, उनले भने, ‘महानगरलाई हामीले कर तिरिसकेकाले लगानी उठाउनकै लागि भए पनि बाध्यतावश उत्खनन गरेका हौँ।’

टिप्परमाथि तोडफोड भएपछि तत्कालका लागि नदीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले बताए। ‘टिपरको सीसा फुटाउनेलाई क्षतिपुर्ति भर्न लगाउने र बाँकी काम महानगरसँग बसेर टुंग्याउने सहमति भएको छ’, उनले भने। नदीजन्य पदार्थको उत्खननको अनुगमनको जिम्मा वडालाई दिन महानगरलाई आग्रह गरिएको भए पनि त्यसो नहुँदा तोडफोडको स्थिति सिर्जना भएको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया