–दिपेन्द्र अधिकारी
मंगलपुर । मंगलपुर–९ शरनपुर गाउँमा शनिबार बाढी गएको छ । बाढीमा परेर एकजनाले ज्यान गुमाएका छन् । २४ जना घाइते भएका छन् । बाढीले सातजना हराइरहेको पूर्वसूचनाका आधारमा खोजतलास गर्दा एकजना मृत फेला परेको, तीनजनालाई नदीले बगाउँदै गर्दा उद्धार गरिएको, एकजना आफँै सम्पर्कमा आएको र थप दुईको नारायणी पारिपट्टिबाट उद्धार गरिएको खोज तथा उद्धारतर्फका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।
त्यस्तै सोहीक्रममा एकजनालाई सर्पले टोकेको र उनको तत्कालै उपचार गरिएको उहाँले जानकारी दिनुभयो । बाढीमा २४ जना घाइते भएकोमा १० जनाको भरतपुर अस्पतालमा र अन्यको सोही ठाउँका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।
बाढीमा परी शरनपुरका ३९ घर प्रभावित भएका थिए । गाउँमा बाढी पसेपछि दर्जन बढी घरपरिवारका सदस्यसहित घरमा रहेका पशुपंक्षीहरु लिएर सुरक्षित स्थानतर्फ लागेका थिए । बाढीबारे समयमै जानकारी दिएकाले भौतिक र मानवीय क्षति कम भएको उद्धारकर्मीहरुले बताएका छन् । बाढीमा परेर आफन्त गुमाएकाहरु हारगुहार गर्दै थिए । प्रहरी प्रशासनका व्यक्तिहरु उनीहरुलाई सम्झाउन बुझाउन र हराइरहेकाको खोजीमा व्यस्त थिए ।
नदीबाट विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले लास निकालेको थियो । घाइतेहरुको तत्कालै रेडक्रसकर्मीको सहयोगमा प्राथमिक उपचार भएको थियो भने गम्भीर खालका बिरामीको थप उपचारका लागि भरतपुरमा रहेका अस्पतालमा रिफर गरिएको थियो । नारायणी नदीले खतराको संकेत देखाएपछि गाउँमा बाढी पस्नु पहिले गाउँमा साइरन बजाएर चेतावनीको संकेत दिइएको थियो ।
उक्त घटना र विवरण सबै अभिनय वा काल्पनिक थिए । बाढी प्रभावित यस क्षेत्रमा सम्भावित जोखिमबाट बच्नका लागि पूर्वतयारी स्वरुप शनिबार सेतीदेवी सामुदायिक वन क्षेत्रमा र आसपासका गाउँमा यस्तो अभ्यास गरिएको थियो । सोक्रममा नारायणी नदी र झनझने खोलालाई अभ्यासस्थल बनाइएको थियो ।
नारायणी नदीको प्रत्यक्ष प्रभावमा रहेका मंगलपुर, दिव्यनगर र मेघौलीका स्थानीयलाई बाढीको सम्भावित जोखिमबाट बच्न र बचाउन उक्त अभ्यास गरिएको हो । मंगलपुरका वार्ड नम्बर ४, ५ र ९, दिव्यनगरको ३, ५ र ६ तथा मेघौलीको ६, १, २ र ३ वडा बाढीको जोखिममा रहेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
मंगलपुरमा रहेको सेतीदेवी सामुदायिक वनको कार्यालयलाई मुख्य केन्द्र बनाई अभ्यास गरिएको हो । दिउँसो ११ बजेको समयमा नारायणीको सतह खतराको लेभलमा पुगेपछि सबै उद्धार गर्ने निकायहरु तयारी अवस्थामा बसेका थिए । खतराको लेभलमा नारायणी पुगेपछि विपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ नरेन्द्रराज शर्माले तुरून्तै बैठक बोलाउनुभएको थियो । बैठकमा उहाँले सबै निकायका प्रमुखलाई उद्धारमा सक्रिय सहभागी हुन निर्देशन दिनुभएको थियो ।
चितवन जिल्ला बाढी पहिरोलगायतका प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको जिल्ला भएकाले सम्भावित जोखिममा कम क्षतिका लागि यस्तो अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो । सो क्षेत्रमा एम्बुलेन्स, दमकललगायतका साधनहरुको व्यवस्थासमेत गरिएको थियो ।
सामुदायिक वनको भवनमा पत्रकार सम्मेलन गरी स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले नारायणीको बढ्दो सतह र यसले पारेको प्रभावका बारेमा जानकारी गराएका थिए । त्यसअघि प्रजिअ शर्माको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो ।
अभ्यासका बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो । उनीहरुले आ–आफ्नो निकायलाई निर्देशनबमोजिम तुरून्तै परिचालन गरेका थिए । अभ्यासका क्रममा तत्काल उद्धार र उद्धारपछिको व्यवस्थापनका लागि खोज तथा उद्धार, स्वास्थ्य, खाद्य, संरक्षण, शिक्षालगायतका दर्जन एकाइहरुको गठन गरिएको थियो । एकाइहरुको जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखहरुलाई जिम्मेवारी दिइएको थियो । आज आइतबार त्यस क्षेत्रको क्षति विवरण र बाढीपीडितहरुको गुनासो सुनिने सहायक प्रजिअ शिवराम गेलालले बताउनुभयो ।
Discussion about this post