कोरोनाका बिरामीलाई उपचार गर्दा क्यान्सरका बिरामीलाई समस्या

अन‌ि यो पनि

चितवन ११ जेठ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पालमा कोरोना संक्रमणका बिरामी बढ्दै गएपछि क्यान्सरका बिरामीको उपचारमा समस्या भएको छ। विशेष गरी केमोथेरापी गर्नुपर्ने बिरामीलाई समयमै सेवा दिन नसकिएको अस्पतालले जनाएको छ।

केमोथेरापीको लागि छुट्याइएको १३८ शय्यामध्ये २५ शय्या कोरोना संक्रमितको उपचारमा प्रयोग भएपछि बिरामीलाई पालो कुर्नुपर्ने बाध्यता आइलागेको अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले जानकारी दिए। ‘सामान्य अवस्थामा पनि बिरामीले पर्खेरै केमोथेरापी गर्नुपर्ने बाध्यता थियो भने, अहिले झन् समस्या भएको छ,’ उनले भने, ‘सबैतिर बन्द भएकोले टाढाबाट आउने बिरामी रोकिए पनि वरिपरिका बिरामी आउने क्रम रोकिएको छैन।’

उनका अनुसार केमोथेरापी क्यान्सर रोगको प्रकारअनुसार लगाइन्छ। सामान्यतया एकदिनदेखि एक हप्तासम्म केमोथेरापी गरिन्छ। तर, रक्तक्यान्सरका बिरामीहरुलाई भने ६/७ महिनासम्म लाग्ने डा शर्माले बताए। एकदिनमै केमोथेरापी गर्ने बिरामीलाई खासै समस्या नभए पनि लामो समयसम्म लगाउनुपर्ने खालका बिरामीलाई समस्या परेको उनको भनाइ छ। क्यान्सरका बिरामी करिब ८०० जति छन्। उनीहरु नियमित चेकजाँच र चिकित्सकको निगरानीमा छन्। तर, हालको परिस्थितिमा टाढाको बिरामी आउन नसक्ने भए पनि करिब ३०० जति बिरामी अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको डा शर्माले बताए।

‘सामान्य अवस्थामा जस्तो बिरामीको चाप नभए पनि अहिले हरेक दिन करिब ३०० जना त ओपिडि टिकट काटेर अस्पताल आउने बिरामी छन्,’ उनले भने, ‘टाढाका बिरामीलाई नजिकमा सम्भव भए त्यतै चेकजाँच गर्न हामीले सुझाव दिँदै आएका छौँ। र, सम्भव नभएका बिरामी आइरहेका पनि छन्।’ बिरामीसँग सम्बन्धित डाक्टरहरुको नियमित सम्पर्क र फोनबाटै पराशर्म लिने दिने काम भइरहेको उनले बताए। त्यति हुँदा पनि दैनिक १५ देखि २० जना बिरामीलाई केमोथेरापीको लागि शय्या अभाव भएको उनले बताए।

अक्सिजनको अभाव
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमितको लागि अक्सिजन अभाव हुन थालेको छ। अस्पतालकै प्लान्टबाट दैनिक ५० सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता छ। अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालको प्लान्टबाट सिधै बिरामीको शरीरमा अक्सिजन पठाउने हुँदा अस्पतालसँग सिलिन्डर थिएन। कोरोना संक्रमितको उपचार गर्ने भएपछि अस्पतालले २५ वटा सिलिन्डर खरिद गरेको छ।

त्यसपछि धुर्मुस सुन्तली फाउण्डेशनले २५ वटा र जिल्ला प्रशासन कार्यालयबाट ५० वटा गरी हाल अस्पतालसँग १०० वटा सिलिन्डर छन्। तर, बिरामीको चाप बढ्दै जाँदा अक्सिजन पनि बढी खपत हुने हुँदा अभाव हुन थालेको डा शर्माले बताए। ‘हामीसँग अहिले १२ शय्याको आइसियू र ४० शय्याको एचडियूसहित १४४ शय्याको कोभिड वार्ड सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘तर, अस्पतालमा जनरल वार्डमा आउने बिरामीभन्दा अक्सिजन चाहिने बिरामी धेरै आउने हुँदा अक्सिजन पुर्‍याउनै समस्या भएको हो।’

हरेक दिन आइसियू र एचडियूमा भर्ना हुने संक्रमित आए पनि जनरल वार्डमा आउने संक्रमित संख्या ज्यादै कम रहेको उनले बताए। अहिले थप १५० वटा सिलिन्डरको व्यवस्था गर्न सके हाल अस्पतालको क्षमताअनुसारको उपचार सेवामा अक्सिजन अभाव नहुने उनको भनाइ छ। दिउँसोको समयमा भन्दा रातको समयमा बढी समस्या हुने उनले बताए। उनका अनुसार अहिले दैनिक खपत १८० देखि २०० सिलिन्डर हुने गरेको छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया