भक्तपुर । भक्तपुर दरबारस्क्वायरस्थित राष्ट्रिय कला सङ्ग्रहालय नेपाली पर्यटकका लागि आकर्षणको केन्द्र बन्न थालेको छ ।
सङ्ग्रहालय भन्ने बित्तिकै त्यहाँ विदेशी पर्यटकको आगमन र आकर्षण बढी हुन्छ भन्ने लागे पनि यहाँको सङ्ग्रहालयमा भने विदेशी पर्यटकभन्दा नेपाली पर्यटकको आगमन बढी रहेको राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।
आव २०७०÷०७१ मा ५० हजार ३४ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । यसमध्ये ४० हजार ७२३ जना नेपाली पर्यटक रहेको नकर्मीले बताउनुभयो ।
सङ्ग्रहालयमा यो एक वर्षमा नेपाली विद्यार्थी २५ हजार ३४९ जना र नेपाली पर्यटक १५ हजार ३७४ जनाले अवलोकन गरेका छन् । त्यस्तै, विदेशी पर्यटकमध्ये सार्क राष्ट्रभित्रका पर्यटक एक हजार ९२० जना र सार्क राष्ट्रबाहेकका सात हजार ३९१ जना पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
सङ्ग्रहालयले आव २०७०÷०७१ मा पर्यटन शुल्कबाट कुल १६ लाख ५० हजार ७३५ र क्यामरा शुल्क तथा पुस्तक बिक्रीलगायतबाट एक लाख ४० हजार ४४१ गरी कुल १७ लाख ९१ हजार १७६ राजस्व सङ्कलन गरेको सङ्ग्रहालयका कर्मचारी मानबहादुर शाक्यले बताउनुभयो ।
यसमध्ये नेपाली विद्यार्थीबाट दुई लाख ५३ हजार ४९०, नेपाली पर्यटकबाट तीन लाख ५९ हजार ६५५, सार्क राष्ट्रका पर्यटकबाट ८९ हजार ४९० र अन्य देशका पर्यटकबाट नौ लाख ४८ हजार १०० राजस्व सङ्कलन भएको हो ।
विद्युत् भार कटौतीले गर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने कयौँ पर्यटकलाई फर्काउनु परेको शाक्यले बताउनुभयो । रासस
Discussion about this post