चितवनमा कोरोना : पाँच दिनमा हजार बढी संक्रमित, २५ को मृत्यु

अन‌ि यो पनि

चितवन ०६ जेठ । चितवनमा पछिल्लो पाँच दिनमा एक हजार ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित थपिने क्रमसँगै मृतकको संख्या पनि उही गतिमा उकालो लागिरहेको छ। सोही पाँच दिनको तथ्यांक हेर्दा थप २५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।

त्यतिमात्र होइन, बुधबार चितवनमा कोरोना संक्रमित भेटिएको एक वर्ष पूरा भएको छ। यो एक वर्षको समयमा चितवनमा कोरोना संक्रमितको कुल संख्या पनि १२ हजारभन्दा बढी भइसकेका छन्। बुधबार एकै दिन २३५ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या १२ हजार ७२ पुगेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार २०७६ सालको चैत ५ गते पहिलोपटक चितवनमा कोरोना संक्रमित भेटिएका थिए। त्यसयता बिस्तारै संक्रमितको दर बढ्दै गएको चितवनमा २०७७ सालको कात्तिक महिनासम्ममा संक्रमितको दर निरन्तर उकालो लागेको देखिन्छ। कात्तिक महिनामा मात्रै दुई हजार १५८ जनामा संक्रमण पुष्टि भएको थियो भने ४४ जनाले मृत्युवरण गरेका थिए।

तथ्यांक हेर्दा चितवनमा २०७७ सालको भदौ असोज र कात्तिकमा संक्रमितको संख्या एक हजारभन्दा माथि देखिन्छ। भदौमा एक हजार १४५ जनामा संक्रमण पुष्टि भएको थियो भने असोजमा एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कात्तिकमा वर्षकै सबैभन्दा उच्च रह्यो। अर्थात् दुई हजार १५८ जना नयाँ संक्रमित कात्तिक महिनामा मात्रै थपिए।

त्यसयता निरन्तर ओरालो लाग्दै आएको यो संख्या चैत लागेपछि फेरि उकालो चढ्ने क्रममा छ। गतवर्षको फागुनमा जम्मा ९६ जनामा संक्रमण देखिएकामा चैत महिनामा त्यो संख्या बढेर १३४ पुग्यो। त्यसपछि वैशाख महिनामा ह्वात्तै बढेर तीन हजार ९७६ जना नयाँ संक्रमित थपिए। संक्रमितको दर उच्च हुँदै गएपछि चितवनमा वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरी वैशाख मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरियो। करिब दुई हप्तासम्मको निषेधाज्ञाले पनि संक्रमितको संख्यामा कमी नआएपछि पुनः समय थप गरेर यही जेठ १३ गतेसम्मको लागि लम्ब्याएको छ। तर, संक्रमितको दर भने अझै कम हुने लक्षण छैन।

स्वास्थ्य कार्यालय चितवनले संक्रमितको दर बढ्दै जाने क्रम तत्काल राकिने सम्भावना नरहेको बताएको छ। एउटै व्यक्तिबाट परिवारमा संक्रमण फैलिइसकेको हुँदा तत्काल नियन्त्रण हुने अवस्थामा नरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन्। लक्षण नदेखिएका संक्रमित परीक्षण गर्न पनि नजाने हुँदा अप्रत्यक्षरुपमा संक्रमण घरभित्रभित्रै फैलिइरहेको उनले अनुमान लगाए। दोस्रो पटकको निषेधाज्ञाको समयले पनि नियन्त्रण कम नहुने हुँदा अझै थप गर्नुपर्ने उनको सुझाव छ।

मृत्यु हुनेको संख्या पनि १८२ पुगेको छ। वैशाख मसान्तसम्ममा १५७ जनाको मृत्यु भएको थियो भने जेठ लागेपछिको पाँच दिनमा मात्रै २५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। संक्रमणको उच्च जोखिम रहेको कात्तिक महिनामा ४४ जनाको मृत्यु भए पनि त्यसयता चैतसम्ममा कुनै पनि महिनामा यति धेरै संक्रमितको ज्यान गएको थिएन। तर, वैशाख लागेपछि यो संख्यालाई पनि उछिन्दै एकै महिनामा ४५ जनाले ज्यान गुमाएका छन् भने जेठ लागेपछिको पाँच दिनमै २५ जनाको मृत्यु हुनुले थप भय सिर्जना गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया