महामारीमा भरतपुर महानगरको अलमल : आइसोलेसन निर्माण र कन्ट्याक्ट ट्रेसिङको तयारी शून्य

अन‌ि यो पनि

भरतपुर । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा भरतपुर महानगरपालिकाको तयारी शून्य देखिएको छ । अक्सिजनसहितको आइसोलेसन बेड व्यवस्थापन र संक्रमितको कन्ट्याक्ट ट्रेसिङको पूर्वतयारीका विषयमा भरतपुर महानगरपालिका अझै अलमलमा परेको छ ।

जिल्लामा निषेधाज्ञा जारी भएको सातौँ दिन भइसक्दा पनि भरतपुरमा कन्ट्याक्ट ट्रेसिङको काम अघि बढ्न सकिरहेको छैन । जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरमै छन् ।

चितवनमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ६४० पुगेको छ भने भरतपुर महानगरका मात्रै एक हजार ३६० जना रहेका छन् । भरतपुरमा एक हजार २८७ जना संक्रमित होम आइसोलेसनमा छन् ।

नयाँ भेरियन्टको कोरोना संक्रमण भएका विरामीलाई अक्सिजनसहितको आइसोलेसन बेड व्यवस्थापन गर्न सरकारले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको भए पनि भरतपुर महानगरले यसबारे कुनै निर्णय गर्नै सकेको छैन ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अक्सिजनसहितको नयाँ आइसोलेसन निर्माण गर्ने वा बागेश्वरीको आइसोलेसन सेन्टरलाई ब्युँताउने विषयमा कुनै निर्णय नभएको बताए । ‘आइसोलेसन निर्माण गर्ने तयारी छैन । होम आइसोलेसनमा बसेका संक्रमितलाई गाह्रो भयो भने वडा संयन्त्रले अस्पतालमा पठाउने भनेका छौँ’, उनले भने, ‘बैठक बस्दैछौँ । अस्पतालले धानेन भने हामीले गर्ने भनेका छौँ ।’

अस्पतालहरुमा नै बेड थप्ने कि नयाँ आइसोलेसन सेन्टर निर्माण गर्ने भन्ने विषयमा अझै छलफल जारी रहेको महानगरको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्‍याउन हाललाई दुई वटा एम्बुलेन्स तयारी राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको जानकरी दिए ।

महानगर यसरी ढुक्कसँग बसिरहँदा भरतपुर अस्पतालको कोभिड बेड भने भरिँदै गएका छन् । अस्पतालले पछिल्लोपटक थपेर कोभिड बेड १३५ वटा पुर्‍याएकोमा बिहीबार बिहान सम्म १२६  बेड संक्रमितले भरिसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न भने पनि भरतपुरमा कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छैन । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार पत्रकार सम्मेलनमा स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङ गरी नमुना संकलन गरेर कोभिड-१९को परीक्षण बढाउने व्यवस्था गर्न अनुरोध गरेका थिए ।

‘कन्ट्याक्ट ट्रेसिङ त सुरु भएको छैन । गर्नपर्ने चाँहि छ तर के–के नमिलेको जस्तो भएको छ’, महानगरको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले बताए । एउटा लक्षण देखिएको संक्रमित धेरै मान्छेहरुको सम्पर्कमा पुगेको अवस्था रहेको भन्दै उनले कन्ट्याक्ट ट्रेसिङको काम चुनौतीपूर्ण रहको बताए । उनी भन्छन्, ‘हामीले कन्ट्याक्ट ट्रेसिङको तयारी त गर्दैछौँ । प्रस्ताव पनि लगेर पेश गरेका छौँ ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया