किशोर खनाल
आज नागपञ्चमी, नागको पूजा तथा अर्चना गर्ने दिन । साउन महिनाको शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ । हिन्दू धर्मका अनुसार नागपञ्चमीलाई श्रद्धा वा विश्वासको पर्व मानिन्छ । वैदिक कालदेखि नै नागपञ्चमीका दिन नागको पूजा गर्ने चलन चल्दै आएको छ ।
आजको दिन घरको मूल ढोकामाथि गाईको गोबर लगाएर आठ शिर भएको नागको चित्रलाई टाँसिन्छ । अनि, सकेसम्म गाईको तस्बिर भएको पैसाको सिक्का नागको शिरमा गोबरले नै टाँसिन्छ । नाग देवतालाई दूध, दूबो, कुश, फूल, अक्षता र लड्डु चढाएर पूजा गरिन्छ । नागको स्तुति गाइन्छ ।
‘अनन्तं बासुकिं शेषं
पद्यनाभं च कम्बलम
शंखपालं धार्तराष्ट्र
तक्षकं कालियं तथा
ऐतानि नवनामानी
नगनां च महत्मनाम्
सायंकाले पठेनित्यं
प्रातः काले विशेषत
तस्मै विषभयं नास्ति
सर्वत्र विजयी भवत्’
यस्तो स्तुति गाएर नागपञ्चमी मनाउनेहरु सायदै होलान् ! तर, हिन्दू धर्मावलम्बीहरुले नागको पूजा भने धुमधामले गर्दै आएको पाइन्छ । नागपञ्चमी किन मनाइन्छ भन्ने प्रश्नमा हिन्दूशास्त्रहरुमा विविधता छ । यसबारे धेरै जनविश्वासहरु पाइन्छ ।
‘कृष्ण भगवानले श्रावण शुक्ल पञ्चमीका दिन काली नागमाथि विजय प्राप्त गरेर त्यस नागलाई शान्त पारेको उपलक्ष्यमा नागपञ्चमी मनाउन थालिएको हो’, नारायणगढ, लंकूका पण्डित नारायण सापकोटाले भन्नुभयो, ‘नागलाई खुसी पार्नका लागि नै नागपञ्चमी मनाइँदै आइएको हो ।’
नागपञ्चमीको विषयमा अर्को भनाइ पनि जनविश्वासमा आएको छ । वैदिक कालमा काठमाडौँमा एउटा ठूलो तलाउ थियो । त्यस तलाउको नाम टेथिस सागर थियो । तलाउमा धेरै पानी थियो । धेरै दिन लगाएर मान्छेहरुले त्यो तलाउको पानी निकाले । तलाउमा बस्ने ठाउँ बनाए । त्यसपछि त्यस तलाउका नागहरु रिसाए । मान्छेहरुले नागलाई खुसी पार्न ठाउँठाउँमा नागको चित्र बनाएर पूजा गरे । त्यहाँदेखि नै नागपञ्चमीमा नागको पूजा गर्न थालिएको जनविश्वास छ ।
भनिन्छ, कश्यप ऋषिका १३ पत्नीहरु थिए । तीमध्ये एक कटुले आठ नागलाई जन्म दिइन् । ती नागहरु नै पातालका शासक भए । ती नागहरुलाई नै नागपञ्चमीमा नागको फोटो टाँसेर पूजा त गरिन्छ । तर, यसको किवंदन्तीबारे कमै मानिसलाई ज्ञान छ ।
‘नागपञ्चमी किन मनाइन्छ त भन्ने थाहा छैन, तर यस दिन ढोकामा नागको फोटो टाँसेर पूजा गर्ने चलन धेरै पहिलेदेखि नै आएजस्तो लाग्छ’, भरतपुरका कृष्ण चापागाईंले भने ।
‘धार्मिक शास्त्रमा भनेअनुसार विधिपूर्वक नागको पूजा गर्न त कहाँ जानिन्छ र ! नागको फोटो टाँसेर प्रसाद भने चढाइन्छ’, उनले थपे । ‘नागपञ्चमीको दिन नागलाई पूजा गर्दा जल, दूध, घिउसहित धानको लावा, दही, कुश र चौलानी पनि चाहिन्छ, ती सवै कहाँ खोज्न जानु ?’
‘गाईको गोबर त पाइन्छ, त्यही गोबरले ढोकामा नागको फोटो टाँसेर नागपञ्चमी मनाउने हो । धेरै विधि पु¥याउन सकिँदैन, पाइँदैन र जानिँदैन पनि’, चापागाईंले भने, ‘धेरै झन्झट गर्नभन्दा सामान्य तरिकाले संस्कृति जोगाउनका लागि नागपञ्चमी मनाए काफी हन्छ ।’
नागलाई पातालको राजा मानिन्छ । नागलाई पूजा गरे मनलाई शान्त पार्न सकिन्छ भन्ने जनविश्वास पनि छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति मिल्छ । सर्पहरु घरवरिपरि आउँदैनन् भन्ने विश्वास पनि हाम्रो समाजमा छ । नाग रिसाए पानी नपर्ने धारणा पनि छ ।
अहिले गर्मीको मौसम छ । विषालु सर्पहरुको बिगबिगी नै हुन्छ यतिबेला । सर्पदंशबाट धेरैको मृत्यु पनि भएको छ । नागलाई पूजा गरेर खुसी पार्न सके सर्पको टोकाइबाट जोगिन सकिने विश्वास पनि रहेको पण्डित सापकोटाको भनाइ छ ।
ज्योतिषशास्त्रका अनुसार पञ्चमी तिथिका स्वामी नागदेवता हुन् । पूर्ण श्रावणमासमा नागपञ्चमी परेको हुँदा यो मासमा धरती खन्ने कार्य गरिँदैन । भूमि खन्दा नागलाई कष्ट हुने विश्वास पनि छ । त्यस्तै, हिन्दू परम्पराअनुसार नागलाई सबैभन्दा मन पर्ने चीज दूध चढाई पूजा र स्तुति गरेमा घरमा चट्याङ नपर्ने, सर्पको टोकाइबाट बच्न सकिने, आगलागी र दैवी प्रकोप नपर्ने विश्वास पनि छ ।
हिन्दू धर्मअनुसार नागलाई खुसी पारेमा धेरै असामयिक घटनाहरुबाट बच्न सकिने कुरा बताइएको छ । नागको पूजाको दिन प्रसादका रुपमा खीर बनाइने चलन छ । खीरलाई सर्वप्रथम नागदेवताको मूर्ति अथवा शिवमन्दिरमा गएर भोग लगाउनुपर्छ । भोग लगाएर खीरलाई प्रसादका रुपमा हामीले ग्रहण गर्न सक्छौँ ।
पूर्वी दर्शनले जेठ, असार र साउनमा नागको शिर उत्तरतर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ भन्ने मान्यता राखेको छ । वास्तु पूजा गर्दा पनि सर्वप्रथम नागको पूजा गर्ने चलन छ । भनिन्छ, जहाँ नाग हुँदैन, त्यहाँ पानी आउँदैन रे !
नाग खुसी भए धनको वर्षा हुन्छ, अर्थात् धनकी देवी लक्ष्मी खुसी हुन्छिन् भन्ने भनाइ पनि धर्मशास्त्रहरुमा पाइन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्छ । धान रोपाइँ गर्दा पनि नागलाई पुजिन्छ ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ । पञ्चायन देवतामध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग र गणेशको हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा हुन्छ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक हुन् भन्ने कुरा धर्मशास्त्रमा उल्लेख छ ।
सर्पलाई नै नाग भनिएको हो । जंगलमा रहेका सर्पलाई मार्नु वा घरमा पालिनु गैरकानुनी काम हो । सर्पलाई नचाउँदै हिँडाउने कार्यलाई पनि गैरकानुनी मानिन्छ । उनीहरुको पूजा गर्नु हाम्रो परम्परा हो । उनीहरुलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।
आधुनिक युवापुस्ता धर्मप्रति त्यति चासो दिँदैनन् । पश्चिमी संस्कृतिमा रम्ने युवाहरुले हिन्दू धर्मका चाडबाडहरु बिर्संदै गएका छन् ।
‘हिजोआजका युवाहरु कहाँ धर्मतिर लाग्छन् र ! उनीहरु त डेटिङमा जान्छन्, लभमा भुलेका हुन्छन्’, एक पण्डितले भने, ‘मन्दिरहरुमा जाने केही युवायुवती धर्म गर्नभन्दा पनि भेटघाटका लागि गएका हुन्छन् । प्रीतिको गाँठो कस्न गएका हुन्छन् । मन्दिरहरु नै हिजोआज डेटिङ स्पोर्टजस्ता भएका छन् ।’
Discussion about this post