नारायणगढ । इस्लाम धर्मालम्बीले मंगलबार बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् । यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् ।
विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापकरूपमा देखिन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो । गत असार १६ गतेदेखि रोजा सुरू भएपछि सोमबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो ।
रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ । मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल–फित्रका अवसरमा जामा मस्जिदहरुमा सामूहिक नमाज पाठ गरियो । मुलुकमा अमनचैन, शान्ति, सामाजिक सद्भाव तथा धार्मिक एकताको कामना गर्दै गरिएको नमाज पाठपछि सहभागीबीच अङ्कमाल गरी ईदको शुभकामना साटासाट गरिएको थियो ।
Discussion about this post