अक्सिजनको चरम अभावमा चितवनका अस्पताल

अन‌ि यो पनि

चितवन ०१ जेठ । शनिबार दिउँसो चितवन मेडिकल कलेज अस्पतालका प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले अक्सिजन अभावका कारण देखाउँदै अक्सिजन दिनुपर्ने खालका कोरोना संक्रमितको उपचार गर्न अस्पताल असमर्थ रहेको आसयसहितको फेसबुक स्टाटस आएपछि त्यसले थप तरंग पैदा गराएको छ। बाहिरी जिल्लाले बिरामी पठाउने, तर अक्सिजन नपठाउने गर्दा यहाँका अस्पतालले पनि बाहिरका बिरामी लिन नसक्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ। उपचारका लागि शय्या संख्या पर्याप्त भए पनि अक्सिजन नै नपाएपछि बिरामी भर्ना लिनुको कुनै अर्थ नरहेको प्राडा न्यौपाने बताउँछन्।

चितवनमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित केही निजी अस्पतालबाट कोरोना संक्रमितको उपचार हुँदै आएको छ। तर, आफ्नै अक्सिजन प्लान्ट भने भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज अस्पतालसँग मात्रै छ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक हेर्ने हो भने चितवनमा जम्मा ३६० सिलिन्डर मात्रै उत्पादन गर्ने क्षमता छ। काठमाडौँ, रुपन्देही, पर्सालगायतका जिल्लाबाट भाजुरत्न इञ्जिनियरिङ, शंकर ग्याँस उद्योग, स्वर्गद्वारीलगायतका अक्सिजन उद्योगले अक्सिजनको सप्लाई गर्दै आएका थिए। ‘तर बाहिरबाट अक्सिजन आउन बन्द गरिदिएपछि हामीले पनि बिरामी धान्न सक्ने अवस्था रहेन,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भने।

अहिलेको समयमा बाहिरी जिल्लाबाट आएका बिरामी हेर्न नपर्ने हो भने यहाँको उत्पादन पर्याप्त हुने उनको भनाइ छ। बाहिरबाट बिरामी आउने क्रम बढेसँगै अक्सिजनको खपत बढी भएकोले माग पूरा गर्न धौधौ भएको उनले बताए। शुक्रबारदेखि चितवनमा दैनिक ६८० सिलिन्डर अक्सिजन अपुग भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

चितवनमा दैनिक अक्सिजनको खपत उत्पादन तलको तालिकामा हेर्नुहोस्ः

चितवनका अस्पतालमा भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीका अनुसार यहाँका अस्पतालले कम्तिमा पनि ८० प्रतिशत बिरामीलाई अक्सिजनको सहारामा उपचार गराइरहेका छन्। ‘त्यसमध्येमा ५० प्रतिशतभन्दा बढी बिरामी बाहिरी जिल्ला छन्,’ उनले भने, ‘त्यसैले अब हामीलाई बाहिरी जिल्लाले अक्सिजन दिन सक्दैन भने हामीले पनि उपचार सेवा दिन सक्दैनौँ।’

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया