मुलुककै ठूलो र पुरानो सरकारी वीर अस्पताल यतिबेला राजनीतिक अखडा बनिरहेको छ । प्रभावकारी स्वास्थ्य उपचार गर्ने प्रमुख केन्द्रका रुपमा परिचत यो अस्पतालमा बेलाबेलामा चिकित्सक तथा कर्मचारीको आन्दोलनले आकस्मिक सेवासमेत ठप्प हुने गरेको छ । अहिले पनि आवासीय चिकित्सकहरु अस्पताल सुधारका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएपछि सयौँ बिरामीले सास्ती पाएका छन् । आकस्मिक उपचार गरिनुपर्ने बिरामीसमेत सेवाबाट बञ्चित भइरहेका छन् । अस्पतालका कर्मचारीले नै उपचार हुँदैन भनेर बिरामी फर्काउन थालेपछि देशभरबाट आएका सयौँ बिरामीहरु अलपत्र परिरहेका छन् । सर्वसुलभ उपचार सेवा पाउने आशामा देशभरबाट आएका बिरामीहरु अस्पतालमा मौलाएको बेथितिले मारमा परेका छन् । पछिल्ला दिनहरुमा वीर अस्पतालको स्तर खस्कँदै गएकोमा कुनै शंका छैन । अस्पतालको अवस्था सुधार गर्न व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लाग्दै आएको छ । वीर अस्पताल र चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानको स्तरवृद्धिको माग राख्दै अस्पतालका २७० जना आवासीय चिकित्सकहरुले काम ठप्प बनाएका छन् ।
वीर अस्पतालमा ९६३ जना चिकित्सक, नर्स तथा कर्मचारीहरु कार्यरत छन् । १ हजार १६३ जनाको दरबन्दी रहेको अस्पतालमा रिक्त पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने मागसहित आवासीय चिकित्सकहरुले आन्दोलन गरिरहेका छन् । आवासीय चिकित्सकहरुको आन्दोलनबाट आकस्मिक सेवासमेत प्रभावित हुनु विडम्बनाको विषय हो । एकहजार भन्दा बढी संख्यामा चिकित्सक, नर्स तथा कर्मचारी रहेको अस्पतालमा स्वास्थ्य सेवामाथि लापरबाही देखिनु दुःखद् हो । वीर अस्पताल आवासीय चिकित्सकहरुका भरमा मात्र सञ्चालित प्रतिष्ठान होइन । अस्पताल प्रशासनको कमजोरीले बेलाबेलामा बिरामीहरुले कष्ट भोग्नु परिरहेको छ । वीर अस्पतालमा प्रतिष्ठानका कर्मचारी युनियनको उक्सावटका कारण आकस्मिक बिरामीलाई फर्काउनु हदैसम्मको नालायकीपन हो । आन्दोलनका क्रममा जसले जे गरे पनि हुने प्रवृत्तिका कारण दैनिक सयौँ बिरामी उपचार सेवाबाट प्रभावित भइरहेका छन् । यो अत्यन्त निन्दनीय र कानुनविपरीत कार्य हो ।
वीर अस्पतालमा व्यवस्थापनको कमजोरी भएको यो नै पहिलो होइन । कतिपय अस्पतालको समस्या व्यवस्थापनबाट पूरा नहुने अवस्था पनि छ । डीएम र एमसीएचसम्मको अध्ययनसमेत हुने सो अस्पतालमा अझै पनि सिटीस्क्यान, सीआम, एमआरआई, लिनिएर एक्स्लिेटरजस्ता अत्यावश्यक उपकरण छैन । स्वास्थ्य मन्त्रालयले पूरा गर्नु पर्ने विषयमा अस्पताल व्यवस्थापनको कमजोरी भनेर आन्दोलन गर्नुको कुनै तुक पनि छैन । आवासीय चिकित्सकले अत्यावश्यक सेवामा लापरबाही हुँदा पनि सम्बन्धित निकायले कारबाही गर्न नसक्नु अर्को लापरबाही हो । उचित मागहरुका सम्बन्धमा अस्पताल प्रशासनले सकारात्मक पहल गरी समस्या समाधान गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयको पनि आन्दोलनका कारण बिरामीलाई परेको असरबारे तत्काल ध्यानाकर्षण हुनुपर्छ । अस्पतालमा बढिरहेको राजनीति बन्द गर्दै व्यवस्थापकीय समस्या तत्काल सुधार गर्नु आवश्यक छ । आन्दोलनका नाममा स्वास्थ्यजस्तो आकस्मिक सेवा ठप्प पार्नेविरुद्ध कडा कारबाही गर्नु जरुरी देखिएको छ ।
Discussion about this post