होम आइसोलेसनमा बसेका संक्रमितलाई निगरानी खोई ?

अन‌ि यो पनि

चितवन, ११ जेठ । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा मृत्यु हुनेको संख्या पनि उत्तिकै मात्रामा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार यो समाचार तयार पार्दासम्ममा चितवन जिल्लामा १९९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। तीमध्ये भरतपुर महानगर, माडी र राप्ती नगरपालिकाका तीन तीनजना गरी ९ जनाले होम आइसोलेसनमै ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाउँछ।

सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको रेखदेख गर्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएको छ। तर, होम आइसोलेसनमै संक्रमितको मृत्यु हुँदा स्थानीय तह के हेरेर बसेको छ भन्ने प्रश्न पनि उठ्न थालेका छन्।

होम आइसोलेसनमा बसेका संक्रमितले पनि स्थानीय तह तथ सम्बन्धित निकायबाट आफूलाई सम्पर्क नगरेको गुनासो गरेका छन्। १८ दिनसम्म होम आइसोलेसनमा बसेर पाँच दिनअघि मात्रै संक्रमणमुक्त भएका भरतपुरका उमानाथ पोखरेलले होम आइसोलेसनमा बस्दा कहीँबाट पनि सोधपुछ नभएको बताए । ‘यस्तो बेलामा शारीरिकभन्दा पनि मानसिक तनाव बढी हुँदोरहेछ,’ उनले भने, ‘तर, स्वास्थ्य अवस्था बुझ्न भनेर सरकारी क्षेत्रबाट कसैले वास्ता गरेनन् । बरु परीक्षण गर्न पनि स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर म आफैँ अस्पताल पुगेँ।’

पत्रकार सुशील पन्त कोरोना संक्रमणका कारण विगत तीनदिनदेखि होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्यमा ठूलो खासै समस्या देखिएको छैन। कोठाभित्रै बसेर भाइरससँग लडिरहेका उनलाई पनि आफन्त इष्टमित्रबाहेक सरकारी क्षेत्रबाट स्वास्थ्यावस्था बुझ्न कसैले पनि सम्पर्क गरेका छैनन्। ‘आफूलाई त्यस्तो ठूलो समस्या जस्तो पनि लागेको छैन, तर सरकारी क्षेत्रबाट निगरानी भएको पनि छैन,’ उनले भने, ‘त्यसैले म आफ्नै सुरमा आफैँले सकेको सुरक्षाका उपाय अपनाएर बसिरहेको छु।’

सोमबारको तथ्यांकलाई आधार मान्दा चितवनमा चार हजार ७४१ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार हजार ५४१ जना पत्रकार पन्तजस्तै होम आइसोलेसनमा बसिरहेका छन्। होम आइसोलेसनमा बसेका कोरोना संक्रमितबाट स्थानीय सरकारको निगरानी नभएको गुनासो आउँदै गर्दा भरतपुर महानगरपालिकाले भने संक्रमित सबैसँग सम्पर्कमा रहेको दाबी गर्दै आएको छ।

संक्रमितकै निगरानी गर्न महानगरले चार जना कर्मचारी खटाएर सबै वडामा टेलिफोन गरेर संक्रमितको अवस्था र जानकारी लिने काम गरिरहेको महानगरका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी बताउँछन्। सम्पर्कका क्रममा केहीलाई सम्पर्क नहुने र केही संक्रमित सम्पर्कमा आउनै नचाहने समस्या भएकोले छुटेको हुन सक्ने उनले बताए। ‘सबै वडामा संक्रमितबारे जानकारी लिने र निगरानी गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘होम आइसोलेसनमा रहेका संक्रमितलाई कुनै समस्या परे अस्पतालसम्म ल्याउनको लागि तीनवटा एम्बुलेन्स निःशुल्करुपमा तयार गरेका छौँ।’

यति गर्दा पनि होम आइसोलेसनमा संक्रमितको मृत्यु हुनु या अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुनेजस्ता घटनाले स्थानीय तहको पहलमा चुनौती थपिएको उनले बताए। ‘होम आइसोलेसनमा बसेकालाई निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा रहनू, कुनै समस्या परेमा अस्पताल जानुपर्छ भनेर हामीले भनिरहेका छौँ, यति गर्दा पनि कतिपयको घरमै बस्ने जिद्धिपनाले पनि यस्तो भइरहेको छ,’ उनले थपे, ‘किनकि घरमा भएका बिरामीको सबैभन्दा बढी जिम्मेवार त परिवारकै हुन्छ।’ कतिपय व्यक्ति अझै पनि सम्पर्कमा आउन नचाहने जस्ता समस्याले थप अप्ठ्यारो पारेको उनले बताए।

यसबारे सम्बन्धित वडा र वडाध्यक्ष तथा टोल विकास संस्थाको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहने उनको भनाइ छ। ‘कुनै पनि संक्रमितलाई समस्या नपरोस् भनेर हामीले वडाअध्यक्ष र टोल विकास संस्थाका अध्यक्षलाई सचेत गराएका छौँ,’ स्वास्थ्य शाखा प्रमुख सुवेदीले भने, ‘हरेक काममा सरकारी क्षेत्रबाट मात्रै सम्भव हुँदैन, त्यसैले यसमा आम सर्वसाधारणले हातमालो गरेर साथ र सहयोगमा जुट्नु अहिलेको आवश्यकता हो।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...