कोरोना परीक्षणका लागि खैरहनीमै स्बाब संकलन

अन‌ि यो पनि

खैरहनी, वैशाख २९ । चितवनको खैरहनी नगरपालिकाले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्बाब संकलन सुरु गरेको छ । अहिले कोरोना परीक्षणका लागि भरतपुर जानुपर्ने अवस्था छ ।

नगरपालिकाले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँगको सहकार्यमा खैरहनीमै स्बाब संकलन सुरु गरेको हो । कोरोनाको शंका लागेका नगरवासीहरुले यही स्बाब दिएर परीक्षण गर्न पाउनेछन् ।

परीक्षणका लागि भने क्यान्सर अस्पतालले तोकेको शुल्क तिर्नुपर्छ । भरतपुर जानुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले सहजीकरण गरेर यहीँबाट स्बाब संकलन सुरु गरेको खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का वडाध्यक्ष मनेजर महतोले बताए ।

परीक्षणका लागि क्यान्सर अस्पतालले शुल्क लिए पनि स्बाब संकलनका लागि भिटिएम, स्वास्थ्यकर्मी र भरतपुरसम्म स्बाब पुर्याउने काम भने नगरपालिकाले गर्ने महतोले जानकारी दिए । क्यान्सर अस्पतालले स्बाब परीक्षणका लागि एक हजार रुपैयाँ तोकेको छ ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमणपश्चात पूर्वी चितवनमा पहिलोपटक खैरहनी नगरपालिकाले स्बाब संकलन गरेको हो । हप्तामा तीन दिन स्बाब संकलन गर्ने व्यवस्था मिलाइएको छ । यो साता बुधवार र शुक्रबार संकलन गरिने भए पनि अर्को सातादेखि आइतवार, मंगलबार र बिहीबार स्बाब संकलन गरिने छ । पहिलो दिन १४ जनाको स्बाब संकलन गरी पठाइएको नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले बताए ।

खैरहनीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अक्सिजनसहितको २४ बेड तयारी अवस्थामा राखिनुका साथै एन्टिजेन परीक्षण, कोरोना पोजेटिभ बोक्नका लागि निशुल्क एम्बुलेन्स सेवा, संक्रमितलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था, माइकिङ, निषेधाज्ञाको बेला बजारमा हुन सक्ने भीडभाड नियन्त्रण, माइकिङ र स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनका लागि इलाका प्रहरी कार्यालय खैरहनीलाई एउटा गाडी सहयोग, विभिन्न संघसंस्थाको सहयोगमा पर्सा चौबिसकोठीमा स्थापित हेल्प डेक्सलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

खैरहनीमा बुधबारसम्म १०९ जनामा कोरोना भाईरस संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक नवीन अधिकारीले बताए । तीमध्ये १० जना निको भइसकेका छन् ।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया