बसन्त पराजुली
भरतपुर । चितवनमा अझै झण्डै ३० प्रतिशत क्षेत्रफल जग्गामा रोपाइँ हुन बाँकी छ । मध्यसाउन सकिनै लाग्दा पनि पर्याप्त वर्षात् हुन नसकेका कारण पूर्ण रुपमा रोपाइँ हुन सकेको छैन । खासगरी सिँचाइको अभाव र आकाशबाट प्रयाप्त पानी नपर्दा नै पूर्ण रुपमा रोपाइँ हुन नसकेको हो ।
‘पूर्वी चितवनको तुलनामा पश्चिम क्षेत्रमा सिँचाइको अभाव छ’, जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नुरनाथ लामिछानेले भन्नुभयो, ‘रोपाइँ पनि पूर्वमा सकियो पश्चिममा बाँकी छ ।’
चितवनमा गएको वर्ष २९ हजार ५५० हेक्टरमा धानको खेती भएको थियो । यो वर्ष पनि यही हाराहारीमा रोपाइँ हुने अनुमान गरिएको छ । तर जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म आठ हजार ८६५ हेक्टर जमिनमा रोपाइँ हुन बाँकी छ । ‘सत्तरीदेखि एकहत्तर प्रतिशत रोपाइँ भयो’, जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक लामिछानेले भन्नुभयो ,
चितवनको पश्चिमी क्षेत्र आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने बाध्यता भएको क्षेत्र हो । यहाँ पर्याप्त सिँचाइको अभाव छ । अहिलेसम्म रोपाइँ हुन नसकेपछि अहिले चितवनका किसान चिन्तित छन् । अन्नको भण्डार मानिने चितवनमै कम पानी पर्दा यो समस्या आएको हो ।
विशेषतः पश्चिम चितवनका भरतपुर नगरपालिकाभित्रका केही भाग, मंगलपुर, गुञ्जनगर, दिव्यनगर फूलबारीलगायतका क्षेत्रमा अहिले धेरै जमिन रोपाइँ हुन बाँकी छ । पश्चिम चितवनका एक किसान समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्छन् ।
‘सोचेअनुसार आकाशबाट पानी पनि परेन, सिँचाइको व्यवस्था पनि छैन’, ती किसानले भने । आकाशे भल पर्खनुपर्ने बाध्यता भएका किसानलाई यो वर्ष ठूलो पानी नपरेका कारण समस्या भएको हो ।
कृषि तथा वन विश्वविद्यालयका रजिष्टार डा. सूर्यकान्त घिमिरे पर्याप्त सिँचाइको अभावमा रोपाइँ कम भएको प्रतिक्रिया दिनुहुन्छ । ‘आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता किसानहरुमा छ’, उहाँले भन्नुभयो, ‘कमसे कम सिँचाइको राम्रो व्यवस्था भए समयमै रोपाइँ हुने थियो ।’
‘नारायणी र राप्ती नदीको बीचमा रहेको चितवनमा दिनहँु पानी बगेर खेर गइरहेको छ । त्यसलाई सदुपयोग गर्न सकियो भने पनि चितवनको भूमि सिँचित हुनेछ’, उहाँले भन्नुभयो, ‘त्रिशूलीको पानीलाई हुग्दी छेडेर शक्तिखोर झारी चितवन सिँचित गरिने मह¤वाकांक्षी योजनाका बारेमा धेरै चर्चा भएपनि कार्यान्वयनमा नआउँदा चितवनका किसान बढी समस्यामा छन् ।’
चितवन धान उत्पादनका हिसाबले पनि देशकै अग्रणी जिल्लामध्येमा पर्छ । जिल्ला कृषि विकास कार्यालयमा रहेको तथ्याङ्कअनुसार गएको वर्षमात्रै पनि चितवनमा ९७ हजार ५१५ मेट्रिकटन धान उत्पादन भएको थियो । सिँचाइको व्यवस्था हुने र समयमा रोपाइँ हुने हो भने रोपाइँको मात्रा अझै बढाउन सकिने छ ।
Discussion about this post