संस्थागत स्वमूल्याङ्कनमा माडी र रत्ननगर नगरपालिका कमजोर

अन‌ि यो पनि

भरतपुर ,जेठ १२।  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चितवन जिल्लामा माडी नगरपालिका र रत्ननगर नगरपालिका पुछारबाट दोस्रो र तेस्रो कमजोर नगर भएका छन् ।

जिल्लाका ७ वटा पालिकामध्ये सबैभन्दा कमजोर पालिकामा कालिका परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्याङ्कनमा माडी नगरपालिका जिल्लाको दोस्रो कमजोर नगरपालिकामा परेको छ । मन्त्रालयका अनुसार ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतिशतलाई कमजोर, ६० देखि ८० प्रतिशतलाई राम्रो, ८० प्रतिशत माथि ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा बर्गिकरण गरिन्छ ।

एक हजार ११ सूचकलाई १०० पूर्णाङ्क मानी प्रतिशतका आधारमा निकालिएको स्वमूल्याङ्कन नतिजामा माडीले ५०.७८ प्रतिशत मात्रै अंक प्राप्त गरेको हो । १० वटा स्वमूल्याङ्कन विषयगत क्षेत्रहरुमध्ये  माडीले  संगठन तथा प्रशासनमा ३१.२५ प्रतिशत, भौतिक पूर्वाधारमा ३४.६२ प्रतिशत, बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५० प्रतिशत, सामाजिक समावेशीकरणमा ५५ प्रतिशत, सेवा प्रवाहमा ५६.२५ प्रतिशत, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ५६.८२ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६१.११ प्रतिशत र न्यायिक कार्यसम्पादनमा ७१.४३ प्रतिशत ल्याएको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले   बताए । माडीले आफ्नो स्वमूल्यांकनको अंकसहितको प्रतिवेदन बुधबार सिस्टममा अपलोड गर्ने उनले  बताए ।

‘अन्य स्थानीय तहसंगको समन्वयमा केही कामहरु नगरेको हुनाले सहकार्य र समन्वयमा शून्य आएको छ ’, उनले भने, ‘हामीलाई अन्य स्थानीय तहसँग समन्वय गर्न आवश्यक पनि परेको छैन । अरु कम अंक आएको शीर्षकहरुमा सुधार गर्ने भनेर साथीहरुले प्रतिबद्धता जनाउनुभएको छ ।’

यसैगरी, मन्त्रालयका अनुसार जिल्लामा पुछारबाट तेस्रो नगरमा परेको रत्ननगर नगरपालिकाले ५४ प्रतिशतमात्र अंक प्राप्त गरेको छ । रत्ननगरले सामाजिक समावेशीकरणमा २५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ४०.९१ प्रतिशत, भौतिक पूर्वाधार विकासमा ४८.०८ प्रतिशत, सहकार्य र समन्वयमा ५० प्रतिशत, शासकीय प्रबन्धमा ५२.७८ प्रतिशत, संगठन तथा प्रशासनमा ५३.१३ प्रतिशत, ल्याएको छ ।त्यसैगरी, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ६३.६४ प्रतिशत, सेवा प्रवाहमा ६५.६३ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६६.६७ प्रतिशत र न्यायिक कार्यसम्पादनमा ७५ प्रतिशत अंक प्राप्त गरेको छ ।

रत्ननगरले सार्वजनिक सुनुवाइ, पुँजीगत खर्च, राजस्व संकलन, वार्षिक बजेट तथा कार्यक्रम र आवधिक योजना तर्जुमा, खानेपानी सेवा विस्तार, सडकको विस्तार, उजुरी फछ्र्यौटलगायतका सूचकमा शून्य अंक पाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले संस्थागत क्षमता स्वमुल्याकंनमा कमजोर देखिएका पालिकालाई अनुदान घटाइने बताए । ‘उहाँहरु आफैँले आफ्नो मूल्यांकन गर्ने हो । हामीले पहिलोपटक यस्तो स्वमूल्यांकन गर्ने कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘आगामी आवबाटचाहिँ स्वमूल्यांकनमा कम अंक ल्याउनेलाई सरकारले दिने अनुदानमा नियन्त्रण हुन्छ । अनुदान कम जान्छ ।’

रत्ननगरका मेयर वनको आपत्ति

संस्थागत क्षमता स्वमूल्यांकनको नतिजाप्रति रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आपत्ति जनाएका छन् । रत्ननगरको क्षमता स्वमूल्यांकनमा ७० प्रतिशत अंक प्राप्त गरेको भन्दै उनले मन्त्रालयले सार्वजनिक गरेको नतिजाप्रति आपत्ति जनाउँदै सच्याउनका लागि पहल गरिने बताए ।

‘मन्त्रालयले सार्वजनिक गरेको नतिजाप्रति आपत्ति छ’, उनले भने, ‘हामी आफैँ बसेर समूह बनाएर साथीहरुले आ–आफ्नो नम्बर दिएका हुन् । साना–साना कुराहरु नमिलाएर अझ सोचेको जस्तो नआएको भन्ने कुरा भएको हो । सानातिना बैठक र राजस्वको एजेण्डाहरु नराख्दा कमजोरी देखिएछ ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया